Logo

Student Corner

इन्द्रजात्रा

Written by: Prasoon Man Shrestha - 2022015, Grade X

Posted on: 10 November, 2020

काठमाडौँलगायत ललितपुर,भक्तपुर,धुलिखेल, दाेलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो। यसलाई नेवारीमा येँया पुन्हि पनि भनिन्छ। इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो र  महत्त्वपूर्ण जात्रा हो। इन्द्रजात्राको प्रमुख कार्य नै लिङ्गो (ध्वजा) स्थापना हो । १२औँदेखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्गम स्थल हो । भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरू भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ। सनातन धर्मावलम्बीहरूका प्रमुख र प्रचलित चाड दशैँ तिहार र फागुभन्दा पनि इन्द्रजात्रालाई संस्कृतिविदहरूले पुरानो चाड मानेका छन्। इन्द्रजात्रा र लिंगो -ध्वजा) ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, बृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ। 

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान रथयात्रा र देवी देवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ । तान्त्रिक विधिद्वारा पूजा गरी काभ्रेपलाञ्चाेक जिल्लाकाे उग्रचण्डी नालास्थित जङ्गलमा छोडिएको बोकाले छोएको रुख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिङ्गो तयार पार्ने गरिन्छ। हनुमानढोका दरवारमा कालभैरवको विशाल मूर्ति अगाडि धार्मिक विधिअनुसार उक्त लिङ्गाे ठड्याएपछि इन्द्रजात्राको चहलपहल सुरू हुन्छ। यसरी ठडयाइएको लिङ्गोलाई 'इन्द्रध्वजोत्थान' पनि भनिन्छ। नेपाल भाषामा 'योसीं' भनिने उक्त लिङ्गोमा मङ्गल सूचकका विभिन्न चिह्न अङ्कित पताका झुन्ड्याएको हुन्छ। उक्त लिङ्गो ठड्याएपछि फेँदमा हात्ती चढेको सुनको जलप लगाइएको इन्द्रको प्रतिमा राखेर पूजा गरिन्छ र लिङ्गो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मङ्गल धुन बजाउँछन । इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा राजा प्रतापसिंह साहले चलाएको यतिहासमा उल्लेख छ। यस अवसरमा हनुमानढोका दरवारक्षेत्रमा रहेको श्वेतभैरवकाे  विशाल सरभमुख सर्वसाधारणलाई दर्शन र पूजाका लागि खुला गरिन्छ।