Written by: Ojeshwi Gurung - 23029, Grade XII
Posted on: 22 July, 2022
सानी केटी भएर हुर्किँदै गर्दा
संसारका सीमितता र सम्भावानाहरू थाह नहुँदा
मैले देख्ने सपनामा कुनै बन्धन थिएन
बिहानको घाम तापेर कौसीमा बस्दा
मलाई
पारि सूर्य उदाइरहेको क्षितिजसम्म उडेर पुग्न सक्छु जस्तो लाग्थ्यो
तर
जब समाजको भाषामा आफूलाई मिसिदै गएको देख्न थालेँ
मैले बुझेकी आफैँलाई महसुस गर्नु सबैभन्दा ठुलो यात्रा रहेछ ।
आफैँलाई देख्न सक्नु
आफैँलाई चिन्न सक्नु
आफ्ना आवेगहरू सम्हाल्न सक्नु
आफैँभित्रको यात्रा गर्नु
मात्रै ‘म’ हुनु रहेछ
आफैसँग हुन सकेको दिन मात्रै
संसारको विशाल यात्रा सुरु हुँदो रहेछ ।
तर, अझै पनि लागिरहन्छ
त्यो क्षितिज जहाँ
म सानी हुँदा पुग्न चाहान्थेँ
त्यो क्षितिज कति टाढा छ होला ?
जब जब यात्राको अनन्तताबारे सोचिबस्छु ,
आफ्नै अनुभव मौन भएर मतिर हेरिरहन्छन्