Logo

Student Corner

जलवायु परिवर्तन

Written by: Sana Shrestha - 25056, Grade XI

Posted on: 05 March, 2024

जलवायु परिवर्तनले औसत जलवायुमा देखिने अल्पकालीन फेरबदल भन्ने जनाउँछ।  यसलाई विश्वव्यापी रुपमा माैसमकाे लामाे अन्तरालमा आउने परिवर्तन भनेर पनि बुझ्न सकिन्छ । जलवायु प्राकृतिक रुपमा परिवर्तनशील नै छ तर जलवायु परिवर्तन चाहि ग्लाेबल वार्मिङ्गकाे कारणले हुने गर्छ । यसको मुख्य कारण मानवीय गतिविधि नै हाे जसले वायुमण्डलको संरचनामा ठुलाे परिवर्तन ल्याएको छ ।  यसले मानवहरूको स्वास्थ्य र सामाजिक पक्षमा प्रभाव गर्छ ।

जलवायु परिवर्तन पृथ्वीको प्राकृतिक प्रक्रियाभित्र पर्ने एउटा गतिविधि हो । पृथ्वीमा सौर्य विकिरणबाट तापशक्ति प्राप्त हुन्छ र त्यही विकिरणका कारण पृथ्वीको वायुमण्डलको तापक्रम सन्तुलन रहन्छ। पृथ्वीले सूर्यबाट जति सौर्य विकिरण प्राप्त गर्छ त्यति नै विकिरण अन्तरीक्षमा फिर्ता पठाउँछ, जसले गर्दा पृथ्वीको वायुमण्डलको तापक्रम स्थिर रहन्छ तर कुनै कारणले गर्दा विकिरणको लेनदेनमा घटबढ भएर पृथ्वीको वायुमण्डलको तापक्रम घटबढ भयाे भने जलवायुमा परिवर्तन आउन सुरु हुन्छ । विषालु ग्यास दिन प्रतिदिन वायुमण्डलमा बढ्दै गइरहेको छ र विकिरणहरू वायुमण्डलमै रोकिनाले पृथ्वीको तापक्रम बढ्दै जान्छ । पृथ्वीमा भएको जनसङ्ख्या बृद्धिले ल्याएका नकारात्मक असरका कारण पृथ्वीमा जलवायु परिवर्तन भएको तथ्य वैज्ञानिकहरूले भनेका छन् । जलवायुमा आएको यस्तो अस्वाभाविक परिवर्तनका कारण सामाजिक, आर्थिक र विकासका संरचनामा नकारात्मक असर पुगेको छ ।  

जलवायु परिवर्तनले नेपालको जटिल भूभागलाई पनि प्रभावित गरेकाे छ । उदाहरणका लागि जलवायु परिवर्तनले गर्मी र जाडाेको प्रभाव बढ्छ, जसले गर्दा खेती र बाढीको सङ्केत पनि निर्माण हुने गर्छ । अनि यसले गर्दा खाद्य सुरक्षा र समुदायको जीवनशैलीमा पनि परिवर्तन आउँछ । त्यसैगरी जलवायु परिवर्तनले नेपालको पर्यटन उद्योग र वन्यजन्तुहरूको जीवनस्तरलाई पनि प्रभावित गर्छ । यस्ताे परिवर्तनले जलवायुबाट उत्पन्न हुने प्राकृतिक प्रकाेप पनि बढाउने गर्छ । यसले जटिल तथा खतरनाक मौसमका घटनाहरू, जैविक विविधताकाे नाश, स्वास्थ्यमा जोखिम अवस्था बढ्ने जस्ता डरलाग्दा घटनाहरू निम्त्याउछ। विश्वमा जलवायु परिवर्तनले हिमाली भेग, मानव जीवन, सामाजिक र आर्थिक विकास, जैविक विविधता, पर्यटकीय विकास आदि विभिन्न क्षेत्रहरूमा नकारात्मक असर पुर्‍याउन थालेको छ । उच्च तथा चिसो स्थानको तापक्रम बढ्नाले रोग फैलिने क्रम बढ्दै गएको छ । त्यसैगरी धेरै रोगको फैलावट अनि कृषि उत्पादन प्रक्रियामा परिवर्तन जसले गर्दा उत्पादनमा नास आदि कारणले भोकमारी हुने भएकाेले बसाई सराईकाे अनुमान मानिसहरूले गरिसकेका छन्। त्यति मात्र नभई वर्षाको र तापक्रममा आएको परिवर्तनले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरोजस्ता ठूला घटनाहरू बढ्दै गएका छन् । पहाडी भागमा बाढी पहिरो जानका साथसाथै पानी सुक्दै जान थालेका छन् भने तराई भागमा पानीको मात्रा पनि घट्दै गएको छ । यसैगरी तापक्रमको वृद्धिसँगै झिँगा तथा लामखुट्टेको पनि वृद्धि भएर विभिन्न राेग जस्तै मलेरिया, जन्डिस, डेङ्गु जस्ता रोग बढ्नाका साथै कृषि तथा पशुपालन क्षेत्रमा पनि नयाँ रोगको आगमनले नकारात्मक असर पारेको छ । जलवायु परिवर्तनले समाज, अर्थव्यवस्था र पारिस्थितिक प्रणालीलाई असर गर्न सक्छ ।

यदि यसरी नै जलवायुमा परिवर्तन भइरह्याे भने हिमाल र नदीनालाहरू सङ्कटमा पर्ने सक्छ। त्यसो भयो भने हामीले निकै ठूलो सङ्कटको सामना गर्नुपर्ने छ । हाम्रो मुलुकमा रहेका हिमशृङ्खला पग्लिने क्रमसँगै पर्वतारोहणका कारण ती शृङ्खलामा फोहोरमैला र प्रदूषण बढेको छ जसलाई हामीले व्यवस्थित गर्नुपर्छ । हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रयासको खाँचो देखिएको छ । हामीले फोहोरको मात्रा घटाउनका लागि स्रोतकाे उचित उपयोगलाई बढावा दिन महत्त्वपूर्ण छ । धेरै मात्रा वा एकचाेटि मात्रै प्रयोगमा आउने सामग्रीहरू किन्नु हुँदैन। हवाई उडान कम गर्नुपर्छ, पेट्रोल तथा डिजेलको गाडीभन्दा बिजुलीबाट चल्ने गाडीको प्रयोग गर्नुपर्छ । इन्धन प्रयोग हुने गाडीहरूमाथिको उच्च निर्भरता घटाउनुपर्छ । यस्ताे नगरेमा जलवायु परिवर्तनले सम्पूर्ण मानव समुदायलाई प्रभावित गर्छ । 

वास्तवमा जलवायु परिवर्तन विश्वकै साझा समस्या हाे । यसका लागि विश्व नै एकजुट भएर लाग्नु आजकाे आवश्यकता हाे ।