Logo

Student Corner

सरस्वती पूजा

Written by: Himani Bhattarai - 20230, Grade IX

Posted on: 07 February, 2021

सरस्वती विद्याकी देवी हुन् । श्रीपञ्चमीको दिन विद्याकी देवी सरस्वतीको भव्य पूजा आराधना गरिन्छ। श्रीपञ्चमीलाई वसन्त पञ्चमी पनि भनिन्छ। यो दिन सम्पूर्ण विद्या आर्जन गर्ने र अक्षरारम्भ गर्नेका लागि विशेष दिन मानिन्छ। 

सरस्वती पूजाको दिन थुप्रै सरस्वती मन्दिरहरूमा बिहानैदेखि विद्यार्थीहरूको घुइँचो हुन्छ। पढाइ लेखाइमा  मन  लागिरहोस् भन्ने कामना व्यक्त गर्दै यस दिन विद्यार्थीहरू सरस्वतीको पूजाआराधना गर्छन् ।सरस्वती पूजाको दिन प्राय: विद्यालयहरूमा पूजा समारोह गरिन्छ  । विद्यार्थीहरूले आफूले अध्ययन गरेको विद्यालयमा गई सरस्वतीकाे मूर्ति वा तस्बिरमा भक्तिपूर्वक पूजा आराधना गर्छन् भने ।कतिपय विद्यालयहरूमा माघ महिनामा जाडो बिदा दिइने भएकाले त्यस्ता विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरू आफ्ना परिवारसँग सरस्वती मन्दिरमा गई पूजा आराधना  पनि गर्छन्। विद्याकी देवी सरस्वतीलाई विभिन्न फलफूल धूपदीप नैवेद्य मिष्ठान्न आदिले सरस्वतीको पूजा गर्छन् र सरस्वतीलाई प्रसन्न पार्छन् ।

 सरस्वती पूजाको नेपाली समाजमा धेरै महत्त्व छ । नेपालमा सरस्वती पूजा गर्नाले मानव जीवन ज्योतिर्मय बन्दछ भन्ने मान्यता छ । यही विश्वासका कारण विद्यालय वा सरस्वतीकाे मन्दिरमा गई पूजा समारोह गरी मनाइन्छ । अज्ञानरूपी अन्धकारलाई हटाएर ज्ञानको ज्योति छरिदिने वाग्देवी सरस्वती सबै विद्यार्थीकी प्रिय मानिन्छिन् । सरस्वतीको विशेष उपासना गर्नाले विशेष प्रकारको ज्ञान मिल्दछ र पढाइमा रुचि जाग्दछ भन्ने मान्यता पनि रहेको छ।भर्खर विद्यालय जाने उमेर भएका स-साना बालबालिकाहरूका लागि अक्षरारम्भ पनि यसै दिनदेखि गराइने हुनाले यसको महत्त्व अझ बढ्दै गएको छ।