Logo

Student Corner

कल्पनाको संसार

Written by: Kritam Man Maharjan - 25033, Grade XI

Posted on: 06 February, 2024

के सबै सपना पूरा हुन्छन् ? के सबै सोचेका कुराहरू गर्न सकिन्छ त ? के कल्पना गर्नु नै नराम्रो हो ? कल्पना नगरी त बाँच्न पनि के रमाइलो हुन्थ्यो र ! मेरो विचारमा त सपना पूरा हुनु पनि भाग्यको एक खेल हो तर यो भन्दैमा सपना नदेख्ने त हैन नि । देखेका सबै सपनाहरू विपना त हुँदैनन् तर आशा भने चाँहि जहिले राखिरहनुपर्छ । मनमा सपना राख्नु भनेको अँध्यारो कोठामा दियो बाल्नुसरह हाे । आजभोली सबै युवाहरूको एक मात्र सपना हुन्छ, कक्षा १० सकेपछि साथीहरूसँग मनाङ्ग मुस्ताङजस्ता ठाउँहरूकाे यात्रा गर्नु र त्यो पनि बाइकमा । 

सायद मैले पनि मनाङ्ग जाने कल्पना नगरेको भए यो यात्रा यति रमाइलो हुने थिएन । यो अनुभव मेरो जीवनमा गरेको एक उत्कृष्ट अनुभव हो । जसमा मैले आफ्नो दाइ, दिदी र परिवारसँग मनाङ्गको यात्रा पूरा गरेको थिएँ । यस यात्रामा निकै रमाइलो गरेको छु । निकै रमाइलोका साथ आफ्नो परिवारसँग एउटा कल्पना गरेको ठाउँमा पुगे । तर साच्चै भन्नुपर्दा त्यहाँसम्म पुग्नु नै निकै कठिन थियो । गाडीमा काठमाडौंदेखि बेसिसहर र त्यहाँदेखि माथि हुम्लेसम्म जीपमा । बाटो त निकै बिग्रेको र बनाउने प्रक्रिया चलिरहेको थियो । “कठिन बाटोले नै सुन्दर गन्तव्यमा पुर्याउँछ।”  यस यात्रामा मैले निकै नै धेरै कुरा सिक्न पाएको छु ।

मनाङ्ग एक पर्यटक क्षेत्र हो । नेपालको दक्षिण जुन भागमा रहेको यस ठाउँमा सबैभन्दा सुन्दर ताल 'तिलिचो' पनि रहेको छ । मनाङ्ग लगभग ३५०० मिटरभन्दा बढी उचाइमा रहेको छ। अन्नपूर्णको काखमा रहेको छ । प्रकृतिको सुन्दरता र त्यहाँका मनाङ्गे भाषा र भाकाको सुन्दरताले भरिएको ठाउँ हाम्रो गन्तव्य थियो । हिमाल र पहाडको फेदमा रहेको यस ठाउँमा जाडो निकै छ तर त्यसभन्दा पनि राम्रो यहाँबाट देखिने दृश्यहरू हुन । अन्नपूर्णको दोस्रो भाग, र अन्य थुप्रै हिमाल र पहाडहरूको सजिलै दर्शन गर्न सकिन्छ । गङ्गापुरण, तिलिचो, आइस लेक, जस्ता थुप्रै तालहरूले भरिएको ठाउँ हो मनाङ्ग । सपना र कल्पनामा नअटाउन सकिने ठाउँ रहेछ यो त । यस्तो सुन्दर दृश्य त सपनामा पनि नआउला । निकै नै आनन्दको अनुभव गर्न सकिन्छ । यति सुन्दर ठाउँ र उति नै सुन्दर त्यहाँका मानिसहरू। सुन्दरताको बयान त कसरी गर्न सकिन्छ र, जहाँ मनले आनन्द मान्छ र आँखाले चारैतिर सुन्दरता देख्छ। निकै सुन्दर वातावरण र उति नै कठिन बाटो । कहीँ पानीले गर्दा बिग्रेको त कहीं ढुङ्गा नै ढुङ्गा, धुलो र धुवाँ बिनाको ठाउँ हाम्रो गन्तव्य थियो ।

