Logo

Student Corner

गुरु पूर्णिमा

Written by: Rijan Shrestha - 32029, Grade V

Posted on: 19 July, 2024

गुरु पूर्णिमा हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको महान् पर्व हो । यस दिन गुरुलाई श्रद्धा र सम्मान प्रकट गर्दै गुरु पूर्णिमा मनाउने गरिन्छ । यस दिनलाई आफूलाई शिक्षादीक्षा प्रदान गर्ने, आफूलाई राम्रो काम गर्न सिकाउने, राम्रो काम गर्न प्रेरित गर्ने,  ज्ञानको बाटो देखाउने गुरुहरूप्रति आभार व्यक्त गर्ने विशेष दिनका रूपमा लिने गरिन्छ । गुरु पूर्णिमा आषाढ शुक्ल पूर्णिमाको दिन मनाइन्छ । गुरु भनेका हामीलाई विद्यालयमा पढाउने शिक्षक शिक्षिकाबाहेक हाम्रो जीवनमा हरेक पाइलामा साथ दिने हाम्रा आमाबाबा, दाइ, दिदी तथा साथीहरू पनि हुन् । अज्ञानता र अचेतनाको अँध्यारोबाट ज्ञानको उज्यालोमा ल्याउन सही मार्ग प्रदर्शन गर्न मद्दत गर्ने समस्त व्यक्तिहरू गुरु हुन् । गुरुले हामीलाई असल संस्कार र ज्ञानगुनका कुरा सिकाउनुहुन्छ । सधैँ हाम्रो भविष्यबारे सोच्नुहुन्छ । हामीले  राम्रो काम गर्दा असाध्यै खुसी हुनुहुन्छ त्यसैले हामी सधैँ गुरुकाे सम्मान गर्छाैँ। 

गुरुर्ब्रह्मा गुरुर्विष्णुः

गुरुर्देवो महेश्वरः

 गुरुः साक्षात् परब्रह्मः

 तस्मै श्री गुरवे नमः

अर्थात् गुरु नै ब्रह्मा हुन् । गुरु नै विष्णु हुन् अनि गुरु भनेका भगवान् शङ्कर हुन् । गुरु नै साक्षात् परब्रह्म परमेश्वर हुन् । यस्ता देवतातुल्य गुरुलाई म नमस्कार गर्दछु । जीवनभर मान, सम्मान र आदर, सत्कार गरिरहने छु ।