Logo

Student Corner

विज्ञानको देन

Written by: Himani Bhattarai - 2023017, Grade IX

Posted on: 28 February, 2021

आजको युग विज्ञानको युग हो । विज्ञान सम्मत ज्ञान नै विज्ञान हो । अहिले विज्ञानले  मानवका हरेक कार्यलाई सहज र सरल बनाइदिएको छ । आजको संसारमा विज्ञानले महत्त्वपूर्ण भूमिका खेलेको छ । विज्ञानविनाको संसारको कल्पना गर्न सकिँदैन। मानिसलाई ढुङ्गे युगबाट आधुनिक युगमा ल्याउन  विज्ञानकै देन रहेको छ। 

विज्ञानका नयाँ नयाँ आविष्कारले गर्दा नै मानिस पृथिवीभन्दा बाहिर अन्तरिक्षमा पुगिसकेको छ । ग्रह, उपग्रहलगायत अनेकौँ कुराको खोजी गरेको छ । अहिले संसारमा जे जति उपलब्धी र आविष्कार  भएका  छन् ती सबै विज्ञानका देन हुन् । अहिले मानिस एउटा कोठाभित्र बसेर विश्वका गतिविधि नियाल्न सक्छ। विश्वमा कहाँ के भइरहेको छ सबै कुरा थाह पाउन सक्छ। मानिस एक ठाउँबाट अर्को ठाउँमा जान महिनौँ दिन लाग्थ्यो तर आज केही घण्टा वा मिनेटमै पुग्न थालेको छ। बस, ट्रक, जहाज जस्ता सवारी साधनका कारण मानिसको दैनिकी निकै सहज भएको छ ।  घर,अफिस,अस्पताल, कलकारखानालगायत हरेक क्षेत्रका काम विज्ञानका सहायताले  छिटो छरितो बन्दै गइरहेका छन् । 

पहिले पहिले मानिसको मृत्यु हुँदा कुन रोग लागेर भयो भन्ने कुरासमेत थाहा हुँदैनथ्यो । विज्ञानको विकास हुँदै जाँदा रोगका साथै औषधीसमेत  पत्ता लाग्यो र मानिस अकालबाट बच्न थाल्यो । विभिन्न प्राणघातक क्यान्सर, एड्स जस्ता रोगको उपचारमासमेत  विज्ञानले अनुसन्धान गरिरहेको छ । हालको विश्व महामारी कोरोना भाइरसको खोप निर्माण हुनु विज्ञानको देन हो । शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार ऊर्जालगायत हरेक क्षेत्रमा जे जति उन्नति र विकास भएको छ त्यो सबै विज्ञानको देन हो।  त्यसैले विज्ञान भनेको मानिसको जीवनको सारथी हो।