Logo

Student Corner

पर्यटन

Written by: Subigya Raj Kharel - 29065, Grade VII

Posted on: 25 January, 2024

पर्यटन भन्नाले एक ठाउँबाट अर्को ठाउँमा गरिने घुमघाम हो। एउटा मानिसले पर्यटन गर्ने विभिन्न उद्येश्य हुन सक्छन्। मनोरन्जनको लागि घुम्ने बाहेक नयाँ ज्ञान हासिल गर्न, व्यापार गर्न, औषधि उपचार गर्न, जाडो वा गर्मी छल्न आदि कारणहरूले गर्दा मान्छे पर्यटन गर्दछन्। यसबाहेक विभिन्न मानिसहरू धार्मिक स्थलहरूमा तीर्थयात्रा र पदयात्रा, बन्जी जम्पिङ, जिप लाइन,र्‍याफ्टिङ जस्ता साहसिक गतिविधिहरूका लागि पनि घुमफिर गर्छन्। जे उद्येश्यले गर्ने भए पनि पर्यटन गर्ने मानिसलाई पर्यटक भनिन्छ। पर्यटन एउटा आर्थिक क्रियाकलाप पनि हो जसले कुनै पनि देशको विकास गर्न ठुलो भूमिका खेल्दछ। 


 

पर्यटन देशबाहिर र देशभित्र पनि हुन सक्छ। यसका आधारमा पर्यटनलाई मुख्य गरी दुई प्रकारमा विभाजन गरिएको हुन्छ। देशभित्र गरिने पर्यटनलाई आन्तरिक पर्यटन भनिन्छ भने देशबाहिर गरिने पर्यटनलाई बाह्य पर्यटन भनिन्छ। हाम्रो देश नेपालमा मुख्य गरी भारत, श्रीलङ्काजस्ता छिमेकी एसियाली मुलुकबाट मात्र होइन, अमेरिका लगायत पश्चिमेली मुलुकहरूबाट पर्यटकहरू आउँछन् भने नेपालीहरू चाहिँ भारत, चिन, थाइल्याण्ड, जापानजस्ता देश भ्रमण गर्छन्। यसका साथै विदेश बस्न वा पढ्न गएका आफ्ना छोराछोरीलाई भेट्न कैयौँ अभिभावकहरू अमेरिका, अष्ट्रेलिया, बेलायत, क्यानडाजस्ता विकसित देशहरू समेत भ्रमण गर्दछन्। 



 

नेपाल एउटा प्राकृतिक, ऐतिहासिक र धार्मिक ठाउँमा धनी देश भएता पनि विभिन्न समस्याहरूले छेकेका कारण अरू देशहरूका तुलनामा यहाँ कम मात्र पर्यटकहरू आउँछन्। यी समस्यामा जनशक्तिको अभाव, वातावरणीय सरसफाइमा चाहिने जति ध्यान दिन नसक्नु, सबैतिर यातायातको विस्तार हुन नसक्नु, बिग्रेका भत्केका ऐतिहासिक, सांस्कृतिक सम्पदाहरूको मर्मत सम्भार गर्न नसक्नु आदि हुन्। गएको वर्ष लगभग ६ लाख जति विदेशी पर्यटक नेपाल भित्रिएको कुरा अनुमानित छ। यो सङ्ख्यामा वृद्धि गर्नको लागि माथि उल्लेखित समस्याहरूको समयमा नै समाधान गनुपर्छ जस्तै हवाई तथा स्थलमार्गको विकास गर्नु, आधुनिक तथा सुविधायुक्त होटल, होमस्टे आदि निर्माण र व्यवस्थापन गर्नुपर्ने, स्वच्छता र सरसफाइलाई उच्च प्राथमिकतामा राख्ने,र यी सबै कार्यका लागि नेपालले पूँजी छुट्याउनुपर्छ। 



 

पर्यटन एउटा महत्त्वपूर्ण क्षेत्र हो। नेपालमा धेरै उच्च हिमालहरू, लामा नदीनाला, अग्ला हिमताल, घना वनजङ्गल, विविध पशुपंक्षी आदिका कारणले गर्दा पर्यटनको क्षेत्रमा निकै सम्भावना बोकेको देश हो। पर्यटनका धेरै फाइदाहरू छन्।  यसले देशको अर्थतन्त्र बलियो बनाउँछ, रोजगारी प्रदान गर्छ, विदेशी पैसा देशभित्र ल्याउँछ। स्थानीय उद्योगहरूलाई चलाउन मदत गर्छ। त्यस्तै संसारभरिमा आफ्नो देशको अलग पहिचान बनाउन सघाउँछ। देशहरूबीच राम्रो सम्बन्ध कायम गराउँछ, विभिन्न देशवासीहरूका बिच आपसी सद्भाव र शान्ति फैलाउँछ। हाम्रो देश नेपालमा सबै पाहुनाहरूलाई भगवान समान मान्ने चलन छ। त्यसैले हामी सबैजना पर्यटकहरूलाई स्वागत गरेर आफ्नो तर्फबाट पर्यटनको उत्थान गरी देशको विकासमा महत्वपूर्ण योगदान दिन सक्छौँ ।