Logo

Student Corner

पानी नै जीवन

Written by: Sayuri Shrestha - 28017, Grade IX

Posted on: 14 May, 2024

सरिता गाउँ फर्किन अफिसबाट दुई हप्ताको बिदा लिन्छिन् । २५ वर्षको उमेरमा पढाइ सकेर काठमाडौँको एउटा विद्यालयमा साना बालबालिकालाई पढाइरहेकी थिइन् । कक्षाको बिचमा सरिताको फोन बज्न थाल्छ । आज अचानक गाउँको काकाको फोन आउँदा सरिता छक्क पर्छे।  फोन उठाउँदा काकाले बुबाको स्वास्थ्य खराब भएको छ भनेर सरितालाई भन्छन् । यो खबर सुनेर सरिता अत्तालिन थाल्छे । कक्षा समाप्त भएपछि सरिता प्रधान अध्यापकको कोठामा गएर आफ्नो बुबा बिरामी भएको कुरा सुनाउँछिन् र दुई हप्ताको छुट्टी माग्छिन् । सरिता एक मेहनती र लगनशील शिक्षक थिइन् । उनको अवस्था बुझेर प्रधान अध्यापकले सरितालाई छुट्टी दिन्छन्। 

 

त्यसपछि सरिता घर गएर गाउँ जाने तयारी गर्छिन् । करिब दुई वर्ष अगि सरिता आफ्नो गाउँ ओखलढुङ्गा छाडेर काठमाडौँ आएकी थिइन् । गाउँमा उसको बुबा बाहेक कोही थिएन। भाइ कामको लागि भनेर दुई वर्ष अगि नै मलेसिया गएको थियो । उसकी आमा ऊ सानै हुँदा घर छोडेर गएकी थिइन् । उसको बुबा खेतमा काम गर्दा उसको भाइको हेरचाह उनले नै गर्थे । आफ्नो बुबालाई सहयोग गर्न सरिता सानैदेखि घरघरमा गएर काम गर्थी । पढाइसकेपछि काठमाडौँ जाने उनको विचार पहिलैदेखि नै थियो । त्यसैले सानैदेखि सरिता पढाइमा पनि एकदम  मेहनत गर्थी । आफ्नो भाइलाई पनि हुर्काएर मलेसिया आफैँले  पठाएकी थिई ।  

 

बुबा र भाइ बाहेक यो संसारमा उसको कोही थिएन । त्यसैले आफ्नो बुबा अचानक बिरामी भएको खबर सुनेर सरिता एकदम डराउन थाल्छे । ओखलढुङ्गा जान काठमाडौँबाट करिब १५/१६ घण्टा लाग्थ्यो। बाटोभरि सरिताको मनमा आफ्नो बुबाको लागि पिर बढ्दै गयो । भाइलाई फोन गरेर खबर गरूँ कि नगरूँ ? बुबालाई के भयो होला ? मैले बुबालाई एक्लै छोडेर नआउनुपर्ने रहेछ ? यस्ता प्रश्नहरू सरिताको मनमा आइरहे । यात्रा गर्दैगर्दा ओखलढुङ्गा पनि आइपुग्यो। सरिताको घर बसपार्कभन्दा धेरै टाढा थिएन। त्यसैले ऊ त्यहाँबाट हिँड्दै घर गयो। घर गएर हेर्दा बुबा ओछ्यानमा पल्टिरहनु भएको थियो।  कोठामा एउटा पुरानो बत्ती बलिरहेको थियो र छेउमा पल्लो घरको काका बुबाको स्याहार गर्दै बसिरहेको हुनुहुन्थ्यो। काकाले सरितालाई देख्नेबित्तिकै जुरुक्क उठ्नुभयो र भन्नुभयो, “ए नानी तिमी आयौ मलाई फोन किन नगरेको ? म खाना बनाइदिएर राख्दिन्थे।” “हैन काका पर्दैनथ्यो मैले खाएरै आको,”  सरिता काकातिर हेर्दै  भन्छे । “बुबालाई के भयो काका” ? सरिताले सोध्छे। बिहान त ठिकै काममा जानुभएको थियो तर दिउँसोतिर, “झन् झन् रिङ्गटा लाग्यो” भनेर भन्दै हुनुहुन्थ्यो । “ चर्को घाम र बुढेसकालले पनि होला नानी” काकाले सरितालाई हेर्दै भन्नुहुन्छ ।  खै होला काका “ सरिताले भन्छे । “बुबाले खाना खानुभयो त ? ” सरिताले फेरि काकालाई सोद्छे।” खाना त खानुभयो, तर अलिअलि मात्र नरुचाई नरुचाई खाना खानुभयो”, “ए ठिकै छ, अब तपाईँ पनि घर जानुहोस् अबेला भइसक्यो,  बुबालाई मै हेर्छु”  सरिताले भन्छे ।  त्यसपछि काका पनि आफ्नो घर जानुहुन्छ । सरिताले एकछिन आफ्नो बुबाको थकित अनुहार हेर्छे र बुबाको छेउँमा बसिरहन्छे । रातिको लगभग १२ बजिसकेको थियो । यतिबेला काठमाडौँमा सरिताले आफ्नो भाइलाई फोन गर्थ्यो । त्यो दिन पनि सरिताले आफ्नो भाइलाई फोन गरेर बुबा बिरामी भएको खबर दिन्छे । उसको भाइलाई पनि बुबाको साह्रै माया लाग्थ्यो । दुई वर्ष अगि सरिताको भाइ बिमललाई मलेसिया जान मन थिएन, तर सरिताले आफ्नो भाइको भविष्यको बारेमा सोचेर, बिमललाई मलेसिया जसरी नि पठाउँछु भनेर बसेकी थिई । भाइसँग कुरा गरेपछि सरिता पनि आफ्नो बुबाको छेउँमै ओछ्यान  लगाएर सुत्छे । 

