Logo

Student Corner

छाउपडी प्रथा

Written by: Parisa Nepal - 27033, Grade IX

Posted on: 06 February, 2024

छाउपडी प्रथा एक नेपालका केही दुर्गम क्षेत्रहरूमा, विशेष गरी देशको पश्चिमी भागहरूमा देखा परेको एउटा समस्या हाे । यसमा महिनावारी भएका महिला र केटीहरूका साथै भर्खरै बच्चा जन्माइसकेकाहरूलाई अलग्गै झुपडीमा बस्न लगाउने गरिन्छ । यी महिला र केटीहरूलाई तिनीहरूको महिनावारी वा प्रसवपछिको अवधिमा अपवित्र मानिन्छ ।  तिनीहरू प्रायः उनीहरूको दैनिक क्रियाकलाप, खानपान र सामाजिक अन्तरक्रियामा उनीहरू सहभागी हुन पाउँदैनन् ।

छाउपडी बसेका महिलाले दही, दूध खाएमा र घर तथा भाँडाकुडा छोएमा देउता रिसाउँछन् भन्ने जस्तो अन्धविश्वास छ । सुत्केरी तथा रजश्वला भएकी नारीलाई झन् सफा राख्नुपर्ने तथा प्रशस्त पोसिलो आहार खुवाइ आराम गराउनु पर्ने अवस्थामा शिक्षित, सम्पन्न र सभ्य भनिने घरका छोरी, बुहारीसमेत रजस्वला हुँदा घरका गाई-भैँसीको दूध खाँदैनन् । यस्तो बेलामा घरमा पालेको गाई-भैँसीको दूध खाए तिनले दूध दिन छोड्छन् भन्ने अन्धविश्वास छ । अहिले भने छाउपडी प्रथा अन्त्य गर्नका लागि विभिन्न सामाजिक सङ्घसंस्थाहरू आन्दोलनमा उत्रेका छन् ।

परम्परागत जनविश्वासका कारण यस्ता महिलालाई छोएको खण्डमा वा कुनै लसपस भएमा अशुद्ध हुने भएकाले छोए पनि सुनपानीको छिटो हाल्ने, गहुँत खुवाउने, घरका कुलदेवता चोख्याउनेजस्ताे चलन छ । प्राचीन कालदेखि चलिआएको परम्परालाई लत्याएर महिलाहरू महिनावारी तथा सुत्केरी भएको अवस्थामा छुइछाइ गरेमा घरका कुलदेवता रिसाउने र परिवारमा हानि नोक्सानी पुग्ने, शरीर सुक्दै जाने, अन्नबाली नफल्ने अन्धविश्वास छ । 

छाउपडी प्रथाले प्रभावित व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव  पार्दै गइरहेकाे छ  । जसका कारण महिलाहरू अस्वच्छ वातावरण र सर्पदंश र यौन हिंसाको जोखिममा परेका छन् ।  कानुनी रूपमा याे प्रथा हटे पनि व्यवहारिक रूपमा याे अझै हट्न सकेकाे छैन । अहिले बिस्तारै त्यहाँका मानिसहरूमा जनचेतना बढ्दै पनि गइरहेकाे छ । कानुनी उपाय र सचेतना अभियानमार्फत यो प्रथा उन्मूलन गर्ने प्रयास गरिए पनि पूर्ण रूपमा याे हट्न सकेकाे  छैन ।

छाउपडी प्रथाका कारण विभिन्न विकृतिहरू देखा पर्ने गरेका छन् । जस्तो कि छाउपडी बसेका बेला बलात्कार हुने । सर्पले टोकेर मर्ने लगायतका घटनाहरू पनि सुन्नमा आउँछन् । कतिपय महिला छाउपडीमा बसेका बेला चिसोले कठ्याङ्ग्रिएर र कतिपय बढी रक्तस्राव भएर ज्यान जाने गरेका छन् । त्यसैले यस्ताे कुप्रथा हटाएर सभ्य समाजकाे निर्माण गर्नु हाम्राे दायित्व पनि हाे ।