Logo

Student Corner

भ्रष्टाचार

Written by: Prinsa Shrestha - 25016, Grade XI

Posted on: 14 March, 2024

भ्रष्टाचार दुई शब्द भ्रष्ट र आचारले बनेको शब्द हो । भ्रष्टाचारको अर्थ राम्रो आचार नभएको वा खस्किएको कारोबार हो । भ्रष्टाचार नेपालमा एउटा व्याप्त रहेको सरुवा रोग जस्तै हो । अहिले नेपाल जस्तो मुलुकमा भ्रष्टाचार एकदमै गम्भीर चुनौतीको रुपमा बढ्दै गएको छ । भ्रष्टाचारका कारणले गर्दा नै राष्ट्र र जनता पीडित भएका छन् । भ्रष्टाचारका कारणले गर्दा नै राष्ट्र पीडित भएको र गरिब जनताहरू झन् पीडित हुँदै गएका छन् । देशको विकास निर्माणका काममा पनि अवरोध हुँदै गएको छ । भ्रष्टाचारले गर्दा नै राष्ट्रको अस्मिता पनि धरापमा परेको देखिन्छ।  

भ्रष्टाचारलाई वृहत् नेपाली शब्दकोषले दूषित मर्यादाको रुपमा व्याख्या गरेको छ । कानुनविरुद्ध घुस खाई पक्षपातपूर्ण निर्णय लिने, भ्रष्ट मनसाय वा घुसखोरीको काम आदि भ्रष्टाचारमा पर्छन् । अहिलेको समयमा राजनीतिक क्षेत्रमा भ्रष्टाचारको सञ्जाल व्यापक रहेको छ। विभिन्न मुलुकहरूमा विभिन्न किसिमका संयन्त्रहरूको गठन गरिएको पनि देखिन्छ। सबैभन्दा बढी अहिलेको समयमा सार्वजनिक क्षेत्र भ्रष्टाचारको दलदलमा फसेको छ ।  नेपालमा पनि संवैधानिक निकायका रूपमा वि.सं २०४७ साल माघ २८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग गठन गरेर सार्वजनिक निकायमा व्यापक छानविन गर्दै अख्तियार दुरुपयोग रोक्ने प्रति प्रयत्न गरिएको थियो ।  नागरिक, कर्मचारी, सरकारी तथा गैरसरकारी संघ संस्था भ्रष्टाचार विरुद्धका निकायहरू एकजुट भएर भ्रष्टाचार विरुद्धको अभियानमा लागिपरेर मुलुकबाट भ्रष्टाचार उन्मूलन गर्न सक्छन् । भ्रष्टाचार नियन्त्रणका लागि आम नागरिकहरूको पनि महत्वपूर्ण भूमिका रहेको हुन्छ । भ्रष्टाचार रोक्नका लागि नागरिकले सूचनाको हक प्रयोग गर्न सक्छन् । यस हकले कुनै पनि सार्वजनिक संस्थाले गरेको काम कारबाहीको बारेमा जानकारी सार्वजनिक गर्ने व्यवस्था गर्दछ । जसले  गर्दा अरु नागरिकहरू पनि भ्रष्टाचारका बारेमा सचेत हुँदै जान्छन्।

 भ्रष्टाचार नियन्त्रण गर्ने अरु विभिन्न तौरतरिका छन् । भ्रष्टाचार नियन्त्रण गर्नका लागि सरकारले भ्रष्टाचारीलाई कारवाही गरेर कडा भन्दा कडा सजाय दिनुपर्छ । कुनै पनि मानिसले भ्रष्टचारविरुद्ध केही पनि राम्रो काम गरेमा उसलाई सम्मान दिने, इनाम दिने र प्रोत्साहन गर्ने गर्नुपर्छ ।  यसो गरेमा त्यो मानिसको पनि आफूमा आत्मविश्वास बढ्छ र उसलाई आफूमा गर्व हुन्छ । आफूले राम्रो काम गरेकोमा ऊ खुसी भएर अझै पनि यस्तै राम्रा काम गर्दै जान्छ।  त्यस व्यक्तिलाई राम्रा काम गरेकोमा प्रशंसा गर्नुपर्छ र अझै यस्तै कामहरूमा निरन्तरता दिलाउनुपर्छ । यति मात्र होइन राजनीतिबाट पनि भ्रष्टाचार विरुद्ध कलम चलाउनुपर्छ । राजनीतिले त हो नि भ्रष्टाचारलाई रोक्न सक्ने । भ्रष्टाचारको लडाईका लागि सरकारको प्रयत्नले मात्र होइन जनताहरूको हात पनि हुनुपर्छ। राष्ट्रिय निकायहरूमा कानुनको बलियो संरचनाको पनि आवश्यक छ । समाजमा भ्रष्टाचार प्रति घृणाको भावना पैदा हुँदै जानुपर्छ । भ्रष्टाचारीलाई सजाय दिएर सामाजिक र सांस्कृतिक हिसाबले बहिष्कार गर्न सक्ने हाम्रो सरकार हुनुपर्छ ।

अहिलेको समयमा त झन् भ्रष्टाचार नियन्त्रणमा युवा वर्गहरूको एकदमै ठुलो भूमिका रहेको छ । युवा भनेको मानव जीवनमा अत्याधिक जोस, जाँगर, उत्साह, शक्ति भएको एउटा उमेर समूह हो । परिवर्तनका लागि नयाँ सोच, उर्जा, चेतना, मौलिकता तथा प्रष्ट स्वभाव आदि अनेकौँ तत्वहरू युवावर्गमा छन् । युवाहरू देशका मागी हुन् भने देशका मणिलाई वैदेशिनु नपर्ने वातावरण सिर्जना गर्नुपर्छ । युवाहरूले आफ्नो माग र आवश्यकतालाई सरकार समक्ष लैजान आवश्यक छ। युवाहरूले अरू क्षेत्रहरू मात्र होइन, राजनीतिक क्षेत्रमा पनि ध्यान दिनुपर्छ । राजनीतिलाई पनि अरू क्षेत्रहरू झैँ महत्वपूर्ण मान्ने र भ्रष्टाचार नियन्त्रण गर्न हो भने देशको विकास हुँदै जान्छ जनताहरू पनि सुखसुविधामा बस्न सक्छन् ।