Written by: Subigya Raj Kharel - 29065, Grade VII
Posted on: 15 December, 2023
आज महानवमी भएको कारणले म अरू दिनभन्दा चाँडै उठेँ। म यस दिन गाडीपूजाको लागि निकै उत्साहित थिएँ । मेरी आमाले मलाई पनि गाडी सफा गर्ने काममा सघाउन तल आँगनमा बोलाउनुभयो। म झटपट नित्य कर्म सकेर तलतिर कुदेँ। गाडी त लगभग सफा भइसकेको भए पनि मेरो साइकल सफा गर्न बाँकी रहेछ। मैले पानीले साइकल पखालेर चिटिक्क बनाएँ। त्यसपछि नुहाएर सांस्कृतिक पहिरन लगाएर पूजाको लागि तयार भएँ । त्यतिखेरसम्म बुबा आमाले पूजाको सरसामान ठिक्क पारिसक्नुभएको थियो । नरिवल, रातो सेतो कुल, पूजाको थाली, फूल, मिठाई, सेलरोटी, धूप दीपले भरिएको नाङ्लो साँच्चै सुन्दर देखिएको थियो । हामीले पालैपालो सबै सवारी साधनको पूजा गरेर नरिवल फोड्यौँ; तुल बाँध्यौँ; शंख, घण्टी र मङ्गलधुनको आवाजले वातावरणलाई पवित्र बनायौँ। केही तस्वीरहरू खिचेपछि हामीले चिया र सेलरोटी खाँदै कुराकानी गर्याैँँ। हामी दिउँसोतिर वसन्तपुर दरबार परिसर घुम्न जाने र बेलुकापख मामाघर जाने योजना बनायौँ।
बिहानको खाना खाएर हामी तयार भयौँ । म वर्षको एकपटक मात्र खुल्ने तलेजु भवानीको मन्दिर देख्न उत्सुक थिएँ । वसन्तपुर दरबारलाई हनुमानढोका दरबार पनि भनिँदो रहेछ। त्यहाँ मल्लकालका राजाहरूको दरबार रहेछ । दक्षिणपट्टि तीन तल्ले मन्दिर थियो जहाँ जीवित देवी कुमारी बस्दी रहिछन्। त्यहाँ हनुमानको ठुलो मूर्ति पनि थियो। प्यागोडा शैलीका धेरै मन्दिरहरू पनि थिए । हाम्रा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले बनाएको नौतल्ले मन्दिर पनि देखियो साथै शिव पार्वती मन्दिर, महेश्वर मन्दिर, काष्ठमण्डप मन्दिर आदि पनि हामीले देख्यौँ । यी मन्दिरहरूका झ्याल ढोकामा सुन्दर बुट्टा कुँदिएका रहेछन्। हामी कला र संस्कृतिमा कति धनी रहेछौँ भन्ने कुरा मलाई अनुभव भयो । हामीले कालभैरव, श्वेत भैरवको पनि दर्शन गर्याैँँ। तलेजु भवानीको मन्दिरमा भने दर्शनार्थीहरूको ठुलै भीड रहेछ । त्यसदिन मन्दिरअगाडि पशुवली पनि दिइने रहेछ। भुईँभरि परेवाका हुल, निलो आकाश, घण्टीको आवाज र मेरो उत्साहित मन कताकता मिलेको जस्तो अनुभव भइरहेको थियो। तर त्यहाँका धेरै मन्दिर र भवनहरू भने महाभूकम्पले ढलेका, कुनै टेको लगाएर राखिएका रहेछन्। युनेस्कोले विश्वसम्पदा सूचीमा राखेको यो दरबार क्षेत्रको उचित मर्मत र संरक्षण नहुँदा मलाई दुःख पनि लाग्यो । समग्रमा भन्नुपर्दा यस छोटो भ्रमणले मलाई शिक्षा र मनोरञ्जन दुवै प्रदान गर्याे।
दिउँसोको घुमाइपछि साँझपख म आफ्ना बुबाआमासँग मेरो मामाघर कौशलटार गएँ । म मामाघर नगएको धेरै दिन भैसकेको थियो। त्यसैले म मेरा मामामाइजू र हजुरबुबा हजुरआमालाई भेट्न पाएकोमा निकै खुसी थिएँ । दिनभरिको थकाइले चुर भए पनि मलाई मिठो लाग्ने आलु चप र बुनिँया देखेर म मक्ख परेँ। खुसीसाथ खाइसकेपछि मैले तास खेल्ने प्रस्ताव राखेँ। सबैले मेरो प्रस्तावलाई स्वीकार गरेर तास खेलियो। मैले तासमा पैसा जितेपछि म झनै मक्ख परेँ। केहीबेर कुराकानी गरेर बेलुकाको खाना खाएपछि राति हामी सबैजना सँगै बसेर पारिवारिक चलचित्र हेर्याैँ । चलचित्र सकिँदा त घडीले एघार बजाइसकेछ। आमाले भोलि बिहान सबेरै घर जानुपर्छ भन्दै मलाई सुत्न पठाउनुभयो तर म भने आजको जस्तो रमाइलो दिनको दैनिकी नलेखी बस्न सकिनँ, त्यसैले दैनिकी लेख्न बसेँ। भोलि विजया दशमीको दिन आफ्ना मान्यजनबाट टीका जमरा थाप्न जाँदा कति रमाइलो हुने होला भन्ने कल्पना गर्दा गर्दै निकै अबेर पनि भएछ। अब दैनिकी अन्त्य गरी सुत्नुपर्ला।