Logo

Student Corner

बालदिवस र यसकाे सन्दर्भ

Written by: Suprabh Acharya - 27014, Grade IX

Posted on: 24 November, 2023

बालबालिकाको सम्मान र प्रवर्द्धनका लागि नेपाल लगायत विश्वभर बाल दिवस मनाइने चलन छ । बाल दिवस विभिन्न देशमा आफ्नै देशकाे सन्दर्भसँग निर्भर भएर विभिन्न विशिष्ट मितिहरूमा मनाउने गरेकाले याे दिवस मनाउने चलन एक देशबाट अर्कोमा फरक रहेकाे पाइन्छ । नेपालकाे सन्दर्भमा यँहाकाे परम्परागत नेपाली पात्रअनुसार, बाल दिवस प्रत्येक वर्ष भाद्र २९ गते (सामान्यतया सेप्टेम्बर १४ मा) मनाइन्छ । नेपालमा बालअधिकारको सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने राजा त्रिभुवनको जन्मजयन्तीको सम्झनामा यो मिति महत्त्वपूर्ण भएकाले यस दिनलाई नै बालदिवसकाे रूपमा मनाउने गरिएकाे छ । बाल दिवसको अवसरमा विद्यालय तथा बाल अधिकारका क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्थाहरूले बालबालिकाका लागि विशेष कार्यक्रम, अभियान र  प्रतियोगिता आयोजना गर्ने गर्दछन् । नेपाल सरकारले पनि यस दिनलाई विशेष दिनकाे रूपमा लिने गरेकाे र बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले राष्टिय नारा घाेषणा गर्ने गरेकाे छ । नेपालमा बाल दिवस नेपाली बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र कल्याणको महत्त्वलाई जोड दिने दिन हो । याे वर्षकाे बाल दिवसकाे नारा बालबालिकामा लगानी सुनिश्चित भविष्यकाे थालनी रहेकाे छ । 

यस्तै विश्वव्यापी बाल दिवस नाेभेम्वर २० मा नेपाललगायत अन्य धेरै देशहरूमा  मनाइन्छ । यो मिति संयुक्त राष्ट्र सङ्घले विश्वभरका बालबालिकाहरूमा अन्तर्राष्ट्रिय एकता र चेतनालाई बढावा दिन स्थापना गरिएकाे हो । सन् १९५९ मा बालअधिकार सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र र सन् १९८९ मा बालअधिकार सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि पारित भएको वार्षिकोत्सवको अवसरमा यो दिवस मनाइन्छ । यस दिन बालबालिकाको अधिकार र सवालहरूबारे चेतना जगाउन विभिन्न कार्यक्रम र गतिविधिहरू आयोजना गर्दै आएकाे छ । याे दिवस बाल शिक्षा, स्वास्थ्य, संरक्षण, र कल्याण जस्ता मुद्दाहरूलाई उठाउँदै विश्वभरका बालबालिकाको कल्याण र अधिकारलाई प्रवर्द्धन गर्ने दिन हो ।  चीनलगायत धेरै देशहरूमा भने जुन १ लाई अन्तर्राष्ट्रिय बाल दिवसकाे रूपमा मनाइने गरेकाे पाइन्छ । यो दिन बालबालिकाको खुसी र सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले विभिन्न गतिविधि र कार्यक्रमहरूद्वारा दिवस मनाउने चलन छ ।

बाल दिवस भनेको बालबालिकाकाे बाल्यकाल मनाउने दिन हो । यसले हामीजस्ता बालबालिकाहरूलाई रमाइलो गर्ने, रचनात्मक कार्यमा सहभागी हुने अवसर प्रदान गर्दछ । यसका साथै यस किसिमका दिवसले हामी बालबालिकाकाे कल्पनाशक्ति र आनन्दलाई बढावा दिने विभिन्न गतिविधिहरूमा सहभागी हुने अवसरसमेत प्रदान गर्दछ । बाल दिवस मनाउँदा बालबालिकाका आवश्यकता र सङ्घर्षहरूप्रति  अन्य उमेर समूहका व्यक्तिहरूलाई उनीहरूकाे जीवन कथामा समानुभूति महसुस हुने र बालबालिकाप्रति स्नेह र प्रेमकाे भावनासमेत जगाउन सकिन्छ । जसले गर्दा  अन्य उमेर समूहका व्यक्ति र समुदायलाई बालबालिकाका लागि सहयोगी वातावरण सिर्जना गर्न  एक अर्कामा मिलेर काम गर्न प्रोत्साहन गर्छ र सरकार पनि बालबालिकाका सवालमा संवेदनशील र जवाफदेही बन्न सक्ने वातावरण सृजना हुन्छ । त्यसैले  बालबालिकाको भलाइ, उनीहरूकाे अधिकार सुनिश्चितता र  उनीहरूकाे खुसीमा ध्यान केन्द्रित गर्न नेपाल र विश्वभर बाल दिवस मनाइन्छ । विशिष्ट मिति र चलनहरू एक क्षेत्रबाट अर्कोमा फरक हुन सक्छ, तर अन्तर्निहित लक्ष्यहरू समान रहने गरेकाे छ । बालबालिकाको राम्रो भविष्यलाई प्रवर्द्धन गर्न र उनीहरूकाे सुरक्षित जीवन र राम्राे पालनपोषणकाे वातावरण सृजना गरी सुनाैलाे भविष्य निर्माणका लागि बाल दिवस महत्त्वपूर्ण बनेकाे छ ।