Logo

Student Corner

मेराे देश मेराे इज्जत

Written by: Kristina Rai - 2026009, Grade VI

Posted on: 02 December, 2020

एसियामा पर्ने सानो देश नेपाल जुन सानो भए पनि असाध्यै सुन्दर छ ।  यहाँ विश्वकै सबैभन्दा ठूलो हिमाल सगरमाथा छ । विश्वमा जहाँ गए पनि वीर गोर्खालीको देश र सगरमाथाको देश भनिने मेरो देश हामी सबैको गौरव हाे । सगरमाथा हाम्रो शिर हो । यसको उचाई ८,८४८ मिटर अग्लो छ । एसियाका ताराका रुपमा चिनिने सीता, भृकुटी र गौतम बुद्धकाे नामले उचाई लिएको मेरो देशले एक गौरवशाली इतिहास बोकेको छ । चारैतिर हरियाली डाँडाकाँडा र चाँदी झैँ टल्किने हिमालहरूले ढाकेको मेरो देश एक सुन्दर परीजस्तो देखिन्छ ।  हरिया डाँडा काँडाको कुना कुनाबाट लडिबुडी खेल्दै बग्ने नदी खोलानालाहरूको दृश्य अझै सुन्दर देखिन्छ । नेपालमा धेरै सुन्दर ठाउहरू छन् ।  नेपालको राजधानी भनेर चिनिने काठमाडौँ मन्दिरै मन्दिरले घेरिएको छ  । जसले गर्दा काठमाडौँ सहरलाई मन्दिरै मन्दिरको सहर भनेर चिनिन्छ । पवित्र पशुपतिनाथको मन्दिर पनि  काठमाडौँ जिल्लामा नै रहेको छ। 

पशुपतिनाथमा देशविदेशबाट धेरै भक्तजनहरू पूजा गर्नको लागि आउने गर्दछन् ।    काठमाडौँमा देशका  अन्य जिल्लाहरूमा भन्दा धेरै जनसंख्या रहेको छ । मेरो देश नेपालमा धेरैभन्दा धेरै चाडपर्वहरू पनि मनाइन्छन् ।  जाति धर्मअनुसार यहाँ फरकफरक चाडपर्वहरू मनाउने गरिन्छ । दसैँ, तिहार, माघे सक्रान्ति, छठ, तीज,  लोसार  आदि यहाँका मुख्य पर्वहरू हुन् । नेपालमा १२३ वटा जातहरू छन् भने १२५ भन्दा बढी भाषा बोल्ने मानिसहरू रहेका छन् । सबैको जिब्रोमा झुण्डिने सबैको विचारआदानप्रदान गर्ने एक मुख्य भाषा भने नेपाली नै हाे । नेपाली भाषा हामी नेपालीहरूको चिनारी पनि हो । त्यसैले म नेपाली हुनुमा गर्व गर्छु, इज्जत गर्छु र मेरो देश नेपालको संरक्षणको लागि हर्दम तत्पर रहन्छु।