Logo

Student Corner

मिलिजुली गरे सम्भव छ

Written by: Tanishq Shakya - 28011, Grade IX

Posted on: 06 May, 2024

काव्या २५ वर्षकी थिईन् । उनी अत्यन्त चतुर र दयालु थिइन् । आफ्नो हजुरआमा जस्तो बन्ने सपना लिएर उनी सबैको राम्रो चाहन्थिन् । उनको हजुरआमा समाजसेवी थिइन् र सबैलाइ मदत गर्थिन् । आफ्नो हजुरआमासँग हुर्केका कारण काव्याको प्रेरणा पनि उनको हजुरआमा नै थिईन् । काव्या सल्यान गाउँमा जागिरकाे क्रममा भर्खरै आएकी थिइन् । उनी अर्को गाउँबाट आएको केही दिन मात्र भएको थियो । उनी त्यस गाउँको खेतीपाती तथा बालीनालीको अवलोकन गर्ने सिलसिलामा त्यस गाउँमा आएकी थिइन् । काव्यालाई उनको कार्यालयद्वारा घर र आवश्यक सुविधा प्रदान गरिएको थियो । 

एकदिन काव्या आफ्नो काममा जाँदा चर्को घाम लागिरहेको थियो । उनले घरबाट लगेको पानी पनि सकिसकेको थियो । धेरै तिर्खा लागेका कारण उनले त्यही नजिक भएको घरमा पानी मागिन्। काव्याले त्यहाँ पानी पिएर आफ्नो तिर्खा मेटाईन्। त्यस पछि उनी आफ्नो काममा व्यस्त भईन्।  साझँ पर्न थालिसके पछि काव्या आफ्नो घर फर्किँदै थिइन् । बाटामा उनले त्यस गाउँमा रहेको तालमा गाईवस्तु नुहाइरहेको देखिन् र त्यही तालको किनारामा मान्छेहरु लुगा धोइरहेका पनि देखिन् तर अत्यन्त थकित भएका कारण काव्याले त्यसको केही वास्ता गरिनन् । उनी सरासर आफ्नो घर गइन् । 

अर्को दिन सवेरै काव्या उठिन् र उनले उनको छिमेकमा कसैको मृत्यु भएको सूचना पाइन् । काव्याले चिनजान गर्दै गर्दा र अरूहरूलाई पनि त्यस घटना बारे सोध्दा उनले ती मृत्यु भएको मान्छेको नाम र मृत्युको कारण थाहा पाइन् । उनको नाम सुधा थियो । सुधा भर्खर १७ वर्ष लागेकी थिइन् र उनको मृत्यु चाहिँ बिरामी भएका कारणले भएको थियो । सुधालाई रोग लागेको लगभग १ महिना भएको थियो । उनले स्वस्थ रहन पौष्टिक आहारको सेवन गर्थिन् र निरन्तर पानी पनि पिउँथिन् । त्यति गर्दा पनि सुधाको स्वास्थ्य दिनदिनै बिग्रँदै गयो र अन्त्यमा उनकाे मृत्यु भयाे । त्यसैले उनको मृत्यु भएकोमा उनका परिवार अत्यन्त दुःखी थिए । त्यस गाउँमा सुधा मात्र होइन अरू धेरै गाउँलेहरू पनि बिरामी हुँदै थिए । दिनदिनै कसैको मृत्युको सूचना वा कोही बिरामी भएको सूचना पाइन्थ्यो । यसरी दिनदिनै मान्छेहरू बिरामी तथा अस्वस्थ भएका सूचना आइरहन्थे । काव्या त्यस गाउँमा आउने कारण पनि त्यही नै थियो । त्यहाँका गाउँलेले दिनदिनै सेवन गर्ने तथा खानेकुरा स्वस्थ्य थियो कि थिएन भनेर जाँच्ने काम काव्या गर्थिन् । काव्या त्यस गाउँमा बसुन्जेल  उनले त्यहाँको खेतीपाती तथा बालीनालीको राम्ररी अवलोकन गरिन् । 

