Logo

Student Corner

भक्तपुरका जात्राहरू

Written by: Joya Shrestha - 2024006, Grade VIII

Posted on: 09 November, 2020

भनिन्छ, भक्तपुर जात्रै जात्राको सहर हो।  सोही कुरा सबैतिरबाट सुनेको कारणले गर्दा मलाई पनि  भक्तपुरमा देखाइने जात्रा हेर्न मन लाग्यो । सो कारणले गर्दा म एकपटक भक्तपुर जात्रा हेर्न गएकी थिएँ ।  त्यहाँ गएपछि मैले भक्तपुरमा मनाइने जात्राका विषयमा जानकारी लिन मन लाग्याे र यस सम्बन्धमा त्यहाँका मानिसँग साेधेँ ।  भक्तपुर एकदमै रमाइलो पर्यटकीय सहर रहेछ   र नेपालको सबैभन्दा धेरै मन्दिरहरू भएको ठाउँ पनि रहेछ ।   पाँचतले मन्दिर, तलेजु भवानीको मन्दिर, सूर्यविनायकको गणेश मन्दिर,दत्तात्रय मन्दिर आदि भक्तपुरका प्रसिद्ध मन्दिरहरू हुन् ।पाँचतले मन्दिरलाई नेपालको सबैभन्दा अग्लो मन्दिर मानिन्छ ।  यसलाई  न्यातापाेल मन्दिर पनि भनिन्छ ।  पाँचतले मन्दिर राजा भूपतेन्द्र मल्लले निर्माण गरेका हुन् । 

 यस्तो रमणीय सहर भक्तपुरमा विभिन्न खालका जात्राहरू पनि मनाइन्छन् ।  जस्तै, बिस्केटजात्रा, इन्द्रजात्रा, गाईजात्रा, नवदुर्गाजात्रा  आदि । नवदुर्गा भवानीहरूको तेह्रवटा मुखौटो पनि भक्तपुरमा नै बनाइन्छन् ।  जुन चित्रकार  थरका मानिसहरूले  निर्माण गर्दछन् ।  नवदुर्गाको  मुकुट कालो माटोले बनाइन्छ । त्यो माटोलाई कुटेर कपास मिसाएर फेरि कुटिन्छ अनि त्यसलाई मुखडाको आकारमा ल्याइन्छ र त्यसपछि विभिन्न रङ लगाएर सजाइन्छ ।   नवदुर्गा भवानीकाे मुकुट  घटस्थापनाको दिन बनाउन सुरु गरिन्छ र दसैँको नवमीको दिनसम्म काम सम्पन्न गर्नुपर्ने हुन्छ अनि टीकाको दिन बिहान  घरबाट बिदा गरिन्छ   र त्यसपछि नवदुर्गा मन्दिरमा लगेर  पूजा-आराधना गरिन्छ ।  वर्षभरिमा विभिन्न ठाउँमा लगेर जात्रा मनाइन्छ रवर्षको अन्त्यमा सबै ठाउँमा जात्रा सकिएपछि भक्तपुरमा भएको खोलामा लगेर अन्त्य गरिन्छ । 

 बिस्केट जात्रा नयाँवर्षको बेलामा आठ दिनसम्म मनाइने जात्रा हो ।  ठुला-ठुला रथहरू तानेर रमाइलो गर्ने काम यस जात्रामा गरिन्छ ।  यस जात्रामा कुनै कुनै व्यक्तिले जिब्रो छेड्ने  काम गर्दछन् ।  जिब्रो छेड्ने काम पनि उनीहरूको एक परम्परा अन्तर्गत नै पर्दछ ।  यस जात्रामा  भक्तपुरका नेवार समुदायका मानिसहरूले आफन्तजनहरूलाई बोलाएर भोज खुवाउँछन् ।   बिस्केटजात्रा  चैत महिनाको २८ गते सुरु गरेर वैशाखको ५ गते अन्त्य गरिन्छ । बिस्केट जात्रालाई वीरका जात्रा पनि भनिन्छ । 

त्यसै गरी भक्तपुरमा मनाइने  अर्को प्रसिद्ध जात्राको रुपमा गाईजात्रा पनि पर्दछ ।  यो जात्रा मरेको मान्छेको सम्झनामा मनाइन्छ ।  जुन घरबाट मान्छे मरेको छ  त्यस घरबाट  गाईजात्रा निकालिन्छ ।  साे जात्रा चाहिँ मान्छे मरेको एक वर्षभित्र निकाल्नुपर्दछ ।  कसैकसैले गाइ नै निकाल्छन् भने कसैले रथ निकाल्छन् ।  यस जात्रामा गाई र  रथहरूलाई सजाउने र मन्दिरलगायत सहर परिक्रमा गराउने चलन रहेको छ ।  मानिसहरू एकआपसमा लट्ठी हानाहान गर्ने  नाच नाचेर, बाजा बजाउने  र रमाइलो गर्ने चलन पनि रहेको छ ।  यसबाट सहरमा कति मान्छे मरेका छन् भन्ने कुराको आँकलन समेत गर्न सकिन्छ । 

 भक्तपुर अति नै रमाइलो सहर हो ।  यो अत्यन्त सुन्दर  रहेको छ ।  यहाँको सांस्कृतिक स्थलहरूको अवलोकन गर्न र सोही जात्राहरूको अवलोकन गर्न विश्वका धेरै पर्यटकहरू आउँछन् र अन्य सहरबाट पनि नेपालीहरू जात्राहरूको अवलोकन गरेर आनन्द लिन्छन् ।  यसले  नेवारी संस्कृति र नेपाली परम्पराको राम्रो संरक्षण गरेको छ ।  पर्यटन प्रवर्द्धनमा पनि ठूलो भूमिका खेल्दै आएको छ ।  यसरी आफन्तहरूसँग भक्तपुरको जात्रा हेर्न जाँदा मैले पनि निकै आनन्दित र रमाइलो महसुस गर्ने गरेकी छु  ।