Logo

Student Corner

डियरवाक ड्रामा नाइट

Written by: Aaniya Poudel - 27002, Grade IX

Posted on: 28 February, 2024

हाम्रो विद्यालय डियरवाक सिफल स्कुलले वार्षिक रूपमा ड्रामा नाइट आयोजना गर्ने गर्छ । ड्रामा नाइटमा कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूले भाग लिन पाउँछन् । भाग लिएका विद्यार्थीहरूमध्ये पनि केही विद्यार्थीहरू मात्र ड्रामाका लागि छानिन्छन् । यसरी छानिएपछि ती विद्यार्थीहरूले मञ्चमा आफ्नो कला देखाउने अवसर प्राप्त गर्छन् । यो विद्यार्थीहरूका लागि आफ्नो कला देखाउने एउटा राम्राे अवसर हाे।  धेरै विद्यार्थीहरूमाझ छानिनु आफैमा एउटा ठुलाे परीक्षा नै हाे ।  

यही ड्रामा नाइटको अवसर प्राप्त गर्नेमध्ये भाग्य र मेरो कलाले गर्दा म पनि यसपटक छनाेटमा पर्न  सफल भएँ । ड्रामा नाइट साे का लागि हाम्रो परीक्षापछि जाडो बिदाको सुरुवातदेखि तयारी गर्ने कुरो थियो । हाम्रो जाडो बिदा  सुरु भयो र साथै हाम्रो तयारी पनि सुरु भयो । हामीले ड्रामा नाइटकाे ताेकिएकाे मितिभन्दा दुईतीन हप्ता अगाडिदेखि तयारी सुरु गर्यौँ । सुरुमा जाडो बिदाको बेलामा पनि आउनुपर्छ भनेर गाह्रो लागिरहेको थियो । तर जसरी तयारी सुरु हुँदै गयो यो गाह्रो हट्दै गयो हामीलाई सबैसँग भेट्न पाइन्छ भनेर र तयारी गरे ड्रामा राम्रो हुन्छ भनेर हामी आउन थाल्याैँ । हामीसँग समय थोरै  भएकाले हामीले थोरै समयमा धेरै कुरा  सकाउनु थियो । हाम्रो जाडो बिदा एक हप्ता मात्रै  थियो । र हामी दिनदिनै स्कुल आउन थाल्याैँ । स्कुल आउँदाको अनुभव र तयारी गर्दाको अनुभव छुट्टै रमाइलो थियो। जाडो बिदा सकिन थोरै समय बाँकी थियो र हामीले गर्नुपर्ने काम भने धेरै थियो हामी बिस्तारै बिस्तारै सबै कुरा मिलाएर काम गरिरहेका थियौँ । हाम्रो ड्रामाको लागि लाग्ने सामग्री पनि हामी जुटाउँदै गइरहेका थियौँ। हामीले यसलाई अझै कसरी राम्रो गराउन सक्छौँ भनेर नि विचार गरिरहेका थियौँ । बिस्तारै बिस्तारै ड्रामा अगाडि बढ्दा समय  हामीसँग थोरै भएको अनुभव हुन्थ्यो । कहिलेकाहीँ ड्रामा टाइममा सकिएला त भन्ने  प्रश्न पनि मनमा आउँथ्यो । हामी सबै गर्न सक्छौँ भने भावनाले अगाडि बढिरहेका थियौँ।

हाम्रो जाडो बिदा पनि सकियो । तर हाम्रो ड्रामा सम्पूर्ण रूपमा नबनेको हुनाले हामीले बिहान ७ बजे आउने ९ बजे स्कुल जाने र स्कुलपछि फेरि ५ बजेसम्म तयारी गर्ने भनेर फैसला गर्यौँ । हाम्रो स्कुल सुरु भयाे । नियमित पठनपाठनकाे काम पनि हुने नै भयाे । हामी बिहान छिट्टै उठेर स्कुल पुग्थ्यौँ र त्यहाँ ९ बजेसम्म तयारी गर्थ्यौं । बिचमा राजन गुरुले खाजा खाने समय पनि दिनुहुन्थ्यो । ९ बजेपछि हामी कक्षा कोठामा जान्थ्यौँ । 

बेलुका ४ बजे हामी सबैजना एक ठाउँमा भेला भएर तयारी गर्न जान्थ्याैँ । यस ड्रामा नाइटमा  चार, पाँच, छ र सात कक्षाका भाइबहिनीहरू पनि थिए । उनीहरू टाढा टाढाबाट आउँथे । हामी दिनदिनै त्यही समयमा पुगेर तयारी गर्न थाल्यौँ बिस्तारै बिस्तारै हाम्रो ड्रामा पनि पूर्ण हुन लाग्यो । मञ्चमा जानुभन्दा ठिक अघिल्लो दिन हामीले पुरै दिन तयारी गर्यौँ । त्यो दिन हामीले ड्रामा दुईचोटि गर्नुपर्छ भनेर थाहा पायौँ । मञ्चमा गएर आफ्नाे अभिनय पस्किने दिन आयाे । त्यस दिन हामी बिहान ७ बजे नै आइपुगेका थियौँ । त्यस दिन खाना र खाजा दुईटै हामीलाई स्कुलले दिएको थियो । हाम्रो पहिलो १२ः ३०मा सुरु भयाे र  १ः ३० मा सकियाे । हाम्राे पहिलाे सो सकिने बित्तिकै हामी खाजा खान तल आयाैँ । खाजा खाइरहँदा हामीले अभिभावकहरू आइरहनुभएको देख्यौँ । यो देखेर हामी खुसी भयौँ । सो सुरु हुनतर्फ लाग्यो हामीले पुरा आत्मविश्वास र जोशका साथ त्यो साे देखायाैँ । अभिभावकको तालीको आवाज सुन्दा हामी सबैलाई खुसी लाग्याे र हामी सबैजना मञ्चमा आयौँ ।

दाेस्राे साे ३ बजदेखि सुरु भयाे र ४ बजे सकियाे । सबै अभिभावकहरूले हाम्रो प्रशंसा गर्नुभयो। उहाँहरूले आफ्नाे मनमा लागेको कुरा हामीसामु व्यक्त गर्नुभयो उहाँहरूको त्यो भावना देखेर हामीलाई पनि खुसी लाग्यो। त्यस दिन हामीले आजसम्म गरेको मेहनत र परिश्रम साँच्चै नै सफल भएको जस्तो अनुभव भयो। सबै अभिभावकहरूले हाम्रो अभिनयले उहाँहरूको मन छोएको कुरा व्यक्त गर्नुभयो। यससँगै ड्रामा नाइट पनि सकियो।