Logo

Student Corner

नदीनाला

Written by: Neliya Pathak - 30066, Grade VI

Posted on: 21 February, 2024

नदी भनेको कुनै ठाउँबाट पानी निस्की बग्दै जाने प्रक्रिया हो । साना-ठुला खाेला र नदीहरूको समूहलाई नदीनाला भनिन्छ । नदी खोलोभन्दा ठुलो र समुद्रभन्दा सानो हुन्छ । महाकाली, कर्णाली, कोसी, गण्डकी नारायणी नेपालका ठुला नदी हुन् । समुद्र साह्रै ठुलाे हुने भएकाले अथाह हुन्छ । खोलो पनि वर्षा याममा मात्र धेरै उर्लन्छ । नदीकाे वेग र बगाई भने वर्षा नभए पनि सधैँ एकनासकाे रहन्छ । नेपाल भूपरिवेष्टित देश हो । यसैले पनि यहाँ नदीनालालाई काम लाग्ने र फलिफाप गर्ने स्रोतका रूपमा लिन सकिन्छ । नेपालमा ६०० भन्दा बढी नदीनालाहरू छन् । यी नदीनालाबाट प्रशस्त मात्रामा बिजुली निकाल्न सकिन्छ । नदी बगिरहेको हेर्दा साच्चै रमाइलो हुन्छ । यसको निलो र हरियो रङ्ग देखेर मक्ख नपर्ने कमै हुन्छन् । त्यसमाथि एकनासको बगाई र सुसाइ‌मा नदीले हृदयमा बेग्लै खालको आनन्द दिन्छ । नदीको बगाई सोझो र सिधा मात्र नभई नागबेली परेको हुन्छ । नदीनालाले देशको विकास निर्माणमा सधैभरि मद्दत गर्छन् । नदी बग्ने इलाका र नदी बगेको ठाँउ वरिपरिका जग्गामा बढी उब्जाउ हुन्छ । नदीले जमिनलाई मलिलो तुल्याउँछ । बालीनाली सपार्न, धर्ती हराभरा बनाउन र वातावरण सफा र स्वच्छ बनाउन सहयोग पुर्‍याउँछ। त्यसकारण हामीले हाम्राे  देशको प्राकृतिक सम्पदाका रूपमा रहेका नदीनालाकाे संरक्षण गर्नुपर्छ ।