Logo

Student Corner

यी चार दिन मेरा लागि चार वर्ष जत्तिकै यादगार बने !

Written by: Avishu Upreti - 25086, Grade XI

Posted on: 14 February, 2024

म कक्षा  पाँच पढ्थेँ । मेरो स्कुलले पहिलो पटक भ्रमणका लागि यसरी बाहिर लैजाँदै थियो । म र मेरा साथीहरू जानका लागि एकदम उत्सुक थियौँ तर भने जस्ताे केही पनि सजिलो हुँदैनरहेछ । सबैभन्दा गारो काम भनेको घरका सदस्यलाई राजी पार्नु रहेछ । जसोतसो गरी घरमा मैले कुरा मिलाएँ अब भ्रमण जाने बेला भयो ।

 

म भ्रमण जाने एक दिन अगाडिको कुरा हो । मैले चाहिने लुगाफाटो र सरसामग्री झोलामा हालेँ ।  म त्यो रात सोचेर बसिराथेँ । कस्तो हुन्छ होला, मेरो यो भ्रमण भनेर । त्यो रात म सुत्नै सकिनँ। तर भोलि सबेरै उठ्नुछ भनेर म यताउता फर्कँदै सुतेँ।

 

भोलि बिहान भएछ । म सूर्यको पहिलो किरणसँगै उठेँ । बिहान उठेपछि म मुख धोएर तयार भएँ । तयार भएर म आफ्नो स्कुलतिर लागेँ । हामी सबै स्कुलमा भेटेपछि पोखरा जाने कुरा थियो । हामी आफ्नो बसमा बस्यौँ अनि पोखराको यात्रा सुरु भयो । हामी काठमाडौँको मुख्य सडक हुँदै काठमाडौँ बाहिर निस्क्यौँ । हामीले बसबाट धेरै राम्रा दृश्य देख्याैँ । बस एकैपटक मुग्लिङगमा गएर राेकियाे । हामीले खाना खाएर एकछिन आराम गर्यौं ।

 

त्यहाँबाट हाम्रो गोर्खातिरको यात्रा सुरु भयो । हामी एकछिनको यात्रा पछि गोर्खा दरबार पुग्यौँ । गोर्खा दरबार पुगेपछि हामीले त्यहाँको इतिहास र त्यहाँका मन्दिरका बारेमा जानकारी लियाैँ । त्यहाँ सिक्नका साथै घुमघाम पनि भयो । गोर्खा दरबारमा रहेको राजाको खाट हेर्यौँ । त्यहाँ हामीले फोटोहरू खिच्याैँ । 

 

त्यसपछि हामी बसमा बसेर पोखराको यात्रा सुरु भयो । हामी बसमा नाच्दै गाउँदै पोखरा पुग्यौँ । छ बजेकाे थियाे होला हामी त्यहाँ पुग्दा । हामी त्यहाँ पुगेपछि आफ्नो झोला बोकेर होटेलको रूमतर्फ लाग्यौँ । रूममा पुगेपछि निकै आनन्द भयो । त्यहाँ पुगेपछि झोला राखेर पल्टियाैँ । एकछिन थकाई मारेर खाना खान गयौँ । खाना खाएपछि हामी सबै साथी मेरो रूममा भेट्यौँ । हामी रूममा तीन जना थियौ र कक्षा पाँचका जम्मा सात जना थियौँ। हामी सबैले त्यो रात मोनोपोली जस्ता गेम खेल्यौँ । त्यो रात मलाई अझैँ याद छ । हामीले गीत गायौँ । खेल्याैँ र  रमायौँ । त्यो दिन मलाई थाहा भयो साथी भए सबै कुरा रमाईलो हुँदो रहेछ । अरू दुई दिन बाँकी थियो पोखरामा । भोलि र पर्सि हामी त्यहाँका भ्रमण गर्ने ठाउँ घुम्ने थियाे । हामीले त्यहाँ चमेरो गुफा, महेन्द्र गुफा, फेवा तल, बेगनास ताल, शान्ति स्तुपा र एउटा सङ्ग्रहालय पनि घुम्यौँ । हामीले त्यहाँ मिठो मिठो खायौँ । 

 

याे रमाइलाे भ्रमण कसरी सकियाे मैले पत्ताे नै पाइनँ । घर फर्कने दिन पनि भइसकेकाे थियाे । हामी सबैले सामुहिक तस्बिर पनि लियाैँ अनि रमाइलाे गर्दै फर्कियाैँ ।

यी चार दिन मेरा लागि चार वर्ष जत्तिकै यादगार बने !