Written by: Sunabi Pokharel - 25018, Grade X
Posted on: 13 December, 2022
हाम्रो देश नेपाल संसारकै सुन्दर देश मध्येको एक हो भनिन्छ । हाम्रो देश जैविक विविधताले भरिएको देश हो । सानो देश भएर पनि यहाँ हिमाल, पहाड, चुरे, समथर भू–भाग रहेको छ । फलस्वरूप यहाँ तराई क्षेत्र, पहाडी क्षेत्र र हिमालय क्षेत्रमा पाइने वनस्पति, जनावरहरू एवं तदनुरूपको वातावरण पाइन्छ । यस हिसाबले हेर्दा हाम्रो देश मानव जातिको लागि बस्न लायक देश हो भन्न सकिन्छ । यति मात्र हैन हाम्रो देशमा आर्थिक र सामाजिक हिसाबले थुप्रै अवसरहरू पनि रहेको पाइन्छ । हामीसँग संसारकै अग्लो सगरमाथा हिमाल, अपार जलश्रोत, थुप्रै खानीहरू, लाखौँ जडिबुटीहरू रहेका छन् । जसबाट आर्थिक उपार्जन गर्नसक्ने थुप्रै अवसरहरू पनि छन् । हाम्रा छिमेकी मुलुक चीन र भारत जहाँ संसारको कुल जनसङ्ख्याको झण्डै एक तिहाइ मानिसहरू बसोबास गर्छन् । जसकाे ०.०१ प्रतिशत पर्यटन नेपालमा भित्र्याउन सके मात्र पनि हामी र हाम्रो देशको आर्थिक अवस्था अत्यन्त सुदृढ हुन सक्ने देखिन्छ । प्रकृतिले वरदानस्वरूप दिएका हाम्रा सयौंँ पर्यटकीय स्थलहरू पनि छन्, जहाँ धेरै केही मिहिनेत गर्नै पर्दैन । त्यहाँ पुग्ने सुलभ यातायातका साधन, त्यहाँ पुगेपछि खान बस्न पाउने राम्रो व्यवस्थापन मात्र गरे हाम्राे देश आउन थुप्रै पर्यटन लालायित हुन्छन् । यी सब काम गर्न आजका युवाहरू सक्षम पनि देखिन्छन् किनकी उनीहरू मिहिनेती पनि छन् । अध्ययनको हिसाबले हाम्रो देशका युवा युवतीले संसारका विश्वविद्यालयमा राम्रो गरेका थुप्रै उदाहरणहरू पनि छन् ।
उल्लेखित सबै अवसरका बाबजुद पनि हाम्रा युवायुवतीहरू दिनानुदिन किन अन्य मुलुकमा जान लालायित छन् भन्ने प्रश्न आम चासोको विषय हो । यसमा थुप्रै कारणहरू छन् । प्रमुख कारण भनेको हाम्रो देशको राजनैतिक अस्थिरता र त्यसले निम्त्याएका समस्याहरू हुन् । हाम्रो देशमा राजनीति संस्कार छैन । राजनीतिमा ३५ वर्षदेखि एउटै व्यक्ति र एउटा निश्चित राजनैतिक दलहरूको हालीमुहाली भइरहेको छ । राजनीतिज्ञहरू जनताका सेवक हुनुको साटो राजनीतिलाई व्यवसायीकरण गरिएको छ। यस्ताे चरित्रले गर्दा राज्यको अर्थतन्त्र कमिसन र भ्रष्टाचारको दलदलमा फसेको छ । हाम्रो देशमा व्यक्ति धनी बन्ने दौडमा रहेकोले देशको अर्थतन्त्र अधाेगतितर्फ गएको छ । गरिब देशमा धनी व्यक्ति बस्ने देश भएको छ हाम्रो देश । राजनैतिक दलहरूले व्यक्तिगत लाभ लिने मनसाय राखी यहाँको राजनीतिलाई ठेकेदार, पैसावाल, नातागोता, गुण्डालाई क्रमशः हस्तान्तरण गर्दै गएको देखिन्छ र सुनिन्छ । देश धनी भए सबै व्यक्ति धनी बन्छन् भन्ने यथार्थतालाई राजनैतिक दल र राजनीतिज्ञले नबुझी निश्चित व्यक्ति धनी बन्ने गरी यहाँको राजनीति अघि बढेको छ । जनताको सेवा गर्न मन्त्री, प्रधानमन्त्री वा अन्य जिम्मेवारीमा बस्नेभन्दा कमिसन, भ्रष्टाचार गर्ने मनसायका साथ बस्ने गरिएको बुझिन्छ । राजनैतिक नैतिकता शून्यमा झरेको देश कहिल्यै विकसित बन्न सक्दैन । राजनैतिक भविष्य र राजनैतिक संस्कार अन्योलमा रहेको देखेर पनि यहाँका युवायुवती अवसरको खोजीमा विकसित देशमा जाने नै भए ।
