Logo

Student Corner

डाक्टर सन्दुक रुइत

Written by: Uddhati Bhattarai - 32040, Grade IV

Posted on: 18 December, 2023

हाम्राे आँखामा एउटा लेन्स हुन्छ । यसमा उमेर बढ्दै गएपछि वा अन्य कारणले दाग लाग्न  सक्छ । यसले गर्दा मानिसको दृष्टि कमजोर हुन्छ । बेलैमा उपचार नगरे दृष्टि पुरै हराउन पनि सक्छ । यो रोगलाई मोतिबिन्दु भनिन्छ । नेपालमा एकजना समाजसेवी डाक्टर हुनुहुन्छ उहाँको नाम डाक्टर सन्दुक रुइत हाे । कतिले उहाँलाई दृष्टिका देवता भन्ने गर्छन् । मोतिबिन्दु रोगको शल्यक्रियालाई सजिलो, सस्तो र भरपर्दो बनाउनमा उहाँको ठुलो योगदान रहेको छ । उहाँले संसारभर करिब दुई लाख आँखाका रोगीहरूको उपचार गरिसक्नुभएको छ । डा‍. सन्दुक रुइतकाे जन्म वि‍.सं २०११ साल भाद्र १९ गते नेपालको  ताप्लेजुङ जिल्लाकाे ओलाङचुङगाेलामा भएको थियो । उनकाे बुबाकाे नाम साेनाम रुइत र आमाकाे नाम केसाङ रुइत हाे । सानैमा आफ्ना ५ दाजुभाइ दिदीबहिनीमध्ये तीन दाजुभाइ दिदीबहिनी गुमाउनुपरेको कारण चिकित्सक सेवा र उपचारको महत्त्व उहाँले सानैमा बुझ्नु भएको थियो । त्यसैले डाक्टर बनेर गरिबहरूको सेवा गर्ने आँट पनि लिनुभएको थियो । डाक्टर सन्दुक रुइतको विद्यालयकाे पढाइ दार्जलिङ र काठमाडौँमा भएको थियो । सन् १९९४ मा उहाँले तिलगङ्गा आँखा केन्द्रको स्थापना गर्नुभयो । अहिले यो केन्द्र प्रतिष्ठान भएको छ । यसले उपचार सेवामा घुम्ती आँखा शिविर, सस्तो लेन्स उत्पादन, डाक्टरलाई तालिम दिने जस्ता कामहरू गर्दछ । डाक्टर सन्दुक रुइतले फिलिपिन्सकाे रमन म्यागासेसे पुरस्कार, भारतको पद्मश्री पुरस्कार,बहराइनकाे इसा पुरस्कार जस्ता ठुला पुरस्कार र सम्मानहरू पाउनुभएको छ । नेपालको लागि उहाँले महत्त्वपूर्ण योगदान दिनुभएको छ । उहाँको जीवनबाट सबैले प्रेरणा पाउन सक्दछन् ।