 

अर्को दिन अचानक काव्यालाई बिरामी भएको महसुस भयो। त्यसै कारण उनी नजिकैको एक अस्पतालमा आफूलाई जचाउन गइन्। त्यस अस्पतालमा उनको एक डाक्टरसँग भेट भयो। डाक्टरको नाम निशा थियो । डाक्टर निशा काव्याकी साथी थिईन् । डाक्टर निशाले काव्यको जाँच गरिन् । काव्याको स्वास्थ्य परीक्षण नतिजा पनि केही समयमा नै आयो । काव्या बिरामी हुनुको कारण त्यस ठाऊँको खाद्यान्न थिएन त्यहाको पानी थियो । त्यही समयमा काव्यालाई उनले काममा जाँदा त्यही नजिकैको घरमा पानी पिएको याद आयो । काव्याले गाईवस्तु तालमा नुहाईरहेको र मान्छेहरूले पनि त्यहाँ लुगा धोइरहेको पनि सम्झिन् । उनले बुझिन् कि त्यस गाँउमा मान्छेहरू त्याहाँको खाद्यान्नले होइन पानीका कारण बिरामी भइरहेका रहेछन् । निशालाई पनि समाज सेवा गर्ने इच्छा थियो र काव्या र निशाले मिलेर पानीको समस्याको समाधान गर्ने निर्णय लिए । पहिले त बिस्तारै गाउँलेहरूलाई यसबारे सचेत गराए । केही गाउँलेहरूसँग मिलेर उनीहरूले एउटा संस्था स्थापना गरे। 

हरेक दिन त्यस संस्थामा मान्छेहरू जोडिए तर अझै पनि धेरै गाउँलेहरूले त्यस संस्थाको विरोध गरिरहेका थिए । हामी यस गाउँमा बसेको धेरै भइसक्यो । पहिले त यस्तो केही पनि भएको थिएन । पहिलेदेखि नै हामीहरूले यसै प्रकार काम गर्थ्याैँ तर कहिल्यै समस्या हुँदैन थियो । केही गाउँलेले भन्थे । त्यसैमा सहमति देखाउँदै एउटा उद्योगमा काम गर्ने मान्छेहरू पनि काव्या र निशाद्वारा स्थापित गरिएको संस्थाको विरोध गर्थे। उद्योगद्वारा पनि पानीको स्रोत जस्तै नदी तथा तालमा हानिकारक रसायन मिसिन्थे । त्यसबारे गाउँलेलाई थाहा थिएन । केही गाउँलेले विरोध गरे पनि त्यो संस्था अघि बढ्दै गयाे । सकेसम्म धेरै मान्छेलाई जल प्रदूषणबारे सचेत गराए । त्यस संस्थामा भएका मान्छेहरूले आआफ्नो घरमा फिल्टर राखे । सकेसम्म जल प्रदूषण हुन राेक्ने काम गरे। 

 

बिस्तारै अरू गाउँलेहरूले पनि जल प्रदूषणका नकारात्मक असरहरूबारे बुझे । उनीहरूले उद्योगद्वारा प्रतिपादित हानिकारक रसायन नदीमा मिसिन्छ भनेर पनि बुझे । सबै गाउँले मिलेर उद्योगको विरोध गर्न थाले । पछि त्यस उद्योगलाई पनि बन्द गरियो । त्यस गाउँमा सबैजना सचेत भए । नदीनाला, ताल आदि जलका स्रोतहरूको संरक्षण गरे । एउटा गाउँमा त जल प्रदूषणको समाधान गरियो । अब काव्या र निशाद्वारा स्थापित संस्था अरू गाउँघरमा गएर जल प्रदूषणबारे जति सके धेरै मान्छेलाई सचेत गराए । अन्त्यमा सबैले बुझे कि केही पनि समस्याको समाधान गर्दा मिलिजुली गर्नुपर्छ । सबैले मिलेर केही काम गरे सबै सम्भव छ।