Logo

Student Corner

छुवाछुत उन्मूलनमा विद्यार्थीको भूमिका

Written by: Muskan Singh - 2023005, Grade IX

Posted on: 15 December, 2020

छुवाछुत भनेको जात, धर्म, पेसा, क्षेत्र, लिङ्ग, अपाङ्गता, शारीरिक प्रणाली आदिका आधारमा गरिने भेदभाव हो । नेपालको सहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा छुवाछुत प्रथा अझै व्यापक रूपमा चलिरहेको भेटिन्छ । 
कतिपय स्थानहरूमा दलित समुदाय माथि छोइछिटो गर्ने, मन्दिर प्रवेशमा रोक लगाउने जस्ता व्यवहार भइरहेका छन् । 
यस्ता व्यवहार हाम्रा समाजका समस्या हुन् । परम्परागत सोचमा आधारित यस्ता समस्या समाधान गर्न शिक्षा र सचेतना बढाउनु जरुरी छ।

आजको एक्काइसौँ शताब्दीमा समाजमा छुवाछुत जस्तो अति नै घृणित परम्पराले गाँजिरहेको छ भन्ने सुन्दा मात्रै पनि हामीलाई लज्जाबोध हुन्छ । 
छुवाछुत सामाजिक कलङ्ककाे विषय हो । यसले समाजलाई ठुलो नोक्सान पु-याइरहेको छ । समाजका सभ्य भनाउँदाहरूले सुनको काम गर्ने, सिलाइको काम गर्ने, फलामको काम गर्ने, छालाको काम गर्ने जस्ता मानिसहरूलाई अछुत मानी व्यवहार गर्ने र अपहेलित गर्ने गरेको छ । 
यस्तो चलन परापूर्व कालदेखि आजसम्म नेपाली समाजमा देखिँदै आएको छ । कानुनले यस्तो घृणित काम गर्ने गराउनेहरूप्रति कडा सजायको व्यवस्था गरेको भए पनि ती नियमहरू  प्रभावकारी रूपमा लागु गर्न सकेको देखिँदैन । 
त्यसैले समाजमा विद्यमान छुवाछुत प्रथाको उन्मूलनका लागि हामी विद्यार्थीहरू  सक्रिय हुन जरुरी छ । 

विद्यार्थी भनेका परिवार र समाजमा सचेतना जगाउन सक्ने प्रमुख माध्यम हुन् । 
विद्यालयमा पढेका र बुझेका कुराहरूलाई उनीहरूले आफ्ना घर र टोलमा गई सजिलै सम्प्रेषित गर्न सक्छन् । उनीहरूले छुवाछुत साह्रै नराम्रो प्रथा हो, कुनै शक्तिशाली शासकले आफ्नो स्वार्थ पुरा गर्न यस्ता प्रथा समय समयमा चलाउँदै आएका हुन् । 
यसले परिवार, समाज र राष्ट्रलाई फाइदा पुग्नुको सट्टा नोक्सान मात्र भएका छन् । यस्ता कुरालाई विद्यार्थीले समाजमा फैलाउन सक्छन् । यस कार्यमा विद्यार्थीको ठुलो भूमिका रहन्छ । 
त्यसैले छुवाछुत उन्मूलनमा विद्यार्थीको महत्त्वपूर्ण भूमिका हुन्छ ।