Logo

Student Corner

मेराे सपना

Written by: Dhiraj Chapagain - 2022007, Grade X

Posted on: 14 January, 2021

भनिन्छ;जीवन सङ्घर्ष र चाहनाले भरिएको हुन्छ । भर्खर कक्षा १० मा पढ्दै गरेको म जीवनमा धेरै कुरा हासिल गर्ने चाहना अनि आकाङ्क्षा बोकेर बसेको छु । व्यक्ति पिच्छे फरक फरक र असिमित चाहना हुन्छन्। मेरो पनि त्यस्तै एउटा चाहना छ । 

मलाई नेपाली चलचित्र  क्षेत्रमा आफ्नाे बेग्लै छाप बनाउने ठुलो इच्छा छ । मलाई नेपाली चलचित्रको  एउटा कुशल निर्देशक बन्नु छ। अब एस. इ. इ. नजिकिदै गर्दा म एस. इ. इ. पछि के पढ्ने, कता पढ्ने भन्ने कुरामा अलिक सोच्न थालेको छु। नेपालमा चलचित्र  पढाउने धेरै पाठशालाहरू  छैनन्। मैले अहिलेसम्म थाहा पाएअनुसार एकदुई वटा मात्र कलेज छन्। तिनमा पनि के कस्ता छन् भन्नेबारे खासै जानकारी छैन। अझ भनौँ भने मलाई खासै नेपालमा पढ्ने इच्छा जागेको पनि छैन। मेरो सम्पर्कमा भएका र मैले चिनेका जति सबै अग्रज विदेश पलायन भएको देख्दा मलाई नेपालमै केही गरेर देखाउँछु,भन्ने लागेको थियो। तर समय र परिस्थिति मभन्दा फरक भए जस्तो लाग्न थालेको छ। नेपालमा धेरै कलेज अनि विश्वविद्यालय नदेख्दा आफू पनि त्यही हुलमा पर्ने हुँ  कि भन्ने डर पनि लाग्न थालेको छ। मैले देखेका र हेरेका नेपाली चलचित्रहरू प्राय: सबै उस्तै किसिमका नै छन्। अधिकांश पुरानै  कलाकार,उस्तै कथावस्तु र परिवेश पनि। यसको अर्थ मैले  ती  अनुभवी कलाकारहरूलाई नराम्रो भन्न खोजेको पनि होइन तर नयाँ कलाकारहरू नेपाली चलचित्र क्षेत्रमा देखा पर्दा कता कता नौलोपन देखिन थालेको भने पाइन्छ। अझै पनि पूर्णरूपमा फरक स्वादका नेपाली चलचित्र आएको जस्तो भने मलाई लाग्दैन । 

नेपालमा चलचित्र  तथा अभिनय सम्बन्धी राम्रा कलेज नभएकाले मेरो विदेश गएर पढ्ने चाहना दिनप्रतिदिन बढ्दै जान थालेको छ। अध्ययन र अभिनयका लागि विदेश गएर पढे पनि नेपाल फर्किएर नेपाली चलचित्र बनाउने मैले सपना देखेको छु । नेपाली चलचित्र क्षेत्रलाई नयाँ उचाइ र नयाँ दिशामा लैजाने मेरो सपनाले पूर्णता पाउला कि नपाउला त्यो  भविष्यको गर्भमा नै छ।