Logo

Student Corner

बुद्धिचाल

Written by: Sashwat Paudel - 2022019, Grade X

Posted on: 17 November, 2020

बुद्धिचाल एक रणनीतिक बोर्ड खेल हो।  बुद्धिचाललाई चेस पनि भनिन्छ । यसलाई ६४ वर्गको चेकर बोर्डमा खेलिन्छ ।  यो खेलमा विशिष्ट नियमहरूको पालना गरिन्छ ।  यस खेलमा दुई खेलाडीहरू हुन्छन् ।  जो पालैपालो आफ्नो चाल चल्छन्  । बुद्धिचाल विश्वव्यापी रूपमा लाखौं मानिसको लोकप्रिय खेल हो । बुद्धिचाल धेरै पुरानो खेल हो भन्ने मान्यता छ ।बुद्धिचाललाई राजाहरूको खेल पनि भनिन्छ । विभिन्न सर्भेक्षणअनुसार बुद्धिचाललाई  सातौँ शताब्दीभन्दा अघिको भारतीय खेल चतुरङ्गाबाट साभार गरिएको भन्ने भनाइ पनि छ । विकिपीडियाबाट प्राप्त जानकारीअनुसार चेसको प्रारम्भ छैटौँ शताब्दीमा भएको हो । बुद्धिचाललाई  पहिला भारतमा चत्रंग भनिन्थ्यो । पछि यो खेल बिस्तार हुँदै जाँदा  पर्सियन र युरोपियन मुलुकमा पुग्यो ।  त्यहाँबाट यो खेलको आवरणमा र नियम मा धेरै परिवर्तनहरू आए ।  यस खेलका पुराना संस्करणले अदालतलाई चित्रण गर्थ्यो ।  

 चेस दुई सहभागीबीच खेलिन्छ । यसमा चालिने गोटीहरू १६ वटा हुन्छन् ।  यी गोटीहरू सेता र काला रङका हुन्छन् ।  चेसका गोटीहरूमा ८ सिपाही, २ हात्ती, २ ऊँट, २ घोडा, १ राजा र १ मन्त्री हुन्छन् ।  यी सबै प्रकारका गोटीहरू भिन्न भिन्न किसिममा चालिने गरिन्छ ।  चेसको प्रमुख उद्देश्य भनेको विरोधी राजालाई पासोमा पार्नु हो ।  पासोमा पर्नु भनेको राजालाई चाल चल्ने मौका नदिनु हो ।  यसलाई चेकमेट पनि भनिन्छ ।  बुद्धिचाल खेल्नका लागि सर्वप्रथम बोर्डलाई मिलाउनुपर्छ ।  सबै गोटीहरूलाई आआफ्नो ठाउँमा राखेर खेल सुरु गरिन्छ ।  परम्परागत चलनचल्तीआनुसार जहिले पनि सेतोले खेल आरम्भ गर्छ ।  खेलको नियमअनुसार सिपाहीको पहिलो चाल दुई वर्गको गर्न सकिन्छ; तर त्यसपछिका चाल सबै एक वर्गका मात्र हुन्छन् ।  सिपाहीलाई आगाडि  मात्र चाल्न सकिन्छ  ।  हात्तीलाई भने आगाडि, पछाडि, दायाँ, बायाँतिर चलाउन सकिन्छ ।ऊँटलाई छड्के मात्र चाल्न सकिन्छ । राजा भनेको सबैभन्दा महत्वपूर्ण गोटी हो, तर जति महत्वपूर्ण छ, त्यति  शक्तिशाली छैन ।  राजा चारैतिर एक वर्ग मात्र चाल्न मिल्छ ।  मन्त्री  भनेको बुद्धिचालमा रहेको सबैभन्दा शक्तिशाली गोटी हो ।  मन्त्रि आगाडि , पछाडि , दायाँ, बाँया, छड्के चाल्न सकिन्छ  ।   घोडालाई अक्षर “L” को  जता पनि चाल्न सकिन्छ ।  

चेसमा सिपाहीले विपक्षीको ठाउँमा पुग्यो भने पदोन्नति प्राप्त गर्छ र हात्ती, ऊँट, घोडा अथवा मन्त्रीमा परिवर्तन हुन सक्छ । यो नियमले गर्दा हामीले तीन वटा हात्ती, ऊँट, घोडा र दुई मन्त्रीसँग खेल्न सक्छौँ ।  बुद्धिचाल भनेको एक रणनीतिक खेल हो ।  यो खेलमा विजयी हुन रणनीतिक सिप चाहिन्छ ।