Logo

Student Corner

दोलखा भीमसेन: एक परिचय

Written by: Srishad Shiwakoti - 27026, Grade IX

Posted on: 16 February, 2024

नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण देश हो । नेपालमा ७७ जिल्लाहरू छन् र सबैका आ-आफ्ना महत्त्व र परिचय छन् । तिनै जिल्लामध्ये, दोलखा पनि एक हो । जुन नेपालको उत्तर पूर्वमा अवस्थित छ । यो जिल्लाको पूर्वमा सोलुखुम्बु र पश्चिममा सिन्धुपाल्चोक जिल्ला रहेको छ । त्यस्तै यो जिल्लाको उत्तरमा तिब्बत पर्छ । दोलखा जिल्लामा धेरै सुन्दर हिमाल, पहाड, झरना, तालहरू छन् । प्राकृतिक सुन्दरता सँगसँगै यहाँ मन्दिर र पुराना वास्तुकलाहरू पनि हामीले देख्न सक्छौँ । दोलखाको मुख्य पर्यटकीय स्थलहरूमध्ये कालिन्चोक, जिरी, छो-रोल्पा हिमताल, गौरीशङ्कर हिमाल आदि हुन् । यसका साथसाथै दोलखाको पुरानो सहरमा अवस्थित प्रसिद्ध धार्मिकस्थल भीमसेन मन्दिर पनि दोलखाको परिचय हो ।

 

 

दोलखा जिल्लाको सबैभन्दा पुरानो, एतिहासिक तथा साँस्कृतिक र सुन्दरताले भरिपूर्ण दोलखा बजारमा यो मन्दिर अवस्थित छ । काठमाडौँबाट १३३ किलोमिटरको यात्रा गरेपछि हामी दोलखाको सदरमुकाम चरिकोट पुग्न सक्छौँ र  यो मन्दिर जान दोलखाको सदरमुकाम चरिकोटबाट करिब ४ किमी उत्तरतर्फ  लाग्नुपर्दछ । यो मन्दिरसम्म जान यातायातको राम्रो सुविधा छ र मन्दिरसम्म नै पक्की मोटर जाने बाटो छ । अहिले सबै ठाउँमा ठुला बजारहरू देख्न सकिन्छ तर पनि आम जनमानसमा दोलखा भन्ने बित्तिकै दोलखा बजारको याद आउँछ र यसको प्रमुख कारण त्यहाँ अवस्थित दोलखा भीमसेन हो । दोलखा भीमसेन मन्दिर परिसर नजिकबाट रोल्वालिङ हिमशृङ्खलासहित गौरीशङ्कर हिमालका दुई चुचुरा प्रस्टैसँग देख्न सकिन्छ । कोशीको मुख्य नदी  तामाकोशी पनि यहाँबाट नागबेलीझैंँ  दक्षिणतिर महाभारत पर्वत शृङ्खला छिचोल्दै बगिरहेको देख्न सकिन्छ । यहाँका स्थानीय बासिन्दाका अनुसार यो मन्दिर पाँच पाण्डवमध्येका दोस्रो भाइ भीमसेनले बर्षौसम्म तपस्या गरेर बसेको ठाउँ हो । यो मन्दिरमा धेरै पर्यटकहरू आउँछन्, अझ दशैँको बेला त खुट्टा टेक्ने ठाउँ पनि हुँदैन । खास गरी नेवार समुदायले अत्यन्तै मान्ने  र दर्शन गर्न आउने गर्छन् । यो मन्दिरको बारेमा मैले बच्चैदेखि मेरो हजुरआमाको मुखबाट सुन्दै आएको किंवदन्ती छ । उहाले भनेअनुसार धेरै पहिले भरियाहरू यो ठाउँमा थकाई मार्न बिश्राम गरेका थिए रे । त्यहाँ आगो बालेर खाना पकाउन चुलोको लागि  तिनीहरूले तीनओटा ढुङ्गा ल्याएछन् रे । तर एउटा ढुङ्गा चाहिँ जति गरे पनि सिधा भएनछ  । धेरै प्रयास गरेर पनि त्यो ढुङ्गा नअडिएपछि एक भरियाले त्यस ढुङ्गालाई भात पकाउने पन्युले हान्न खोजेछ । हान्दा खेर त्यो ढुङ्गाबाट रगत निस्केछ । पछि त्यो भरियाले क्षमा मागी त्यस दिनदेखि सो ढुङ्गालाई भगवानको रूपमा पुजा गर्न सुरु गरिएको थियो । त्यही तिनकुने आकारको ढुङ्गालाई हामीले अहिले भीमसेनको रूपमा पूजा गर्छौँ । यो मन्दिरको अर्को विशेषता भनेको यहाँ मन्दिरलाई कुनैपनि छाना र गजुरले ढाकिएको छैन । यहाँ एउटा नगडा भन्ने बाजा पनि छ जुन केटी मान्छेले छुन हुँदैन र विशेष अवसरमा मात्र पुरुषहरूले बजाउँछन् । यो मन्दिरमा बालाचतुर्दशीको दिन ठुलो मेला लाग्छ । त्यस्तै, नवरात्रीमा यहाँ विशेष पूजा हुन्छ र फूलपातीको  दिन  पञ्च बलि दिने चलन छ । 

 

 

यो मन्दिर रहस्यमय पनि छ । बेलाबेलामा मन्दिरभित्रको मूर्तिबाट पसिना झरिरहन्छ र त्यसरी पसिना आउनु भनेको देशमा कुनै नराम्रो घटना घट्ने सम्भावनाको सङ्केत हो भन्ने विश्वास गरिन्छ । वि.सं १९९० सालको महाभूकम्प, राजा त्रिभुवनको निधन, २०५८ दरबार हत्याकाण्ड, २०७२ सालको भूकम्प तथा २०७७ सालमा कोभिड्को महामारी आउनु पूर्व यो शिलामा पसिना आएको कुरा मैले पूर्वजबाट सुन्दै तथा देख्दै आएको हो । पसिना आएपछि क्षमापूजा गर्ने चलन छ । क्षमापूजाको दिन मानिसहरू टाढाटाढादेखि आएर रोइकराई गर्दै क्षमा पूजा गर्छन र पसिना सफा गरेको कपास मुख्य पूजारीले राष्ट्रप्रमुखकोमा लिएर आउने चलन छ ।

 

 

यो मन्दिरका धेरै गुणहरू भए पनि यस मन्दिरको एक विकृति छ । यो मन्दिरमा खसी, बोका, हाँस, कुखुरा आदिको बलि दिइन्छ । त्यसैले गर्दा यहाँ भुइँभरि रगत हुन्छ र मानिसहरू टेक्न पनि घिनाउँछन् । त्यसैले बलि दिने ठाउँ छुट्टै बनाउन आवश्यक छ । बलि दिने ठाउँ छुट्टै र पूजा गर्ने ठाउँ छुट्टै भए झन् राम्रो हुन्छ । त्यसो गर्नाले पर्यटक झन् बढ्ने सम्भावना देखिन्छ ।