Logo

Student Corner

नेवारी चाडपर्व: म्ह:पूजा

Written by: Prinsa Shrestha - 25016, Grade XI

Posted on: 12 February, 2024

नेपाललाई सुन्दर फुलबारी भनिन्छ । त्यही फूलबारीभित्र अनेकौँ जातजाति, वेशभूषा, धर्म, संस्कृतिहरू छन् । यसैगरी नेपालमा पनि धेरै जातजाति छन् । तीमध्ये नेवारी जातिलाई नेपालको एउटा भाषिक समुदायको रुपमा चिनिन्छ। काठमाडौंलाई कलामा उचाइ ल्याउने नै नेवार जाति भनेर चिनिन्छ । नेवार जातिलाई नेपालभन्दा बाहिर पनि चिनिन्छ। नेवारहरू आफ्ना धर्म संस्कृतिका लागि धेरै चिनिन्छन् । फरकफरक खाले चाडपर्व भएको जात हो नेवार। म्ह पूजा, नेवाः समुदायको एक वर्ष प्रतीक्षा क्षण हो । नेपालको नेवार समुदायद्वारा गरिने एक वार्षिक अनुष्ठान हो जसको अर्थ आफ्नो पूजा गर्नु हो । म्ह पूजा र नेवारी नयाँ वर्ष एकै मितिमा हुन्छ।

नेपाली पात्रोअनुसार प्रत्येक वर्ष कार्तिक शुक्लपक्ष प्रतिपदाका दिन नेवार समुदायले राष्ट्रिय विभूति शंङ्खधर साख्वाःलाई सम्मान गर्छन् । उनको स्मृतिमा ऋणको मारमा परेका गरिब नेपाली जनताको सबै प्रकारका ऋण चुक्ता गरेको सम्झनामा नेपाल संवत्‌काे नयाँ वर्षको रूपमा मनाइन्छ। म्ह: पूजा यमपञ्चक तिहारको चौथो दिनमा पर्छ । म्ह: पूजा नेवारीहरूलाई धेरै महत्त्वपूर्ण चाड हो किनभने यो अनुष्ठान नयाँ वर्ष उत्सवको एक भागको रूपमा आत्माको शुद्धिकरण र सशक्तीकरणको लागि गरिन्छ। ‘न्हु:दया’ भनेर पनि यस दिनलाई चिनिन्छ। म्ह: शब्दको अर्थ शरीर हो, जसले परिवारमा बस्ने प्रत्येक व्यक्तिको गतिशील आशनलाई स्पष्ट रूपमा प्रतिनिधित्व गर्दछ । म्ह: पूजा भनेको परिवारका प्रत्येक सदस्यको पनि पूजा गर्नु हो अनि त्यो काम घरकी उच्च सक्रिय स्त्रीले गर्छिन्। म्ह: पूजा साँझ वा दिउँसो, कहीँ न कहीँ रातको समयमा गरिन्छ । काठमाडौँ उपत्यकाका तीन सहरका आगन्ड्य: (कुलकी देवी) र देवी तलेजु भवानीको म्हः पूजा उच्च नेवार पुजारीले सञ्चालन गरिसकेका छन् कि छैनन् भन्ने कुरा सुनिश्चित गर्नका लागि यो पर्व साँझतिर मनाइन्छ।

