Logo

Student Corner

गढीमाई मेला

Written by: Pranjal Khatiwada - 2022013, Grade X

Posted on: 22 November, 2020

बारा जिल्लाको बरियारपुरमा रहेको गढीमाई मन्दिर नेपालीहरूको धार्मिक आस्थाको केन्द्र हो । यहाँ विक्रम सम्बतको १ ,५ आउने प्रत्येक पाँचपाँच वर्षमा ठुलाे मेला  लाग्छ।  यो मेलामा विश्वमै सबैभन्दा बढी बलि दिइन्छ ।  मानिसहरूको अत्यधिक सहभागिताले गर्दा यसलाई नेपाली कुम्भमेलाको नाम पनि दिइएकाे छ ।  गढीमाईमा हजारौँ पशुपन्छीको बलि चढाए पनि त्यहाँ झिंँगा भने लाग्दैन । भक्तजनहरू  यसलाई गढीमाईको महिमाको रूपमा लिन्छन्।  

सर्वप्रथम गढीमाईको नजिकै अर्थात् करिब ७५ मीटर पूर्वमा रहेको ब्रह्मस्थानमा सप्तमीको दिन पुजारीले लिपपोत गरेर गढीमाईलाई सजाउँछन् र माइको मूर्तिमा पाँच दिनसम्म पूजाआजा एकैपटक गर्दछन् ।  देवीको प्रतापले त्यहाँको बत्ती बल्दछ भन्ने विश्वास छ । सेतो मुसो पनि आफैँ आइपुग्छ भन्ने विश्वास गरिए पनि हाल सेतो मुसो जङ्गलबाट समातेर लिएर आउने गरिएकाे छ ।  पूजा  सकेर पाठो , सुँगुरको बलि दिएपछि मात्रै श्रद्धालुहरूलाई बलि चढाउन मिल्ने विश्वास छ । राँगाको बलि चाहिँ सप्तमीको दिन मात्र दिइन्छ भने बोको र अन्य पशुपन्छीको बलि चाहिँ त्रयाेदशीसम्म दिइन्छ।  
गढीमाई र येस मेलाबारे विभिन्न किंवदन्तीहरू  छन् ।  मकवानपुरका सेन राजाहरूको अन्तिम समयमा ( सत्राैँ सताब्दीमा ) तत्कालीन बाराको फत्तेपुर सेमरी गाउँको एक आदिबासी भगवान् चौधरी सेन राजाको राजस्व प्रशासनको चपेटमा परी मकवानपुर गढीमा थुनामा कैद गरिएका थिए।  राती सपनामा मकवानपुरी गढीकी माइले चौधरीलाई भनिन् - " तिमी मलाई यहाँबाट अन्यत्र लैजाऊ।" चौधरीले भनेछन् - "म त आफैँ हत्कडीमा बाँधिएको छु , म कसरी हजुरलाई लैजान सक्छु र ? "  माइले भनिन् - "तिमी त्यसको चिन्ता नगर। " रात परिसकेपछि माइको प्रतापले मुक्त भएका चौधरीले माईलाई बोकी पहाड, जङ्गलहरू  छिचोल्दै बरियापुरमा ल्याएर राखे।  गढीमाई भगवतीलाइ देवीको रूपमा मानिन्छ ।  त्यसै समयदेखि थारु जातिका चौधरीहरू  त्यहाँ माइको पूजारी रहेका छन्। 

गढीमाई मेला कहिले देखि सुरु भयो र कसले सुरु ग-यो  भनेर चाहिँ ठ्याक्कै भन्न सकिँदैन ।  राजा शिवसिंहको पालादेखि नै गढीमाईको  मेला सुरु भएको भनेर अनुमान गरिएकाे छ।  त्रिशुलको रूपमा स्थापना गरिएको गढीमाईको दक्षिणपट्टि करिब १५० वर्षअघि उमेशविक्रम साहेदेवज्यूले देवीको मूर्ति स्थापना गरेको पाइन्छ।  हाल चौधरीका बाह्रौँ पुस्तका सन्ततिहरू  नै गढीमाईको पुजारी रहेका छन् ।

यो मेला १ महिनासम्म लाग्ने भए पनि मङ्सिर शुक्ल पञ्चमीदेखि अस्टमीसम्म ४ दिन मेलाका मुख्य दिन मानिन्छन्। पञ्चमीको दिन मूल पुजारीको घरआँगनको मठबाट पूजाको सुरुवात हुन्छ।  षष्ठीको दिन मेवा र अरू चिजहरू  चढाएर सनातन रूपमा र मध्यरातमा राँगो, बोका, सुँगुर , हाँस र सेतो मुसा गरी पञ्चबलि दिने गरिन्छ।  

गढीमाईको पूजा  गर्ने अवसरमा त्यहाँ रहेका शक्तिहरूको पनि पूजा  गरिन्छ। वनशक्ति माई , जाखजाखिन माई , कङ्काली माई , हरपत राजा र भगवान् चौधरीको पूजा  गरिन्छ।  त्यसपछि धामीबाबाको पूजा  गरिन्छ।  अनि मात्र गढीमाईका सातै बहिनीहरू  - संसारी माई , जोर्लाही माई , साम्य माई , मनकामना माई , गढबाड़ा माई, राजदेवी वनशक्ति माई र गढीमाईको  पूजा  गरिन्छ।  गढीमाईको पूजा  सकिएपछि फेरि ब्रह्मबाबाको चौतारोमा आएर सामूहिक रूपमा गढीमाईको  पूजा  गरिन्छ।  त्यस क्षेत्रको मेला अवधिभर श्रद्धालु भक्तजनको भिड हुन्छ।  सबैको मनोकामना पूरा हुन्छ भन्ने यहाँ आउने भक्तजनहरूको विश्वास रहेको छ ।  धार्मिक, सांस्कृतिक उत्सवको रूपमा यस मेलाको महत्त्व बढ्दै गएको पाइन्छ।  
सन्दर्भ सामग्री: “नेपालका चाडपर्वहरू”