Logo

Student Corner

तिहार

Written by: Aaron Singh - 32035, Grade IV

Posted on: 03 November, 2023

हाम्रो समुदायमा धेरै चाडपर्वहरू मनाइन्छ । ती चाडपर्वहरूको आफ्नै महत्त्व हुन्छ । चाडपर्व भन्नाले कुनै खास दिन वा तिथिमा देवीदेवताको पूजाआजा गरी रमाउने दिनलाई चाडपर्व भनिन्छ । हाम्रो समाजमा धेरै प्रकारका चाडपर्व मनाउने गरिन्छ । हाम्रो समाजमा चाडपर्वहरू तिथि र गते अनुसार मनाइन्छ । म सबै चाडपर्वलाई सम्मान तथा महत्त्व दिन्छु तर पनि मेरो समुदायमा मनाइने चाडपर्वमध्ये तिहार मलाई असाध्यै मन पर्ने चाड हो । यो चाड दसैँपछिको ठूलो चाड हो । तिहार कार्तिक कृष्ण  त्रयाेदशीदेखि कार्तिक शुक्ल  द्वितीया सम्म पाँच दिन मनाइन्छ। तिहारका महत्त्वपूर्ण दिनहरूमा पहिलो दिन कागतिहार हाे । तिहारको पहिलो दिनमा कागकाे पूजा गरिन्छ । दोस्रो दिन कुकुरतिहार  हो । यस दिन कुकुरको पूजा गरिन्छ । कुकुरले हाम्रो घरको रक्षा तथा सुरक्षा गरोस् भनेर यसको पूजा गरिन्छ । तिहारको तेस्रो दिन गाईको पूजा गरिन्छ । त्यसैले यस दिनलाई गाईतिहार भनिन्छ । यसै दिनको साँझ झिलिमिली बत्ती बालिन्छ । त्यसपछि साँझ धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । यस दिन केटाकेटीहरू मिली भैलो खेल्ने चलन छ । तिहारको चौथो दिनमा गाेरु पूजा गरिन्छ । नेवार जातिले यो दिन म्हपूजा गर्छन् । यो दिन नेवारले नयाँ वर्ष मनाउने चलन छ । पाँचौँ दिन अर्थात अन्तिम दिनमा भाइटीका मनाइन्छ । यस दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका तथा मखमली फूलको माला लगाएर मिठा फलफूल दिई लामो आयुको कामना गर्छन् साथै दाजुभाइले पनि दिदीबहिनीलाई आफूले सक्दो दक्षिणा तथा उपहार दिने चलन छ । तिहारमा विभिन्न परिकारका खानेकुरा पकाएर खाने चलन छ । जस्तै: सेल, फिनी रोटी ,अनर्सा आदि । यस दिन घर आँगन सफा गरेर फूलमालाले सजाउने चलन पनि छ । यसरी तिहार पर्व मनाइन्छ ।