Logo

Student Corner

घुम्ने मेच माथि अन्धो मान्छे -पुस्तक समीक्षा

Written by: Muskan Singh - 2023005, Grade IX

Posted on: 20 January, 2021

घुम्ने मेचेमाथि अन्धो मान्छे भूपी शेरचनको वि सं २०२५ सालमा साझा प्रकाशनद्वारा प्रकाशित  प्रसिद्ध कविता सङ्ग्रह हो । गद्य साहित्यका प्रखर कवि भूपी शेरचनको याे कविता सङ्ग्रह भित्रका सबै कविताहरू उत्कृष्ट छन् । भूपीका यस कविता सङ्ग्रह भित्रका कविताहरूमा राष्ट्रियता मानवतावाद,जीवनका अनेक चोटहरू युद्धबाट पिल्सिएका आमाहरूको,मनको व्यथा, अधुनिकतासँगै हामीले भुल्दै गएका हाम्रा ऐतिहासिक स्तम्भ, सहिदहरूको कथासँगै हाम्रो परनिर्भरताको कथालाई सिमित शब्दमा कविताको माध्यमबाट भूपीले देखाउन खोजेका छन् ।

भूपीका कवितामा सरकारप्रति, समाजप्रति, बेरोजगारीप्रति आक्रोश र समग्रमा एक्लोपन र निराशाको आभास छ | यस सङ्ग्रहमा सङ्गृहित हरेक कविता काव्यात्मक छन्। मार्मिक छन्, विद्रोहात्मक छन् र हरेक कविता आफैमा महाकाव्यभन्दा कम छैनन् | यस कविता सङ्ग्रहमा सङ्गृहित "सधैँ-सधैँ मेरो सपनामा", "हामी" ,"मेरो देश " ,"गलत लाग्छ मलाई मेरो देशको इतिहा", "यो हल्लै हल्लाको देश",जस्ता कवितामार्फत् कविले देश र यहाँका विभिन्न घटनाक्रमप्रतिको आफ्नो धारणा व्यक्त गरेका छन् जुन आजको अवस्थामा पनि निकै नै सान्दर्भिक छ ।

कवि भूपी शेरचनका  कविताहरू  पढेपछि रगत नतात्ने नेपाली कमै मात्रामा होलान् ।  ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ का लागि २०२५ सालमा साझा पुरस्कार प्राप्त गरेका भूपी नेपाली साहित्य क्षेत्रमा फरक पहिचान बनाएका कवि हुन् । भूपीको ‘घुम्ने मेचमाथि अन्धो मान्छेलाई नेपाली साहित्यका सर्वाधिक चर्चित महाकवि देवकोटाको मुनामदन र राष्ट्रकवि घिमिरेको गौरीसँग पनि दाँज्ने गरिन्छ । 

‘घुम्ने मेचमाथि अन्धो मान्छे’का अलावा भूपीका ‘परिवर्तन’, ‘नयाँ झ्याउरे’, ‘निर्झर’ आदि रचनाहरू प्रकाशित छन् । जति जति पढ्दै गयो उति उति मन थर्काउने भूपीका शब्दहरूमा जादु छन्। गम्भीर विषय भए पनि कलात्मक बिम्बहरूले अर्थलाई सरल र खुकुलो बनाएका छन् । यस सङ्ग्रहको मलाई सबैभन्दा मन परेको कविता -

  '...अनि असङ्ख्य मौरीको भुनभुन र डदाइदेखि आत्तिएर

म उठ्छु

न्यायको दिनमा प्रेतात्माहरू  उठेझैँ

नपाएर विस्मृतिको ‘लेथे’ नदी,

रक्सीको गिलासमा हामफाल्छु

बिर्सन्छु आफ्नो पूर्वकथालाई

पूर्वजुनी र मृत्युलाई

यसरी नै सधैँ

चियाको किटलिबाट एउटा सूर्य उदाउँछ

सधै रक्सीको रित्तो गिलासमा एउटा सूर्य अस्ताउँछ

घुमिरहेकै छ म बसेको पृथ्वी —पूर्ववत्

फगत म अपरिचित छु

वरिपरिका परिवर्तनहरूदेखि,

दृश्यहरू देखि,

रमाइलोदेखि,

प्रदर्शनीको घुम्ने मेचमाथि

करले बसेको अन्धो जस्तै।'

 यस कविता सङ्ग्रह भित्रका सबै कविताहरू गहन र ओजपूर्ण छन्।  त्यसैले म कविता सङ्ग्रह सिफारिस गर्न चाहन्छु।