Logo

Student Corner

विज्ञान र प्रविधि

Written by: Sunabi Pokharel - 2024024, Grade VIII

Posted on: 18 March, 2021

मानिस सर्वश्रेष्ठ प्राणी हो । उसमा असन्तोषी व्यवहार र प्रगति गर्दै जाने इच्छा शक्तिकै कारणले गर्दा पहिलाको ढुङ्गे युगदेखि आजको वैज्ञानिक युगसम्म आइपुग्न सफल भएको छ । मानिसले केही देख्नेबित्तिकै त्यसबारे अवलोकन गर्न थाल्छ र यसैमा ऊ रमाएर बस्छ त्यसका साथै आफ्नो दिमागद्धारा आफूले देखेको कुनै पनि वस्तुलाई नयाँ ढङ्गले कल्पना गर्दै अनौठा आविष्कारहरू गर्छ । समय बित्दै जाँदा सोही प्रक्रिया अझ धेरै फलदायी साबित भएको छ र आजको २१ औं शताब्दीसम्म आइपुग्दा हामी मानवहरू लाखौं सरल र सुविधाभोगी बन्न पुगेका छौँ । यसमा आधुनिक विज्ञानले निकै ठूलो भूमिका खेलेको छ । 

आजकाल हामी आकाशतिर हेर्दा हवाइजहाज उडेको देख्छौँ । आफू बस्ने सतहमा छरिता गाडीहरू गुडेका देख्छौँ भने पानीमा समेत जहाजहरू सजिलैसँग चलेका देख्छौँ । यी सबै घटनाहरू हाम्रै कल्पना तथा सोच्न सक्ने क्षमताको फलस्वरुप नै साकार भएका छन् । वास्तवमा विज्ञान मानिसहरूले गरेको यस्तो आविष्कार हो, जसमार्फत् हामीले जीवनमा उपयोगी यन्त्रहरू बनाउन सफल भएका छौँ अर्थात् विज्ञान हामीले गरेको एक आविष्कार हो, जसबाट हजारौं अविष्कारहरू सम्भव भएका छन् । त्यसै कारणले नै आजको समाज र यसको बिचमा अन्योन्याश्रित सम्बन्ध बनेको छ । यही सम्बन्धलाई कायम राख्न विज्ञानबाट नै प्रविधिको स्थापना भयो, जुन मानव सभ्यताकै मूल आधार हो । आज विज्ञानले गरेका आविष्कारहरूलाई हामी प्रविधि मान्छौँ र विभिन्न तरिकाहरू अपनाएर यसलाई दैनिक जीवनमा लागु गर्छौँ । अहिले हाम्रो विश्व यति साह्रै विकसित हुँदा पनि मानिसहरूलाई शान्ति छैन र हामी अझै प्रगति गर्ने इच्छा राख्छौँ जसलाई विभिन्न मार्गहरूमा हामीले अघि बढाइरहेका छौँ र यही सम्पन्नता र विकासको खोजमा आवश्यकीय खोज अर्थात अनुसन्धान चाहिन्छ अनि सोही कार्यका लागि मानिसले आफ्नो दिमागमा रहेको ज्ञानलाई सम्प्रेषण गर्नुपर्छ । जसमा विज्ञान र प्रविधिले ठूलो सहयोग पुर्‍याएका छन् किनभने विज्ञानले मानिसलाई अन्धविश्वास, रुढिवादी परम्परा आदिलाई त्यागेर हाम्रो समाजलाई माथि उठाउने काम गरेको छ । विज्ञान कुनै पनि सीमित परिधिभित्र हुँदैन र यसले मानिसलाई आधुनिकतातर्फ उन्मुख हुन सारालाई प्रेरित गर्दछ । यही कारणले गर्दा आजदेखि मानव सभ्यताले एक पाइला अगाडि सा‍‍र्‍याे भने यसमा अघि बढ्न प्रेरित गर्ने विज्ञान नै हुनेछ । हाम्रो समाजको वातावरण नै प्रविधि अर्थात् विज्ञानकै उपकरणहरूले घेरिएको छ । हवाइजहाज, गाडीहरूको मद्दतले हाम्रो यात्रा छोटिएको छ । ठिक ठिक समयमा निस्केर देश विदेशका थरी थरी समाचार दिने माध्यमले निकै सहायता पुर्‍याएका छन् । विज्ञानकै आविष्कार, कम्प्युटरको प्रयोग स्कुलदेखि अस्पतालसम्म गरिन्छ । हामीले लेख्ने कलम र कापीहरू समेत विज्ञानकै वरदान हुन् । आफ्ना आफन्तसँगको सम्बन्ध कायम राख्न पनि विज्ञानले फेसबुक, ट्वीटर, आदिजस्ता सामाजिक सञ्जालहरूको व्यवस्था मिलाइदिएको छ । समय हेर्ने घडी, हामी बस्ने घर हिँड्दा लगाउने जुत्ता, शरीर न्यानो पार्न लगाउने कपडाहरू सबै विज्ञानका नै चमत्कारहरू हुन् । यसरी हामी सबैजना बिहान उठेदेखि राति सुत्दासम्म विज्ञानका उपकरणहरू नै चलाउँदै बसेका हुन्छौँ । त्यसैले हाम्रो जीवन अत्यन्त सरल बनेको छ । यहाँसम्म कि हामीले सेवन गर्ने खाना पनि विज्ञानकै उपकारण (यन्त्र) का सहायताले उब्जनी भई खान लायक बनेको हुन्छ  तर मानिसहरूको बढ्दो घमण्ड र असन्तुष्टिले गर्दा अविवेकशीलता उत्पन्न भएको छ त्यसैले आज मानिसहरू पूरा विश्वलाई नै सखाप पार्ने खतरनाक हतियारहरू बनाउन तल्लीन भइरहेका छन् । धेरै जसो वैज्ञानिक यन्त्रहरूलाई सुरुमा जाँच्न कुनै प्राणी वा वातावरणको प्रयोग गरिन्छ , जसका असरहरू निकै नकारात्मक हुन्छन् । किनभने हामीलाई गाँस, बास र कपासको व्यवस्था गरिदिने प्रकृति नै भाँसिदा हाम्रो अस्तित्व नै खतरामा पर्छ । 

त्यसैले हामी अहिले विकासको शिखरमा पुगे पनि हामीले पृथ्वीप्रतिको आफ्नो दायित्व भुल्नुहुँदैन र सबैजनाले विज्ञान र प्रविधि उपहार स्वरुप प्रदान भएका यन्त्रहरूको सदुपयोग गर्नुपर्छ । उचित शक्ति र सिर्जनशीलताले विज्ञानको मार्गलाई अझ ठूलो बनाउन हामी खट्नुपर्छ र कुनै पनि कुरा असम्भव हुँदैन भन्ने पाठ सिकाउने यही विज्ञानलाई मानिसहरूको उत्थानको मूल आधार बनाउनुपर्छ । पहिले पृथ्वीको सृष्टिको रुपमा पाएका स्रोत साधानको संरक्षण गर्दै आफ्नो आविष्कारलाई उचित सदुपयोग र पालना गर्नु हामी सबैको दायित्व हो ।