Logo

Student Corner

विज्ञान र प्रविधि

Written by: Prasiddhi Dangol - 28009, Grade IX

Posted on: 16 May, 2024

विज्ञान र प्रविधि हाम्रो दैनिक जीवनका महत्त्वपूर्ण अङ्ग हुन् । हामी हाम्रो घडीको घण्टीको आवाज सुनेर नै बिहान उठ्छौँ र हामीले हाम्रो बत्तीलाई बन्द गरेपछि मात्र राती सुत्छौँ । हामीले किन्न सक्ने यी सबै आवश्यक सामानहरू सबै विज्ञान र प्रविधिका परिणाम हुन् । अर्को महत्त्वपूर्ण कुरा हामीले यस्ता सामान प्रयोग गरेर आफ्नो काम छोटो समयमा पनि गर्न सक्छौँ । यो कुरा विज्ञान र प्रविधिको विकासको एक फाइदा हो । विज्ञान र प्रविधिविना हाम्रो जीवन कल्पना गर्नै गाह्रो छ । वास्तवमा हाम्रो अस्तित्व अहिले विज्ञान र प्रविधिमा निर्भर छ । हरेक दिन नयाँ प्रविधिहरूको विकासको साथ मानव जीवन पनि सहज बन्दैछ । त्यसैले नै हामी भन्न सक्छाैँ । कि हामी अहिले विज्ञान र प्रविधिको युगमा बाँचिरहेका छौँ ।

नयाँ उपकरणहरूले जीवनलाई अझ सजिलो बनाउँछ । प्रविधिको कमजोरीहरू धेरै छन्  तर अन्त्यमा प्रविधिको प्रयोगले नै मान्छेले रोजगारी पाएको छ र समयको पनि बचत भएको छ । तैपनि यसको बेफाइदा चाँहि छ जस्तै, यसले साना बालबालिकामा आँखामा समस्या ल्याउन सक्छ । सामाजिक सञ्जालको लत पनि बढिरहेको छ । त्यसैले हामीले प्रविधिको सीमित रूपमा प्रयोग ‍गर्नुपर्छ ।

अहिले विज्ञान र प्रविधिले यो संसार बदलेको छ । टिभीदेखि विमान, कारदेखि मोबाइल सबै विज्ञानकै कारण यो संसारमा पाइएका हुन् । हामीले हाम्रो मोबाइलबाट जोसँग पनि कुराकानी गर्न सक्छौँ,  जुन पहिले सम्भव थिएन । त्यस्तै, विद्युतीय उपकरणहरू पनि छन् । जसले मानव जीवनलाई सजिलो बनाएको छ । यसबाहेक हामीले प्रयोग गर्ने यातायातमा पनि विज्ञान र प्रविधिको योगदान छ । हाम्रो गन्तव्य संसारको जुनसुकै भागमा भए पनि हामी त्यहाँ पुग्न सक्छौँ ।

 

विज्ञान र प्रविधिले आधुनिक जीवनमा महत्त्वपूर्ण भूमिका खेल्छ र मानव सभ्यतामा पनि गहिरो प्रभाव पार्छ । आधुनिक जीवनमा प्रविधिकाे विकासले हामीलाई संसारभरिका धेरै उल्लेखनीय सुविधाहरू प्रदान गरेको छ । २० औँ शताब्दीबाट वैज्ञानिकहरूले आफ्नो पूर्ण क्षमताले विज्ञान र प्रविधिकाे विकासमा परिमार्जन गरेका छन् । २१ औं शताब्दीमा यसको अझ उन्नति भएकाे छ । हामी नयाँ शताब्दीमा नयाँ ढङ्गले र जनताको हितका लागि सबै व्यवस्थाका साथ प्रवेश गरेका छौँ । आधुनिक सभ्यताले जनताको आवश्यकता पनि पूरा गर्न सफल भएको छ ।

 

विज्ञान र प्रविधि यो पृथ्वीमा मात्र सीमित छैन । अहिले यो मङ्गल ग्रहमा पुगेको छ । नासाले मङ्गल ग्रहमा पुग्न विज्ञान र प्रविधिको प्रयोग गरेको हो । विज्ञान र प्रविधिले मानिसलाई पृथ्वीबाट टाढा रहेका अन्य ग्रहहरूकाे बारेमा जान्न सक्षम बनाएको छ । नयाँ ग्रहहरूको खोज र अन्तरिक्षमा उपग्रहहरूको स्थापना हुनु भनेको विज्ञान र प्रविधिकै कारण हो ।

त्यसैगरी विज्ञान र प्रविधिले स्वास्थ्य र कृषि क्षेत्रमा पनि प्रभाव पारेको छ । विभिन्न रोग पत्ता लाग्नु र त्यसको निराकरणका लागि विभिन्न उपायहरूको पनि विज्ञानको माध्यमबाट लाखौँको ज्यान जोगिएको छ । यसबाहेक, प्रविधिले विभिन्न बालीहरूको उत्पादन पनि बढाएको छ, र यसकारण किसानहरूलाई धेरै फाइदा पनि भएको छ ।

अन्त्यमा, हामीले मान्नु पर्छ कि विज्ञान र प्रविधिले मानव जीवनमा पूर्णता ल्याएको छ। तैपनि हामीले सबै कुरालाई बुद्धिमानी दृष्टिकोणले हेर्नु र सीमित हदसम्म प्रयोग गर्नु आवश्यक छ । विज्ञान र प्रविधिको दुरूपयोगले हानिकारक परिणामहरू निम्त्याउन सक्छ । त्यसकारण, हामीले यसकाे प्रयोग गर्दा सचेत हुनुपर्छ  ।