Logo

Student Corner

उद्यमशीलता: आर्थिक समृद्धिको आधार

Written by: Sampada Poudel - 25018, Grade XI

Posted on: 28 February, 2024

कुनै पनि वस्तु, सुविधा, कला आदि जस्ता मूल्यवान् कुराहरूलाई प्रविधि र नौला योजनाहरूलाई व्यवसायीकरण गर्नु उद्यमशीलता हो । उद्यमशीलता केवल व्यवसायीकरणसम्म मात्र सीमित छैन ।  यो त एक सृजनात्मक प्रक्रिया हो, जसले सम्भावना र अवसरहरूलाई पहिचान गर्दै त्यसलाई सबल सुविधा वा मूल्यवान् वस्तुमा रूपान्तरण गरेर ग्राहक र सर्वसाधारणको आवश्यकता पूरा गर्दछ ।  यसका अतिरिक्त यो एक कुशल प्रक्रिया पनि हो, जसमा विभिन्न सीपहरू आवश्यक पर्दछ ।  सञ्चार, व्यवस्थापन, उत्तम नेतृत्व, आलोचनात्मक, विश्लेषणात्मक र रचनात्मक सोच, जिज्ञासा, निर्णायकता र प्रविधि  क्षमता आदि एक सफल र गुणवान् उद्यमीका गुणहरू  हुन् ।  उद्यमशीलता क्षमता हो, जसले कुनै पनि उद्योग र व्यवसायको रूपरेखालाई लाभ वा घाटामा परिणत गर्दछ ।  यसरी नै यस्ताे विशेष क्षमताले समाज र राष्ट्रको पनि विकासको गतिमा  फरक ल्याउन सक्छ । 

विकास भनेको एक सकारात्मक परिवर्तन हो ।  यसले भौतिक, आर्थिक, वातावरणीय, र सामाजिक विषयमा प्रगति ल्याउँछ ।  विकासका भिन्न  पक्षहरू पनि  समाज, राजनीतिक वातावरण नै हुन् ।  जसमध्ये महत्त्वपूर्ण ठहरिएको एक पक्ष आर्थिक पक्ष पनि हो ।  हरेक देशको आर्थिक पक्षको वृद्धिका  लागि उद्यमशीलता प्रभावकारी मध्यम हो  । 

उद्यमशील गतिविधिहरूले नयाँ व्यवसायहरूको स्थापना गर्दछ।  फलस्वरूप भिन्न रोजगारका अवसरहरू सिर्जना हुने गर्दछ।  कुनै पनि उद्योगको सुरुवात हुँदा विभिन्न स्तरमा आफ्ना क्षमताले योगदान दिने कर्मचारीहरूको आवश्यकता हुन्छ ।  यही आवश्यकता पूर्तिका कर्ममा समग्र रोजगार स्तरहरूमा  योगदान पुग्छ र रोजगारीको दर घट्छ । यसरी नै सफल उद्यमशीलताले उद्योग र व्यवसायको आम्दानी र धनको वृद्धि गर्छ । व्यवसायहरू बढ्दै जाँदा र नाफामा पुग्दा त्यो फाइदा त्यस  व्यवसायको सम्पूर्ण जनशक्तिसम्म पुग्छ ।  जसले गर्दा त्यस व्यवसायमा संलग्न हुनेलाई आर्थिक लाभ हुँदै देशको अर्थतन्त्र पनि बलियो बन्छ । जसका  कारण राष्ट्रको चौतर्फी विकासलाई पनि सहयोग र प्रोत्साहन पुग्छ ।  उद्यमी र उनीहरूको व्यवसाय अधिक लाभदायक भएपछि उनीहरू आफ्नो आम्दानीमा कर तिर्छन्,  जसले सरकारको कर राजस्व बढाउन योगदान पुग्छ । परिणामस्वरूप सार्वजनिक सेवाहरू, पूर्वाधार विकास र अन्य विकासका गतिविधिहरू सञ्चालनमा सहयोग पुग्छ र देश विकासका मार्गमा लम्किन्छ।  

सानादेखि ठुला-ठुला स्तरमा सकारात्मक प्रभाव ल्याउनु उद्यमशीलताको विशेषता हो ।  उदाहरणको लागि नेपाल एक बहुजातीय, बहुधार्मिक र भिन्न समुदयाहरुको साझा घर हो ।  यहाँ बसोबास गर्ने हरेक समुदायको आफ्नै मौलिक सिप, चलन, कला र क्षमता छ ।  यदि यसरी  नखुलेका मौलिकतालाई पहिचान र सही प्रदर्शन  मात्र गर्ने हो भने स-साना स्तरका व्यवसायले पनि फस्टाउने मौका पाउँछन् । यसरी नै साना-साना गल्लीहरू पनि सम्पन्न हुँदै जान्छन् जसले अन्त्यमा पुरै देशलाई सम्पन्न बनाउँछ ।

यति मात्र  नभई उद्यमशीलताले कुनै पनि देशको अरू देशप्रतिको निर्भरतालाई पनि कम गरी अन्तर्राष्ट्रिय व्यापारमा सन्तुलन ल्याउँछ । कतिपय  देशहरूमा, अव्यवस्थित वा असन्तुलित वैदेशिक व्यापारको ठुलो समस्या छ। आयात निर्यात वा उल्टो निर्यात आयात भन्दा धेरै छ तर आफ्नै नागरिकका लागि पनि सामान उत्पादन गर्न नसक्ने अवस्थामा समस्या एक मात्र देखिन्छ ।  देशमा उद्यमशीलता विकासको अभाव  देशले आफ्नो क्षमता पहिचान गरी जनताको आवश्यकतालाई सम्बोधन गर्ने उत्पादन र सेवाहरू सिर्जना गर्न सकेमा विदेशबाट आउने समान, वस्तु तथा सेवाको आयात ह्वात्तै घट्छ । यसले देशलाई आत्मनिर्भर बनाउँछ।  यति मात्र हैन यदि उत्पादित सेवा र सुविधाको दिगो विकास हुने हो भने देशले आफ्ना सेवाहरू अन्य देशहरूमा निर्यात गर्ने अवसर पनि सिर्जना गर्न सक्छ । यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँछ र अन्तर्राष्ट्रिय समुदायमा सम्मान कमाउन पनि सहयोग गर्छ । यो तब मात्र सम्भव छ, देशले उद्यमशीलता सिपको राम्रो याेजना, कार्यान्वयनमा सही काम गर्छ । 

अन्त्यमा नौला विचारहरूले उत्कृष्ट व्यवसायहरूलाई जन्माउने हो त्यसैले कुनै पनि जोसिलो विचार र सम्भावनालाई प्रोत्साहन गर्ने देशको जिम्मेवारी हो । उद्यमशीलता विकासका लागि पहिलो कदम त्यसको बारेमा जानकारी उपलब्ध हुनुपर्छ।  विद्यालयहरूमा विद्यार्थीहरूलाई उद्यमशीलताको बारेमा राम्रो शिक्षा दिएमा पछि देशभरि नै ठुला व्यवसायहरू स्थापित हुन्छन्, जसले नागरिकहरूलाई रोजगार दिन्छ र देशको उन्नति र प्रगति हुन्छ । सरकारले व्यवसाय दर्ता, इजाजत पत्र, जस्ता कानुनी प्रक्रियालाई सरल बनाएमा पनि उद्यमशीलतालाई प्रोत्साहन गर्न सकिन्छ ।  समग्रमा, समाज र सरकारको संयुक्त प्रयासले उद्यमशीलतालाई  जुनसुकै देशमा सजिलैसँग विकास गर्न सकिन्छ।