Written by: Siddhartha Pandey - 24056, Grade XII
Posted on: 13 March, 2024
उज्यालाेको तल उभिन सकिनँ
मृत्युबाट टाडिन सकिनँ
उमेर नपुग्दै, विवाह होला जस्तो छ हाम्रो
चाहना नफुल्दै, बन्धन यो गाँसिदै छ किन ।
कुदेर पसल जान नमान्ने
प्रकृतिसँग रम्न नमान्ने
आज हो कि भोलि अब
कालो धुँवा बनेर हराउने भएँ ।
तिमीसँग न हुन पाएँ
न घर बसाएँ न मन नै बसाएँ
अँगाली राख्छु भनेको
यो भविष्य रहदै नरहेको ।
आमैको हातमा हात राखेर
भित्तामा देख्छु सारा संसार तर
उज्यालाेको तल उभिन सकिन
मृत्युबाट टाडिन सकिन ।
कहाँ जाने छु थाहा छैन
यहाँ आएकै किन थिए ? दु:ख पिउन ?
मोहको संसार हैन मायाको जाल भयो मलाई
आशा दिएर भगाइदै छ जसलाई।
प्रेम क्षणिक हुन्छ भन्थे
रोगले किन छोडेन मलाई
घृणा अमर हुन्छ भन्थे
रोगले किन छोडेन मलाई ।
अध्याराेलाई अँगाल्न जादै छु
उनले बोलाएकी छन् मलाई
परलोक हो कि मेरो वियोग अब
कोही भनिदेऊ नडराई ।
स्मरण गर्दै ती छोटा दिनहरू
यो अफसोस पनि भयो विहिन
उज्यालाेको तल उभिन सकिनँ
मृत्युबाट टाडिन सकिनँ ।
टाडिन सकिनँ ।
सकिनँ ।