Logo

Student Corner

साथीलाई चिठी

Written by: Niharika Chapagain - 2024008, Grade VIII

Posted on: 23 December, 2020

सानागाउँ, ललितपुर 

मिति: २०७७/०८/१२

प्रिय साथी नुमा, 

सुमधुर सम्झना, 

 

कुशल रही कुशलताको कामना गर्दछु ।  तिमीले आफ्ना आमा बुबासँग पोखरा गएको कुरा लेखेको चिठी मैले हिजो मात्र प्राप्त गरे । तिमीले मलाई त्यस चिठीमा म आफ्नो परिवारसँग जाडो बिदामा गएको रमणीय ठाउँको बारे लेख्नु भनेकी थियौ त्यसकारण मैले यो चिठी लेखेकी हुँ ।

२०७६ सालको जाडो बिदामा म आफ्नो परिवारसँग नगरकोट गएकी थिएँ । बिहान ९ बजेतिर हामी तातो र  मोट्टो लुगा लगाएर घर बाहिर निस्कियौँ । मैले गाडीमा खान चक्लेट र पाचक किनेँ। बाबाले गाडी घरबाट निकाल्नुभयो ।  म, आमा, मेरो दादा र मेरी सानी बहिनी, हामी सबै गाडीमा चढ्यौं। मेरी फुपू र फुपाजु भने बाइकमा आउने भन्नुभयो। हामी गाडीमा चढेर गीत लगाएर गुड्न थाल्यौँ । मलाई बाबाले लगाएको गीत मन परेन त्यसकारण मैले मेरो फोनमा भएको गीतलाई बजाएर सुनेँ । बाटोमा गीत सुन्दै, गफ गर्दै हामी रमाउँदै हिड्न थाल्यौँ । एकछिन पछि हामीले राम्रो राम्रो दृश्य देख्न थाल्यौँ । म झ्याल नजिक बसेकोले मैले काठमाडौँलाई नियालेर हेर्न पाएँ । मैले झ्याल खोलेकी  थिएँ त्यसैले होला त्यो चिसो हावाले मेरो जिउलाई जाडोले शिरिङ्ग बनायो। हामी नगरकोटको ‘भिउ टावर’ जाने सिंढीमा आइपुग्यौँ । आइपुग्दा ११ बजिसकेको थियो किनभने बाटोमा हामी जाममा अड्किएका थियौँ । हामीलाई चिसो मौसममा पिरो खान मन लाग्यो त्यसैले हामीले पिरो चटपटे खाने विचार गर्यौँ। हामीले चटपटे खायौँ र चिसोमा स्वाँ स्वाँ गर्दै सिंढी चढ्न थाल्यौँ । भिउ टावर धेरै टाढा रहेनछ त्यसैले हामी माथि पुग्यौँ । जाडो भए तापनि घाम मज्जाले लागेको थियो त्यसैले हिमाल स्पष्ट देखिएको थियो। भिउ टावर अलिक माथि नै रहेछ त्यसैले मलाई चढ्ने आँट आएन । हामीले फोटाहरू खिच्यौं र एकछिन दृश्य हेरेर बस्यौँ । त्यसपछि हामी त्यहाँबाट निस्कियौं र बाटोमा हामीले एक खालि ठाउँ देख्यौं। त्यहाँबाट दृश्य झन राम्रो देखिने रहेछ र हामीसँग खानेकुरा पनि थियो । हामीले त्यहाँ बसेर दृश्य हेर्दै खानेकुरा खाने विचार गर्‍याैँ र खाएर सफा गरेर घर फर्कियौँ।

तिमीलाई मेरो अनुभव सुनाउन पाउँदा मलाई निकै रमाइलो लाग्यो । तिमी नगरकोट गएकी छैनौ भने म तिमीलाई एकचोटी आफ्नो परिवारसँग गएर आऊ भन्छु र गैसकेकी छौ भने, अर्को चिठीमा मलाई तिम्रो अनुभव सुनाऊ ल । अब म चिठी लम्ब्याउदिन, अर्को चिठीको आशा गर्छु। 

तिम्री प्यारी साथी 

निहारीका