Logo

Student Corner

लकडाउनपछाडिको विद्यालयको अनुभव

Written by: Niharika Chapagain - 2024008, Grade VIII

Posted on: 01 February, 2021

कोरोनाको आतङ्क विश्वभरि फैलिएपछि, मानिसहरू घरभित्रै  बस्न बाध्य थिए। लगभग ४,५ महिनाभरि कलकारखाना, विद्यालय, कार्यालय आदि सबै बन्द थिए  । त्यसकारण देशको अर्थतन्त्र र विद्यार्थीहरूको पढाइमा असर परिरहेको थियो। त्यसैले होला सरकारले बिस्तारै लकडाउन खोल्ने निर्णय लियो। लगभग एक दुई महिना अगाडिदेखि नै बैङ्क, कम्पनी तथा सबै कार्यालयहरूखुलेका थिए तर विद्यालय भने खुलेका थिएनन्। 

विद्यालय बन्द भए पनि हामी विद्यार्थीहरू पढाइबाट कहिले पनि बन्चित थिएनौँ । हामीले भौतिक रुपमा पढ्न नपाए पनि अनलाइन कक्षामा नै उपस्थित भएर कक्षा ८ का सबै विषयहरूको आधा पाठ्यक्रम सकिसकेका थियौँ तर अनलाइनमा बसेर पढ्दा र विद्यालय नै धाएर पढ्नुमा धेरै फरक हुँदो रहेछ। त्यसैले हाम्रो विद्यालयले विद्यालय खोल्नेबाहेक अरू कुनै उपाय देखेन र विद्यार्थीहरूलाई भौतिक रुपमा नै पढाउने निर्णय लियो । माघ २ गतेदेखि विद्यालय खुल्ने भनेर हामी सबै विद्यार्थीहरूले इ-मेल पायौँ। त्यो खबर सुन्दा म आश्चर्य चकित थिइनँ। हामीले जहिले अनलाइन कक्षा गरेर सकिदैन भन्ने कुरा मलाई थाहा थियो त्यसैले विद्यालय खुल्छ भन्ने कुरा सुरुदेखि नै स्पष्ट थियो । म महिनौँ महिनापछि विद्यालय जान एकदमै उत्साहित थिएँ तर पनि हात, खुट्टा ठिहिर्‍याउने चिसोमा, बिहानबिहानै गाडी चढेर विद्यालय जानु पर्ने कुरा सोच्दै मलाई अल्छी लागेर आउँथ्यो। विद्यालय खुल्ने कुरा सुनेपछि मेरो मनमा प्रश्नहरू, जिज्ञासाहरूले आक्रमण गर्न थाले । मेरो मनमा विद्यालय लागेको ठिक कि बेठिक भन्ने कुरामा युद्ध हुन थाल्यो। विद्यालय गएर साथीहरू, गुरुहरू सबैलाई भेट्न पाइन्छ भनेर एक तर्फबाट खुसी थिएँ भने अर्को तर्फबाट अनलाइन कक्षा नै रमाइलो हो भन्दै, विद्यालय किन लागेको होला भनेर सोच्थेँ। भन्दाभन्दै विद्यालयको सुरु दिन आयो। बिहान उठ्ने बानी नै नभएर होला, ढिलो उठेछु। मलाई सुरु दिन नै ढिलो हुन मन थिएन त्यसैले हतार हतार चिसोमा काम्दै तयार भएर, गाडी आउने ठाउँसम्म कुद्दै पुगेँ।  विद्यालयको सुरु दिन मैले सोचेजस्तो नराम्रो भएन। महिनौँ महिनापछि, एकै  चोटी घरबाट बाहिर निस्किँदाको अनुभव नै अर्कै हुँदो रहेछ। अरूलाई मास्क लगाउँदा अप्ठ्यारो भयो होला तर महिनौँ पछि झोलामा किताब बोकेर, परिचय पत्र  लगाउँदा मलाई छुट्टै आनन्द आएको थियो। 

विद्यालय पुगेपछि हाम्रो कक्षाकोठा पोहोर सालकै कक्षा कोठा हो भन्ने कुरा थाहा पाएपछि पोहोर सालका सम्झनाहरू मेरो मन मस्तिष्कमा आउन थाले। कक्षा कोठामा छिरेर आफ्ना साथीहरूलाई भेट्दा अनौठो लाग्यो। घरमा धेरै बसेर होला, विद्यालय आएको कुरा पचाउन र विद्यालयको वातावरणमा घुलमेल हुन नै मलाई समय लाग्यो । अनलाइन कक्षामा दिनमा तिन वटा विषय पढाइ हुन्थ्यो तर भौतिक रूपमा विद्यालयमा आएर, दिनमा आठ वटा विषय पढ्दा धेरै थाकिँदो रहेछ। लकडाउनको कारण हामी सबैको दैनिक दिनचर्या उथल पुथल भएको थियो र विद्यालय लाग्न थालेपछि, आफ्नो दैनिक दिनचर्या नियमित रुपमा अनुसरण गर्न समय लाग्यो। म बिहान छिटो उठ्नुपरेको कारणले मेरो निन्द्रा पुगिरहेको थिएन र म घर फर्कंदा गाडीमै निदाउँथे। गृहकार्यहरूको मात्रा बढेर पनि होला, मैले समय व्यवस्थापन गर्न सकिरहेकी थिइन। रातभरि जागेर भए पनि म गृहकार्य सक्थेँ। त्यसै गरी २ हप्ता बित्यो र अहिले सबै ठीक छ। एक्कासी विद्यालय जाँदा सुरुमा कठिनाइहरू धेरै आए तर समय बित्दै गएपछि बानी बस्दै गयो र अहिले विद्यालय जाँदा केही नयाँ नौलो हुँदैन। लकडाउनपछि विद्यालय सुरु चोटी आउँदाको मेरो अनुभव एकदमै अनौठो थियो र समय बित्दै गए पछि परिस्तिथि राम्रो हुँदै गयो।