Logo

Student Corner

पदयात्राः नगरकोटदेखि तेलकोटसम्म

Written by: Sambid Dhakal - 30028, Grade VI

Posted on: 15 March, 2024

माघ २६ गते म बिहानैदेखि निकै उत्साहित  थिएँ किनभने  मेरो स्कुलमा त्यस दिन पदयात्रा थियो । नगरकोटदेखि तेलकोट हुँदै चाँगुनारायणसम्म हिँड्दै गरिने घुमघाम कस्तो हुन्छ हाेला भन्ने मेरो दिमागमा घुमिरहेको थियो । त्यो दिन मैले घरबाट विभिन्न चकलेट र केही खाजा लगेको थिएँ । विद्यालय पुग्ने बेला पनि मेरो दिमागमा एउटै कुरा घुमिरह्यो। जब म स्कुल पुगेँ, मेरा सबै साथीहरू तयार भइसकेका थिए । ९:३० मा हामी खाजा खान गयौँ ।त्यहाँ पनि हामी सबैजना पदयात्राकै कुरा गरिरहेका थियौँ । हामी छिटै खाना खाइसकेर १०ः०० बजे लाइनमा बस्यौँ । बस १०ः२५ मा आइपुग्यो । सिफलबाट हाम्रो यात्रा सुरु भयो । विमानस्थल छेउबाट नेपाल आउने र जाने विमान हेर्दै नगरकोट गयौँ । बसमा हामी सबै नगरकोटको कुरा गरिरहेका थियौँ । बाटोमा देखिएका रमणीय दृश्यहरूले हाम्रो मन तानिरहेको थियो । तेलकोट हाम्रा लागि नौलो थिएन । नगरकोट भने कोही गइसकेका थिए र कोही जान बाँकी थिए । बस नगरकोटको टुप्पोमा गएर रोकियो । नगरकोटको टुप्पोमाबाट हाम्रो पदयात्रा सुरु भयो । हामीले उत्साहका साथ पदयात्रा सुरु गर्यौं । म मेरा साथीहरू र शिक्षकहरूसँग पहिलो लाइनमा हिँडेकाे थिएँ। म अगाडिअगाडि  उत्साहका हिँडिरहेको थिएँ ।  मेरो साथमा ५५ जना विद्यार्थी र दुई शिक्षक हामीसँगै आउनुभएको थियो । हामी जङ्गलमा होइन बाटोमा हिँडिरहेका थियौँ त्यसैले मलाई यो पदयात्रा अरु बेला हुने पदयात्रा भन्दा निकै नै भिन्न लागिरहेको थियो । हामीले शिक्षकसँग कैयौँ ठाउँमा फोटो खिच्यौँ । हामीलाई अलिकति छिटो नै हिँड्नु थियो किनभने हामीलाई चाँगुनारायण पनि जानु थियो। तर चाँगुनारायण जाने सपना सपनामै सीमित रह्यो । हामीले एक ठाउँमा सेतासेता सुन्दर चरा देख्यौँ । त्यो देखेर साथीहरू सबै फोटो खिच्न र  शिक्षक पनि फोटो खिच्न थाल्नुभयो ।  साँच्चै नगरकोट  सुनेबुझे जस्तै सफा, स्वच्छ र  अति नै सुन्दर थियो । हामी उचाइको रोडमा हिँडिरहेका थियौँ  त्यसैले त तिर  साँखुमा अवस्थित महालक्ष्मीको सुन्दर मन्दिर देख्यौँ । त्यसलाई हामीले पहिलाको पदयात्रामा पनि देखिसकेका थियौँ । समयको कमीका कारण हामी चाँगुनारायण जान असफल भयाैँ । चाँगुनारायणबाट तेलकोटको बाटो ७ किलोमिटरको हो। हामीले १६ मिनेटमै एक किलोमिटर हिँडिसकेका थियौँ । तर पछि के भयो थाहा नै भएन । हामीलाई एक किलोमिटर पूरा गर्न पनि  मुस्किलले ४५ मिनेट लाग्यो । हामीले एक ठाउँमा पानीको धारा देख्यौँ । हामीले मुख धोएर यात्रा जारी राख्यौँ । हामीले बाटोमा विभिन्न जनावरहरूलाई मेस्सी, रोनाल्डो, हल्यान्ड र एमबाप्पे भनिरहेका थियौँ । त्यसाेभन्दा हामीलाई मज्जा आइरहेको थियो ।अब हामी टेलकोट नजिकै थियौँ । लगातार यो पटक धेरै नै हिँडेको हुनाले हामी थकित भयौँ । हामीलाई हिँड्ने आँटै आएन । हामी त्यहाँ केही समय बस्याैँ र फेरि पदयात्रा जारी राख्यौँ । हामी रोडै रोड नगरकोटको डाँडापाखा र  हिमालको रमणीय दृश्य हेर्दै हिँडिरहेका थियौँ । हामीले फेरि साइन बोर्ड हेर्दा थाहा पायौँ, तेलकोट पुग्न अब मात्र एक किलोमिटर थियो । हामी थाकेर चुर भइसकेका थियौँ । अन्तत बिस्तारै हामी हिँड्दै हिँड्दै तेलकोट पुग्यौँ । नगरकोटलाई हेर्ने हो भने र तेलकोटलाई हेर्ने हो भने तेलकोटमा धेरै बजारहरू थिए । साथीहरूले खाजाका लागि केही खानेकुराहरू किने। निष्कर्ष के भयो भने, अब हामी चाँगुनारायण जान भ्याउँदैनौँ । त्यसैले हाम्रा शिक्षकहरूले हामीलाई  तेलकोटमाथिको जंगलमा रहेको एउटा ठाउँमा खाना खुवाउन लाग्नुभयो। हामी आफ्नो अनुभव सुनाउँदै आफ्ना मिठा परिकार  बाँडीचुडी खायौँ । खाना खाएपछि हामी जङ्गलबाट झर्यौँ । त्यहाँ हाम्रो विद्यालयको गाडी हामीलाई लिन आइसकेको थियो । हामी गाडीमा चढ्यौँ र फरक बाटोबाट घुम्दै फिर्दै अन्त्यमा एयरपोर्ट नै पछाडिको बाटो मित्रपार्क पुग्यौँ र मित्र पार्कबाट सिफल पुग्यौँ । जहाँ हाम्रो विद्यालय थियो । त्यस दिनको  पदयात्रा निकै नै रमाइलो भएको थियो । अविस्मरणीय र आश्चर्यजनक भएको थियो ।