नेपालबाट यसरी युवाहरू विदेशिनुको दोश्रो कारण भनेको रोजगारको अवसर नहुनु वा भएको रोजगारबाट आफ्नो जीवनयापन नधानिनु पनि हो । हाम्रो देशमा कुनै ठुला उद्योगधन्दा छैनन् । आयातमुखी अर्थतन्त्र र वैदेशिक रोजगारबाट भित्रिएको रकमबाट देश चलिरहिएको अवस्था छ । निर्यातमुखी अर्थतन्त्र नभई देश अघि बढ्न सक्दैन । आयात गरिएका सामानमा राज्यले ३०० प्रतिशतसम्म जनताबाट कर असुली गर्ने गरेको छ । भारत वा चीनमा १० लाख पर्ने सवारीसाधन वा यस्तै अन्य साधन खरिद गर्दा नेपालमा ३२ लाख तिर्नुपर्ने अवस्थाले यहाँका जनता राज्यको चरम दोहन भोग्न बाध्य छन् । यी सबै व्यवहारसँग परिचित तथा बुझेका युवायुवती आफ्नो भविष्य सुनिश्चित गर्न पनि विदेश पलायन हुने नै भए ।
यहाँ उच्च शिक्षा अध्ययन गर्ने राम्रो विश्वविद्यालय पनि छैन । भएका राम्रा विश्वविद्यालयमा जो कसैले पढाउन सक्ने आर्थिक क्षमता राख्दैनन् । यहाँको पढाइ पुरातनवादी अर्थात् अनुत्पादनमुखी छ, जुन पढेर दैनिक जीवनमा काम लाग्ने खालको छैन । यस कारण पनि हाम्रा युवायुवती पलायन भइरहेका छन् ।कामअनुसारको आर्थिक भुक्तानी गर्न यहाँको राज्य वा निजी क्षेत्र वा अन्य कुनै निकाय सक्षम छैनन् । राज्यले तोकेको तल्लो तहकाे ज्याला नै प्रति महिना रु. १३४०० रहेको हाम्रो देशमा उसकाे आर्थिक हैसियत कस्तो होला भन्ने सहज अनुमान गर्न सकिन्छ ।
यहाँ पैसा हुने वा आर्थिक र सामाजिक अवस्था राम्रो भएका व्यक्ति वा परिवारले कुनै ठाउँमा गएर केही दिन रमाईलो गरौँ भन्ने त्यस्तो स्थान पनि छैन । प्रकृतिले दिएका राम्रा स्थानमा जान पनि हप्तौँ समय खर्चिनुपर्ने, पैदल यात्रामार्फत यात्रा गर्नुपर्ने वा जीवनलाई जोखिममा मोल्नुपर्ने अवस्था छ । त्यस्ता स्थानमा सहज यातायातको सुविधा छैन । आधुनिक जमानामा हरेक व्यक्ति व्यस्ततापछि आराम चाहन्छ । यात्रा चाहन्छ, जसको लागि यहाँ थोरै मात्र रोजाइहरू छन् । पोखरा, चितवन मात्र सबैको पहुँच पुग्ने पर्यटकीयस्थल जस्तो देखिन्छ । यहाँ रहेका रारा, रामारोसन, बडिमालिका, सगरमाथा, मुक्तिनाथ, ढोरपाटन, मनास्लु, अन्नपूर्ण, लाङटाङ, कन्चनजङ्घा, अपी, मकालु वरुण, खप्तड, सेफोक्सुण्डो लगायत थुप्रै हाम्रा भूस्वर्गहरू छन् जहाँ कोही कसैले हालसम्म केही पूर्वाधार विकास पनि गरेका छैनन् । यस्ता कतिपय स्थानको विकास र विस्तारमा राज्यकै भूमिका हुनुपर्ने र निजी क्षेत्र वा व्यक्तिको लगानीले मात्र त्यसकाे दीर्घकालिन विकास नहुने यथार्थलाई यहाँको राज्य संयन्त्रले नबुझिदिदा वा गैरजिम्मेवारी भइदिदा हरेक युवाहरूमा एक प्रकारको वितृष्णा पैदा भएकोले पनि सुरक्षित जीवनयापनको खोजीमा हाम्रा युवाहरू बाहिर गइरहेको अवस्था छ ।
धेरै युवाहरू विदेशिएसँगै हाम्रो धर्म, संस्कार, परम्परा र संस्कृति पनि क्रमशः विदेशिदै गएको देखिन्छ । बाबु, आमासँग बस्ने वा बाबुआमालाई पाल्ने, एउटै परिवारमा मिलेर बस्ने, सामुहिक भावनालाई आत्मसात गर्ने जस्ता संस्कारमा परिवर्तन भई व्यक्तिगत भावना, निजी जीवनमा रम्ने सोचको विकास भएको देखिन्छ । आमाबाबुको लागि को आफ्नो जीवन अर्पण गर्ने ? हाम्रो निजी जीवन छैन ? भन्ने जस्ता सोच र संस्कार क्रमशः पाश्चात्य समाजबाट यहाँ आएको छ । निजी जीवनसँग रमाउन वा आफ्ना लागि मात्र मिहिनेत गर्नेका लागि याे देशभन्दा विदेश नै ठिक लाग्ने भयाे । तसर्थ पनि आजकालका युवाहरू विदेशिरहेका देखिन्छन् ।
युवाहरू राज्यका अमूल्य सम्पति हुन् । तिनीहरू देशमा नरहने हो भने हाम्रो देशको विकास निकै धीमा गतिमा अघि बढ्ने निश्चित छ । यसतर्फ हामी, हाम्रो समाज, राजनैतिक दल, राजनीतिज्ञहरूमा समय मै ध्यान जानु जरुरी छ । हाम्रो देशमा रहेका थुप्रै अवसरहरूमा हामीसँगै राज्य संयन्त्र, निजी क्षेत्र सबैको मिहिनेत, परिश्रम र लगानी रहे मात्र हाम्रो देश छिट्टै विकसित देश बन्छ । देश विकसित भए हाम्रा युवाहरूकाे विदेशिने क्रममा अवश्य पनि कमी हुने छ ।