Logo

Student Corner

कक्षा नौको पहिलो दिन

Written by: Shabdika Nepal - 28029, Grade IX

Posted on: 02 May, 2024

आज, २०८१ साल वैशाख १२ गतेबाट हाम्रो विद्यालय फेरि खुल्यो । मैले कक्षा आठबाट राम्रो अङ्क ल्याई कक्षा नौमा प्रवेश गरेकी छु। आजको दिनको लागि हिजैदेखि म भित्र ऊर्जा भरिएको थियो। हिजो राती पनि सुत्ने बेलामा मनमा आज के-के हुने हो भनेर धेरै कुराहरू खेलिरहेका थिए। नयाँ साथीहरू पनि कस्तो हुन्छन् होला भनेर पनि धेरै कुरा खेलिरहेका थिए। म त्यस्तै-त्यस्तै कुराहरू सोच्दा सोच्दै निदाएछु। 

 

आज बिहान उठ्नासाथ म निकै खुसी थिएँ । हाम्रो विद्यालयमा ड्रेस कोड नहुने भएकाले कुन लुगा लगाउने भन्ने कुरामा म दोधारमा परेँ। तीन-चारओटा लुगा लगाएर बल्ल एउटा लुगा छानेँ र म खाना खाएर बस बिसौनीतिर लागेँ। लगभग १ घण्टाको यात्रा पश्चात म विद्यालयमा पुगेँ। मेरै कक्षाको अर्को एउटा नयाँ साथी र म सँगै कक्षा खोज्नतिर लाग्यौँ । कक्षाभित्र छिर्ने बित्तिकै मैले धेरै पुराना अनुहारहरूसँगै केही नयाँ अनुहारहरू पनि देखेँ । म पुराना साथीहरूसँग बोल्न भन्दा पनि नयाँ साथीहरूसँग बोल्न उत्सुक थिएँ। पहिलो र दोस्रो कक्षा कम्प्युटरको थियो । हामीले ती कक्षाहरूमा खासै पढ़ेनौँ । एकार्कासँग अन्तर्वार्ता र आफ्नो परिचय गरेर ती कक्षाहरू सक्किए । त्यसपछि हाम्रो खाना खाने समय भएको थियो । मैले तीनजना नयाँ साथीहरूसँग बसेर खाना खाएँ । उनीहरूले आफ्नोबारेमा र आफ्नो पहिलाको विद्यालयको बारेमा पनि भने ।  मैले पनि आफ्नो बारेमा भनेँ र कुरै कुरामा खाना खाने समय सकियाे । हामी सबै कक्षामा गयौँ । त्यसपछिको कक्षा अतिरिक्त गणितको थियो। अतिरिक्त गणित पढाउने शिक्षक पनि नयाँ नै हुनुहुन्थ्यो ।  उहाँले आफ्नो परिचय दिई आगामी दिनहरूमा कक्षा कसरी सञ्चालन गर्ने भन्ने विषयमा पनि छलफल गर्नुभयो । त्यसपछि अनिवार्य गणितको कक्षा थियो त्यस कक्षामा भने हामीले केही कुराहरू पढ्यौँ। पछि पढ्ने कुराहरू बारे सामान्य ज्ञान पनि लियौँ । अनिवार्य गणित हामीलाई पहिलाकै गुरुले पढाउनु हुने रहेछ। उहाँको दुईओटा कक्षाहरू लगातार थिए । हामीले अर्को कक्षामा भने गफ गरेर रमाइलो गरी बस्यौँ । 

 अर्को नेपाली कक्षा थियो । नेपाली कक्षामा केही समय अन्तर्वार्ता गर्याैँ र केही समय भने नेपाली किताबको पहिलो पाठमा रहेको कविता वाचन गर्याैँ । आज भने नेपाली विषयको मात्र पढाइ भएको थियो । कक्षा सकिनसाथ सबै साथीहरू क्यान्टिनतिर लागे । म पनि उतै गएँ र खाजा खाएर कक्षामै फर्केँ । खाजा खाने समयमा बाँकी रहेको अरू समयमा चाहिँ हामी सबै कक्षामै कुराकानी गरेर बस्यौँ । यत्तिकैमा फेरि अर्को गणित कक्षाको गुरु कक्षाभित्र छिर्नुभयो । दिनभरिमा चा-चारओटा गणितको कक्षाले हामी अलि वाक्क पनि भइसकेका थियौँ । तर त्यो कक्षा सोचेजस्तो भएन ।  हामीले आ-आफ्नो परिचय दियौँ, कक्षा सकियो। अनि थियो अन्तिम कक्षाको पालो । त्यो कक्षा पनि पहिलो र दोस्रो कक्षा लिनुभएकै गुरुको रहेछ। उहाँले शुक्रबारदेखि पढाउने र आज चाहिँ उहाँकै विषयको किताब सरर हेर्न लगाउनुभयो । कक्षा सक्किएपछि हामी आ-आफ्नो बस चढ्ने ठाउँमा गयौँ । 

 

आजको दिन सिफल स्कुलमा मेरो पहिलो दिन भन्दा निकै फरक थियो र मैले सोचेजस्तो हाई स्कुलका केही नीति-नियमहरू पनि फेरिएका मैले पाएँ । मैले सोचेजस्तो हाई स्कुलमा एक पटक मात्र खाजा खाने समय नभई खाना र खाजा दुवै खाने समय थियो। कक्षा आठको पहिलो दिन जस्तो को मेरो साथी हुन्छ होला भनेर मैले एउटा नयाँ पहुनाजस्तो नभई आफ्नै परिवार जसरी सहज ढङ्गले कक्षा नौको पहिलो दिनको अनुभव गर्न पाएँ। गुरुहरूले भन्नुभएझैँ  म आफैँलाई पनि आफ्नो काँधमा बढी पढाई तथा अन्य कुराहरूको दबाब परेजस्तो महसुस भयो । म यो दबाबलाई दबाब नठानी आफ्नो भविष्य सोचेर अघि बढ्ने कोसिस गर्ने छु र तिरन्तर मिहिनेत गर्ने छु। आजको दिन मेरो जिन्दगीको  लागि एक अविस्मरणीय पल हुनेछ र यही पलमा मेरा गुरुहरूले दिनुभएको सुझाव लिएर भविष्यमा मिहिनेत गर्दै जाने छु।