Logo

Student Corner

अनुशासनको महत्त्व

Written by: Amu Shakya - 27021, Grade IX

Posted on: 02 November, 2023

‘शासन’ शब्दमा ‘अनु’ उपसर्ग लागेर बनेकाे अनुशासन” शब्दले संसारका हरेक सजीव प्राणीको सङ्गतिपूर्ण जीवनपद्धतिलाई सङ्केत गर्छ । यस सृष्टिका हरेक वस्तुको आफ्नै सीमारेखा हुन्छन् ।  निश्चित गति र गन्तव्य हुन्छन् । यो संसार पनि नियममा चलेको हुन्छ । प्रकृति स्वतः को पनि आफ्नै नियम हुन्छ । नियमबाहिर न त मानिस वा अन्य जीवजन्तु चल्न सक्छ,  न त विश्व नै । यसरी प्रत्येक वस्तुले सर्वमान्य नियम वा सिद्धान्तभित्र नियन्त्रण गर्नु नै अनुशासन हो ।

अनुशासन शब्दलाई बालबालिका वा आफूभन्दा सानालाई दिइने उपदेशका विषय बनाई सङकुचनको घेराभित्र राख्ने गरिन्छ । त्यतिमा मात्रै अनुशासनको परिभाषा सीमित हुँदैन । अनुशासनको प्रभाव आर्थिक, सामाजिक, राजनीतिक, प्रशासनिक, सांस्कृतिक, वैयक्तिक जस्ता विभिन्न क्षेत्रमा पनि पर्दछ ।

अनुशासन नभएको मान्छे सबैको नजरमा “छि ! छि !”बन्छ । अनुशासनहीन व्यक्तिको समाज र समुदायमा कुनै प्रतिष्ठा रहँदैन । अनुशासनबिनाको जीवन भनेको लगामबिनाको घोडा जस्तै हुन्छ । अनुशासित मान्छेहरूलाई सबैले सौहाद्र्यपूर्व व्यवहार प्रदर्शन गर्छन् । अनुशासित व्यक्तिको समाज र समुदायमा मौलिक सर्वोत्तम व्यवहार हुन्छ । उनीहरूसँग सबैको समन्वय हुन्छ ।

मानवको सन्दर्भमा अनुशासन हामी जनतामा मात्र हैन, राजनीतिक कार्यकर्ता, कर्मचारी, प्रशासनिक क्षेत्र आदिमा पनि अनुशासन निहित हुन अत्यन्तै जरुरी छ । राजनैतिक क्षेत्रमा अनुशासन नरहे राजनैतिक कार्यकर्ताबिच द्वन्द सिर्जना हुन्छ । त्यस द्वन्दले देशमा अन्तद्र्वन्दको सिर्जना गर्छ । देशका जनताहरूबिच उपेक्षात्मक भावना निम्तिन्छ । यसरी एउटा सानो राजनैतिक द्वन्दले पलाएको अनुशासनहीनताको विषालु जराले सिङ्गो राष्ट्रलाई रोगी बनाइदिन्छ ।


 

त्यसैले जीवनका प्रत्येक क्षेत्रमा अनुशासन अपरिहार्य छ । अनुशासनको प्रभाव वैयक्तिक सन्दर्भमा मात्र नभई धार्मिक, सांस्कृतिक, आर्थिक, राजनीतिक, प्रशासनिक एवं सामाजिक विविध क्षेत्रमा पर्न गएको देखिन्छ । स्वेच्छाचारी यात्रा गर्दा र जीवनोपयोगी न्युनतम मर्यादाहरू पालना नगर्दा कुनै व्यक्ति कुहिएर काग बन्छ र आफ्नो लक्ष्यमा पुग्नुको साटो बिचैमा हराउन सक्छ । अनुशासनकाे पालना हरेक क्षेत्रमा हुनुपर्छ ।