यस पालिको तिहारमा पनि हामीले म्ह:पूजा राम्ररी मनायौँ। म्ह:पूजाका लागि मण्डला आवश्यक छ र हामीले यसलाई भुइँको परिष्कृत सतहमा कोर्यौँ। प्रत्येक परिवारका सदस्यहरूका लागि यो बनाउनु आवश्यक छ। यो परिवारका ती सदस्यहरूको लागि पनि बनाउनुपर्छ जो क्षणिक रूपमा अनुपस्थित हुन्छन् । मण्डला सुकुन्डा र कुचोलाई पनि बनाइन्छ । हामीले मण्डलाहरू सबै नकुहिने चामलले सजायौँ लगभग पाँच वटा थुप्रोमा । यो विश्वास गरिन्छ कि यसले पाँच प्रमुख तत्त्वहरूको प्रतिनिधित्व गर्दछ। पृथ्वी, जल, अग्नि, वायु, तेजजस्ता तत्त्वहरू जसबाट मानव शरीरको गठन हुनु पर्दछ र जसमा यो समाप्त हुन्छ। हामीले मण्डलाहरूलाई गोलो आकारका रूपमा सुरु र अन्त्य गर्यौँ । ती मण्डलाहरूमाथि पातहरूको आवरण राख्यौँ र त्यसमाथि विभिन्न प्रकारका भेटीहरू पनि राख्यौँ । भेटीहरूजस्तै पिटेको चामल, पानी, क्वोखा जस्ता औपचारिक धागोहरू, फूलहरू, धूप, बत्तीका धागोहरू । त्यससँग फल कम्तिमा पनि पाँच प्रकार राख्यौँ। हाम्रो घरको सबैभन्दा जेठी महिला सदस्य अर्थात् परिवारको नकि:ले परिवारका प्रत्येक सदस्यको पूजा गर्नुभयो। सदस्यलाई पूजा गर्नुअघि पहिले सुकुन्डा र कुचोलाई पुज्नुभयो। अनि बल्ल त्यहाँ उनले पूजा गर्न पुरुषहरूबाट सुरु गर्नुभयो, त्यसपछि महिलाहरूमा घट्दो उमेरको क्रममा पूजा गर्नुभयो । त्यसपछि उनले परिवारका प्रत्येक सदस्यलाई टीका लगाइदिनुभयो र सबैलाई धागो, फूल, माला, मिठाइ र फलफूल चढाउन थाल्नुभयो। उनले परम्परागत कलश समातेकी थिइन् जुन कुछी भ्वेमा प्रयोग गरिन्छ, जहाँ उनले केही फूलहरू, मुटुमारी (स्वश्विको लागि विशेष रूपमा तयार पारिएको परम्परागत नेवारी पकवान) र अन्य साना सामग्रीहरू राख्नुभयो । त्यो कलशले एक एक जना गरी खुट्टा, काँध र टाउको छोएर हाम्रो टाउकोमा खन्याउनुभयो। यो गरिसकेपछि उनले प्रत्येक परिवारका सदस्यलाई सगुन स्वरुप (माछा, मासु, रक्सी) प्रदान गर्नुभयो, जुन भोजपछि परिवारका सदस्यहरूको लागि लामो जीवन र सौभाग्य सुनिश्चित गर्न पोषणको रूपमा लिइन्छ। पूजा सकिएपछि कुचोले त्यहाँ बनाइएका सबै मण्डलाहरूलाई बिगारिन्छ र कुचोलाई सुकुन्डासँगै लगेर राखिन्छ। यति गरेपछि म्ह:पूजा समाप्त हुन्छ। यसरी नै हाम्रो पनि म्ह:पूजा सकियो।


 

नेवार समुदायमा रीतिरिवाज र परम्पराअनुसार एउटै घरमा बस्ने परिवारका सबै सदस्य परिवारका ज्येष्ठ सदस्यबाट टीका ग्रहण गर्न एक ठाउँमा भेला हुन्छन् । त्यसपछि आफ्नै शरीरको पूजा गरेपछि सबैको सुस्वास्थ्य र दीर्घायुको कामनासहित आशीर्वाद लिन्छन् । विवाहित छोरीहरूले यो पूजा प्राय: जसो गर्दैनन् । मण्डलाको गोलाकारले पूर्णतालाई सङ्केत गर्दछ । मण्डला संसारको प्रतीक हो र फल र सगुन पृथ्वीले चढाएको प्रसादको प्रतीक हो। यसरी नै म्ह:पूजा नेवारहरूद्वारा समापन गरिन्छ ।