 

बिहान ५:३० बजेतिर गाउँलेहरूको आवाजले सरिता उठ्छे । बाहिर गएर हेर्दाखेरि गाउँलेहरू पानी तान्न पाएन भनेर झगडा गरिरहेका थिए । सरिताको गाउँमा पानी र बिजुली जस्ता कुराका पहिलादेखि कै समस्याहरू थिए । सहरमा त यस्तो समस्या कमै थियो तर गाउँमा भने अहिलेसम्म पनि यो समस्या देखिन्थ्यो । तर त्यस समस्याको हल अहिलेसम्म  कसैले पनि निकालेको थिएन । एकछिनपछि सरिताको बुबा पनि उठ्नुहुन्छ ।  दुई वर्षपछि आफ्नो छोरी घर आएको देखेर बुबाको थकित  र अँध्यारो अनुहारमा मिठो हाँसो आउँछ । बुबा उठेको देखेर सरिताले खाजा बनाउन थाल्छे र हिजो सहरबाट ल्याएको औषधी पनि बुबालाई दिन्छे । दुई वर्षपछि आफ्नी छोरीसँग बसेर खाँदा  सरिताको बुबा मक्ख पर्नुहुन्छ । खाना खाएर एकछिन कुरा गरिसकेपछि बाहिर हेर्न जाँदा झैझगडाको महोल अहिले पनि चलिरहेको थियो । के भाको हो भनेर बुझ्नको लागि सरिता पल्लो काकाको घर जान्छे। काकालाई के भयो भनेर सोद्दा खेरि काकाले “ यत्रो वर्ष भइसक्यो अहिलेसम्म पनि हाम्रो गाउँमा पानी र बिजुलीको समस्याको हल छैन । बिजुली र पानी जस्ता कुराहरू त हामीलाई चाहिने आधारभूत कुराहरू हुन् । यी कुराहरूको राम्रो स्रोत हामीसँग अहिलेसम्म पनि छैन । अहिलेको समयमा हाम्रो मुख्य समस्या भनेको नै यही हो । के गर्नु अब यसरी नै झै झगडा गर्दै यहाँ बस्नुपर्ला। “ काकाको कुरा सुनाएर सरिताले केही भन्न सक्दिन । ऊ एकछिन त्यहाँ नबोली बस्छे र घर फर्किन्छे। घर जाँदा उसलाई एकदम तिर्खा लागिरहेको हुन्छ तर घरमा पानी हुँदैन। जा खोजे पनि पानी थिएन। यो देखेर सरिताले पानी नभएको समस्या मेरो गाउँमा ठुलो रहेछ भनेर थाहा पाउँछे । गाउँमा पानीको मात्र होइन अरू महत्त्वपूर्ण कुराहरूको पनि स्रोत थिएन । त्यहीमाथि सरिताको बुबाको स्वास्थ्य झन् खराब हुँदै गइरहेको थियो । गाउँमा अस्पतालहरू नभएको कारणले पनि कसलाई के रोग लागेको भनेर कसैलाई थाहा हुँदैन थियो ।  आफ्नो बुबाको स्वास्थ्य धेरै खराब भइसकेपछि, सरिताले आफ्नो बुवालाई सहर लगेर जचाउने निर्णय गर्छे।  अर्को दिन बिहान सरिता र उसको बुबा ७ बजे काठमाडौँका लागि बसमा हिँड्छन् । काठमाडौँ पुग्नेबित्तिकै सरिताले आफ्ना बुबालाई डाक्टरकहाँ देखाउँछे । सरिताले मनमा सोचेजस्तै उसको बुबा बिरामी हुनुको कारण पानी थियो ।  यस्तो उमेरमा गर्मीमा खटेर काम गर्नु र अलिकति पानी पनि नपिउनु एउटा ठुलो समस्या थियो । यो समस्या सरिताको बुबामा मात्र होइन अरू गाउँलेहरूमा पनि देखिएको थियो । सरितालाई अब यस समस्याको हल निकाल्नु थियो । गाउँमा जसरी भए पनि अलिअलि गर्दै राम्रो खानेपानीको स्रोत ल्याउनुपर्छ भनेर सरिताले निर्णय गरिसकेको थियो । अस्पतालमा बुबालाई जँचाएपछि उनीहरू घर फर्किन्छन् । राम्रो खानेपानीको कमीको बारेमा पहिला उसले सबै गाउँलेहरूलाई सूचना दिन्छ । गाउँमा धेरै युवाहरू नभएको कारण पनि समस्याहरू धेरै देखिरहेका थिए । सरिताले आफ्ना साथीहरूका सहयोगले पनि गाउँमा पानीको सुविधाहरू बढाउँदै लैजान्छे । पानी आउने स्रोत साधनहरूलाई पनि सरिता र उसको साथीहरूले बढाउँदै र संरक्षण गर्दै लैजान्छन् । त्यसैगरी सामाजिक सञ्जालको प्रयोग गरेर उनीहरूले यस  समस्याको बारेमा जनचेतना फैलाउँछन् । बिस्तारै बिस्तारै गर्दै गाउँमा पानीको समस्या कम हुँदै जान्छ । त्यसैगरी विभिन्न सङ्गठनको सहयोगले पनि गाउँमा विभिन्न कुराको स्रोतहरू देखिन थाल्छन् ।  सरिताले आफ्नो गाउँमा धेरै विकासका याेजना ल्याउँछे ।  गाउँलेहरू धेरै खुसी हुन्छन् र सबैको स्वास्थ्य पनि राम्रो हुँदै जान्छ । यसरी नै सरिताले अब गाउँघरका समस्याहरूको  हल निकाल्ने निर्णय गर्छे।