Logo

Student Corner

दसैँ

Written by: Aakanchhya Khadka - 2026001, Grade VI

Posted on: 01 December, 2020

दसैँ हिन्दु नेपालीहरूको एक महान पर्व हो ।  यो चाडलाई बडादसैँ,  दसैँ, विजयादशमी  पनि भन्ने गरिन्छ ।  यो पर्व १५ दिनसम्म माता दुर्गा देवीको पूजा आराधना गरेर मनाउने गरिन्छ । यो पर्व धेरैजसाे असोज महिनामा पर्दछ भने कहिलेकाहीँ कात्तिक महिनामा पनि पर्दछ ।  यो पटक भने कात्तिक महिनाको  १० गते विजयादशमी परेको थियो । 

हिन्दु मान्यताका अनुसार एक महिषासुर नामको राक्षसले सबै धर्ती पाताल र स्वर्गमा राज गरेको थियो । महिषासुर महादेवको वरदानका कारण एक महिलाबाहेक कसैले मार्न सक्दैन थियो ।  लामो समयको युद्ध गरिसकेपछि दुर्गा देवीले महिषासुरलार्इ दसौँ दिनमा मार्नुभयो । महिषासुरअर्थात् शत्रुलाई दुर्गा देवीले मारेको खुसीयालीमा विशेष गरी दसाैँ दिनमा हर्षोल्लासका साथ विजयादशमी मनाउने चलन चल्यो । विजयादशमीलाई दसैँंको टिकाको दिन पनि भनेर चिनिन्छ। विशेष गरी दुर्गा देवीले विजय गरेको खुसियालीमा दसैँंको टीकाको दिन आफूभन्दा ठूलाको हातबाट टिका जमरा लगाएर रमाइलो गरेर दसैँ मनाउने गरिन्छ । 

 दसैँंको पहिलो दिनलाई घटस्थापना भनिन्छ ।  त्यो दिन घर घरमा दुर्गा देवीको स्थापना गरेर पूजा सुरुवात गरिन्छ भने गहुँ धान, जाै, मकैजस्ता बिउहरूकाे  प्रयोग गरेर जमरा छरिन्छ र त्यो जमरा विजया दशमीको दिन दुर्गा देवीलाई पूजा गरेर र  चढाएर लगाउने गरिन्छ । दोस्रो तेस्रो चौथो पाँचौँ छैठौँ दिनसम्म नियमित रुपमा दुर्गा देवीको पूजा गरिन्छ ।  दसैँको सातौँ दिनलाई फूलपाती भनिन्छ ।  फूलपातीका दिन दसैँंका लागि बली दिनको लागि ल्याइएको बोको पूजा गरिन्छ भने घरघरमा फूलपाती भित्र्याउने काम पनि गरिन्छ ।  दसैँंको आठौं दिनलाई महाअष्टमी भन्ने गरिन्छ ।  त्यस दिन दुर्गा देवीको मन्दिरमा राँगा, बोका, हाँस, परेवाजस्ता पशुहरूको बली दिने काम गरिन्छ ।  अष्टमीको राति कालरात्रिको समेत पूजा गर्ने चलन छ । दसैँंको नवाैँ दिनलाई महानवमी भनिन्छ ।  त्यस दिन पनि दुर्गादेवीको भव्य पूजा गरिन्छ भने साे दिन काठमाडौँको मैतीदेवीमा समेत भक्तजनहरूको ठुलो भीड लाग्ने गर्दछ ।  दसैँँको दसौँ दिनलाई विजयादशमी अर्थात दसैँं भनिन्छ ।  त्यसदिन भव्य रूपमा दुर्गा देवीको पूजा गरेर  आफूभन्दा ठूलाको हातबाट टीका जमरा लगाएर आशीर्वाद ग्रहण गरिन्छ ।  त्यसपछाडि मिठा मिठा परिकारहरू खाने, पिङ खेल्ने काम पनि गरिन्छ । टाढा टाढा  भएका आफन्तजनहरूसँग भेट भएर टीका थाप्ने चलन रहेको छ । दसैँंमा चिउरा, मासु खाने, पिङ खेल्ने, आफन्तहरूसँग भेटघाट भएर रमाइलो गर्ने गरिन्छ र टाढा भएका आफन्तहरू छोराछोरीहरू घरमा आउँदा निकै रमाइलोसमेत हुन्छ ।  दसैँमा केटाकेटीहरू चङ्गा उडाउने काम पनि गर्दछन् ।  दसैँंको अन्तिम दिनलाई कोजाग्रत पूर्णिमा भनिन्छ ।  कोजाग्रत पूर्णिमाको दिन महालक्ष्मीको पूजा गरिन्छ र रातभर जाग्रामसमेत बसिन्छ ।  कोजाग्रत पूर्णिमापश्चात दसैँंको अन्त्य गरिन्छ। 

दुर्गा भवानीको विजय उत्सवको रूपमा मनाउने दसैँले टाढा भएका आफन्तजनहरूलाई भेट गराउने कामसमेत गरेको छ।  विशेष गरी दसैँ देखावटी रूपमा मात्र मनाउने  हाेइन, घाँटी हेरेर हाड निल्नु भने झैँ आफ्नो अवस्था हेरेर मनाउन सकेमा दसैँ कहिल्यै पनि दसा बन्दैन ।  जुवातास खेलेर विकृतिको रूपमा दसैँंलाई लिनुभन्दा पनि आपसी भेटघाट र सद्‍भावको रूपमा मनाउन सकेमा दसैँले अझै राम्रो प्रभाव बसाल्न सक्छ । त्यसैले कसैले बढी खर्च गरेर विकृतिको रुपमा मनाउनुभन्दा पनि आपसी सद्‍भाव र मेलमिलापले संस्कृतिको रूपमा दसैँ मनाउने परम्परा बसाल्नु आवश्यक देखिन्छ ।