Written by: Sameep Krishu Maharjan - 25020, Grade IX
Posted on: 07 June, 2021
भानुभक्त आचार्यको जन्म तनहुँको चुँदी रम्घामा विक्रम सम्वत् १८७१ असार २९ गते भएको थियो । उनले नेपाली भाषासाहित्यमा महत्त्वपूर्ण याेगदान दिएका छन् । भानुभक्तका 'रामायण' भक्तमाला, वधूशिक्षा,प्रश्नोत्तर र रामगीताका साथै फुटकर कविताहरू पनि प्रकाशित छन् ।
पृथ्वीनारायण शाहले जसरी सिङ्गो नेपाल बनाए त्यसरी भानुभक्त आचार्यले पनि नेपाली साहित्यमा 'रामायण' लेखेर नेपाली भाषालाई सिङ्गो बनाए । नेपाली साहित्यमा आदिकवि भनेर चिनाउने काम भने मोतीराम भट्टले गरे। यिनको 'रामायण' महाकाव्य संस्कृत भाषाबाट नेपाली भाषामा अनुवाद भए पनि नेपाली भाषाको यो नै पहिलो महाकाव्य हो। भानुभक्त आचार्यभन्दा पहिलेका कविले नेपाली भाषासाहित्यलाई यति सहज, सरल र मौलिक रूपबाट प्रस्तुत गर्न सकेका थिएनन् । त्यसैले भानुभक्तको ‘रामायण'लाई नै नेपाली भाषासाहित्यको पहिलो महाकाव्य भनियो र यो सबै माझ लोकप्रिय पनि भयो।
भानुभक्त आचार्यले साहित्य सिर्जना गर्ने प्रेरणा भने घाँसीबाट पाएका थिए । घाँसीले घाँस काटेर बेच्ने अनि त्यस पैसाले कुवा खन्ने सुनाएपछि भानुभक्तले पनि साहित्य रचना गरेका थिए भन्ने किम्वदन्ती छ । भानुभक्त आचार्य आशु कवि थिए । उनी एकदिन आफ्ना साथी तारापतिका घरमा बास बस्न जाँदा साथीकी श्रीमती र बुहारी झगडा गरेको सुनेर वधूशिक्षा खण्डकाव्य लेखेर आफू घर जाने समयमा आफ्ना साथीलाई दिएर गए । नेपाली भाषासाहित्यमा महत्त्वपूर्ण योगदान दिएका भानुभक्त आचार्यले नेपाली भाषा साहित्यको जग बसाल्ने काम गरेकाले उनी नेपाली साहित्यका आदिकवि हुन्।