रमाइलोका साथ हाम्रो यात्रा सुरु भयो र रमाउँदै अघि बढ्यौँ । कठिन बाटो भए पनि हामीसँग निकै रमाइलो दाइ जसको गाडीमा हामी यात्रा गर्दै थियाैँ उहाँले हामीलाई रमाउन सिकाउँदै हुनुहुन्थ्यो। उनी ठुलो उमेरका त थिएनन् तर जीवनमा दुःख र पीडा त निकै भोग्नु भएको रहेछ। कक्षामा सिकाउने पाठभन्दा जीवनले सिकाउने पाठ निकै सुन्दर र सदावहार चाहिने हुन्छ। उनको प्रेमको कथा सुन्दै, खोलाको छेउछेउ, डाँडाहरू काट्दै हामी अगाडि बढी रहेका थियौँ । घाम डुब्दै थियो र बाटो अझै लामो नै जानु थियो तर सबै सँगै भएकाले न त रातको डर लाग्यो न त जाडोले नै छोयो। जति जाँदै गयौँ त्यति नै तापक्रम घट्दै थियो तर हामी भने मज्जाले गाडीमा गफ र गीत गाउँदै आफ्नै धुनमा रमाउँदै थियौ। मैले त्यहाँको सुन्दर प्राकृतिक दृष्य देखेर थाहा पाएकी, काठमाडौंमा राति घुम्नु, साथीभाइसँग बसेर रमाइलो गर्नुको आनन्द एक तर्फ थियो भने गङ्गापूर्ण र तिलिचो तालबाट बगेको पानीको खोलाको बगरमा केही बेर एक्लै बस्नुको आनन्द बेग्लै रहेको थाहा पाएँ । प्रकृतिको सुन्दरताले मानवमा पैदा हुने हरेक रोग निको पार्ने क्षमता रहेको छ ।

जीवन जिउनुको अर्थ थाहा पाएँ । हामीले गरेको महसुस सायद सबैले गर्न नपाउँला तर प्राकृतिक अनुभव निकै महत्त्वपूर्ण छ । अब आउने पुस्ताहरूले पनि अनुभव र त्यसको आनन्द उठाउन पाउनु पर्दछ। यस यात्रा मेरो कल्पनाले भ्याउन सक्ने भन्दा पनि निकै रमाइलो र निकै ठुलो थियो। मेरो कल्पनाले देखेको प्राकृतिक सुन्दरता भन्दा पनि बढी सुन्दर थियो याे ठाउँ। अन्नपूर्णाको काखमा बसेर आफ्नै एक भाषा र भाका बुनेका मनाङ्गेहरूले साच्चै नै एउटा आनन्ददायी र प्राकृतिक सुन्दर ठाउँ पाएका छन्। दाजुभाइ, दिदीबहिनीसँग हँसीमजाक गर्दै, रमाइलोका साथ सबै कठिनाइ पार गर्दै यस यात्राको अन्त्य गर्याैँ । यस यात्रामा मैले नयाँ साथी पनि बनाए। जीवनको एक छुट्टै अनुभव पनि गरे‌ँ । काठमाडौँको बिग्रेको बाटो त केही होइन रहेछ त्यहाँको बाटोको अगाडि। तर त्यहाँका मानिसहरूमा एकता र एक आपसमा सद्भाव देखेर म दङ्ग परेँ। काठमाडौंमा हुने मानिसहरू भने घरसँगै टाँसिएका घरका मानिससँग त बोल्दैनन् भने यहाँ त सबै जना सबै छर छिमेक एक परिवार झैँ मिलेर बस्ने रहेछन्। यो कुरा सबै मानिसले सिक्नु पर्ने कुरा हो भन्ने थाहा पाएँ। सबैको साथ रमाउनु नै ठुलो हो। 

के जम्मै ठाउँ कल्पनामा अटाउन सकिन्छ र । के सबै कल्पनामै सीमित हुन्छ र। यस सबै प्रश्नकाे उत्तर एक मात्र हो ‘हुँदैन किन भने सपना बुन्यो भने पो बल्ल त्यसलाई हकिकतमा बदल्ने प्रयास हुन्छ। कल्पना गर्दै गर्ने क्रममा मात्र हाम्रो सोचको कुनै सीमा छैन भन्ने बुझ्न सकिन्छ र त्यसलाई पूरा गर्ने हिम्मत आउँछ। कहिले पनि सपना देख्न डराउनु हुँदैन । केही सपना सपना नैं रहे पनि एउटा अविस्मरणीय मिठास छोड्छ। समयले सिकाएको पाठ कहिल्यै बिर्सन सकिँदैन र सोचभन्दा ठुलो केही हुँदैन ।