Written by: Shabdika Nepal - 28029, Grade VIII
Posted on: 19 February, 2024
म एउटा एक वर्षीय बालक हुँ,
मलाई, के गर्ने, के नगर्ने
थाहा नै हुँदैन,
म, आफूभन्दा ठुलाले भनेको कुरा
कहिले मान्छु, कहिले मान्दिनँ,
म खान, पढ्न, लुगा लगाउन
केही पनि गर्न जान्दिनँ,
किनभने म एउटा सानो बालक हुँ,
तर म एउटा मानव हुँ ।
म एक किशोर हुँ,
मेरो मनमा अनेकौँ विचारहरू आउँछन्,
ती विचारहरू
राम्रा पनि हुन्छन् र नराम्रा पनि हुन्छन्,
मलाई राम्रा र नराम्रा कुराहरूबारे थुप्रै ज्ञान छ,
तर, ज्ञान भएता पनि म दुवै कामहरू गर्छु
नराम्रा कामहरू नचाहे पनि गर्छु
म एउटा मानव हुँ ।
म एउटा प्रौढ हुँ
म कहिलेकाहीँ अर्काको खुसीमा रमाउँछु,
कहिलेकाहीँ अर्काको खुसी देख्नै सक्दिनँ,
अर्काले गरेको प्रगति म आफैँ पनि गर्न चाहन्छु,
तर के भनुँ , कहिलेकाहीँ त
अरूको प्रगति नै नहोस् भनेर भन्छु ।
म, कसैको कुभलो चाहँदिन,
तर सबैको भलो पनि चाहँदिन,
किन हो कुन्नि ?
यस्तै भावहरू मेरो मनमा आउँछन्,
तर पनि,
म एउटा मानव हुँ।
म एक वृद्ध,
म सबैको भलो होस् भन्ने चाहन्छु,
म मेरा वरिपरीका मानिसहरू
सबै खुसी हुन् भन्ने चाहन्छु,
र यी सबै कुराहरू भन्दाभन्दै,
मेरो समय यस दुनियाँमा सक्किसकेको कुरा
थाहै पाइनँ।
हामी मानिसहरू,
सबै फरक-फरक प्रकृतिका हुन्छौँ,
कोही कस्ता हुन्छौँ भने, कोही कस्ता हुन्छौँ,
त्यसैले हामीलाई एक-अर्काबिच तुलना भने गर्नै मिल्दैन!
तुलना गर्दै बस्ने हो भने त्यसमै जिन्दगी गएको कुरा पत्तै पाउँदैनौँ।
हामी सबै छुट्टाछुट्टै मानिसहरू हौँ
तर
हामी मानव हौँ
हामी मानव हौँ।