Logo

Student Corner

श्रावणी मेला

Written by: Pranjal Khatiwada - 2022013, Grade X

Posted on: 21 January, 2021

प्रत्येक वर्ष श्रावण महिनाभरि मनाइने मेला भएकोले यसको नाम श्रावणी मेला भएको हो। विशेषगरी श्रावणका सबै सोमबार शिव मन्दिरहरूमा मेला लाग्दछ। यस मेलालाई ‘बोलबम’ पनि भनिन्छ।सोमबार शिवको प्रिय बार हो। त्यसमा पनि श्रावणका सोमबारको विशेष महिमा रहेको छ । शिवलाई जलधारा प्रिय लाग्दछ।  त्यसैले शिव मन्दिरहरूमा शिवमूर्ति वा शिवलिङ्ग माथिबाट जलधारा गराई स्नान गराइन्छ । श्रावण महिनामा सोमबारको जलधारा शिवलाई प्रिय लाग्ने हुँदा शिव भक्तहरुले स्नान गराउँछन् । काठमाडाैँ उपत्यकामा गोदावरीको कुण्डबाट जल बोकेर जुलुस झैँ निकाली बाेलबम शब्द घन्काउँदै ल्याएर काठमाडौँ उपत्यकाको दक्षिणतर्फको पहाडमा अवस्थित सन्तानेश्वर महादेवलाई चढाएर दर्शन गरेमा सन्तान नभएकालाई सन्तान हुने र गर्भवतीले असल सन्तान जन्माउने विश्वास गरिँदै आएको पाइन्छ । 

सन्तानेश्वर मन्दिरलाई सतीदेवीको उपल्लो ओठ पतन भएको स्थान पनि भनिन्छ । त्यस हिसाबले शिवका एक सय आठ पीठ मध्येको याे पनि एउटा शक्तिपीठ हो । ललितपुरको हाडे गाउँबाट पनि त्यहाँ पुग्न सकिन्छ । यस मन्दिरबाट गोदावरीको दुरी झण्डै पाँच किलोमिटर छ । गोदावरी कुण्डबाट पहेँलाे वस्त्र धारण गरी काँधमा जलसहितको  घडा बोकी खाली खुट्टा बोलबम भन्दै लगेर  सन्तानेश्वर महादेवलाई चढाइन्छ । 

यो बोलबम मेला अर्थात् श्रावणी मेला काठमाडाैँ उपत्यकाकै एक महत्वपूर्ण मेला हो । यस्तै बोलबम मेला भारतकाे बाबाधाममा पनि भव्य रूपमा लाग्ने गर्दछ । केही वर्षदेखि यसले बिकराल रूप लिँदै गएको छ। बोलबम श्रावणी मेला  सन्तानेश्वर माध्यममा सिमित छैन । सुन्दरीजलबाट बोलबम बन्दै पीत वस्त्र धारण गरी जल बोकेर ल्याई पशुपतिमासमेत   चढाउन थालेका छन् ।