Written by: Simone Shree Pathak - 2023012, Grade IX
Posted on: 24 February, 2021
बेला बेलामा संसारमा अनौठा अनौठा कुराहरू सुनिन्छन् र देखिन्छन् पनि । कतिपय अवस्थामा पत्याउन नै नसकिने स-साना जीवाणुले प्राणीलाई दु:ख दिन्छन् भने कतिपय अवस्थामा ज्यान पनि लिन्छन् । यो २०७७ साल पनि यस्तै भयो । भयरहित अवस्थामा न त नयाँ वर्ष मनाउन पायौँ न त कुनै चाडपर्व नै। यसको मुख्य कारण कोविड १९ थियो ।
कक्षा ८ को अन्तिम परीक्षा सक्दै कक्षा ९ मा जाने तरखरमा रहेका हामी सोचे जसरी विद्यालय जान सकेनौँ । बिदामा घुम्न जाने हाम्रा योजना मनभित्रै बिलाए । न हामी हाम्रो गाउँ गयौँ न घरबाहिर खेल्न पायौँ । देशभर लकडाउन सुरु भयो । हाम्रो संसार भनेको मोबाइल र ल्यापटप हुन थाल्यो । ग्याजेटमा समय बितायौँ । सुरु सुरु त राम्रै लाग्यो अझ भनौँ रमाइलो नै लाग्यो । जब लकडाउन लम्बिदै जान थाल्यो तब आत्तिन थाल्यौँ । कोरोना सङ्क्रमितको सङ्ख्या पनि दिनप्रति दिन बृद्धि हुँदै जान थाल्यो । हाम्रो संसार भनेकै घर मात्रै भयो । घरबाहिर निस्कनु भनेको कोरोनालाई घरभित्र ल्याउनु हो भन्ने कुरा मात्र हाम्रो मनले सोच्यो । त्यसैले हामी जोखिम मोलेर घरबाहिर निस्कन चाहेनौँ।
कोरोनाको जोखिम कायमै रहे पनि बिस्तारै सरकारले लकडाउन खोल्यो । बन्द यातायात जोर बिजोर गर्दै खुल्न थाले । व्यापार व्यवसायलगायत अरू पनि खुला हुन थाले । २०७६ चैतदेखि नै बन्द विद्यालयहरू बिस्तारै खुल्न थाले । अहिले हामी पनि भौतिक रूपमै विद्यालय आउन थालेका छौँ। कोरोनाको भ्याक्सिन बनिसकेको छ। डर हराउँदै जान थालेको छ। सबै सामान्य कुरा बन्दै गइरहेका छन् ।