Written by: Ayan Basnet - 2024025, Grade VIII
Posted on: 03 March, 2021
कोरोना भाइरस महामारीले गर्दा हाम्रो पढाइमा परेको अफ्ठ्यारो त छँदै थियाे नै । साथै पहिलेकाे विद्यालयमा मेराे सिकाइ राम्राे हुने नदेखेर मेराे परिवारले नयाँ स्कुलकाे पनि खाेजी गर्दै थियाे । यसै सिलसिलामा डियरवाक सिफल स्कुल सबैभन्दा उपयुक्त हुने ठानेर मेराे परिवारसँग स्कुलमा पुगेँ र प्रक्रियागत रूपमा म भर्ना पनि भएँ । यसले म खुसी पनि थिएँ र दु:खी पनि । दु:खी हुनुकाे कारण मैले लामाे समयदेखि बनाएका साथीहरू गुमाउँदै थिए भने खुसी चाहिँ अब कस्ताे हुने हाेला भन्ने उत्साह नै हाे ।
सामान्यता विद्यालय जाँदा विद्यालय समयभन्दा एकदेखि दुई घन्टा समय छुट्याइन्थ्यो तर आज डियरवाकको तयारी अत्यन्तै सबेरैबाट सुरु भयो । उत्सुकताका साथै हल्का डरलाई केही मात्रामा कम गर्नका लागि समय समयमा बुबा तथा आमाले मलाई सम्झाइरहनुभयो। बिहानको खाजामा दुध र कर्नफ्लेक्स खाँदा पनि विद्यालयको हतारोले स्वादकाे पनि अनुभव गर्न पाइएन । आत्तिएकाे मन र त्यस बिचमा नयाँ विद्यालयका लागि कुन लुगा लगाउने भन्ने विषयमा दोधारका बिच जिन्सको पाइन्ट र कालो टोपी भएको ज्याकेट लाउने निर्णय गरेँ । विद्यार्थीहरूका लागि सुबिधा होस् भनेर विद्यालयले गाडीको व्यवस्था गरेको रहेछ । मेरो घर पनि विद्यालयभन्दा टाढा भएकोले म पनि गाडीमै आवतजावत गर्ने सहमति भएअनुसार म घरबाट पाँच सय मिटरको दुरीमा पर्खी बसेँ । गाडी समय मै आउँछ भनेर बुबा छोड्न आउनुभएको थियाे तर केही कारणबस गाडी ढिला भएछ । कहिलेकाही धैर्य गर्नु कति कठिन हुन्छ भनेर आज थाहा भयो । मलाई लाग्यो मेरो विद्यालयप्रतिको उत्सुकता झन् बढाउनका लागि गाडी समयमा नआएको हो कि ? एकै छिनमा मअगाडि डियरवाक लेखिएको गाडी देख्दा मन खुसी भयो । त्यसपछि छेउमा गाडी आइरोँकिदा एकछिनसम्म त गाडीकाे ढाेका नै नखोलिदा कस्तो अफ्ठ्यारो लाग्यो । गाडी सहचालकले बल्ल तल्ल धोका खोल्न मद्दत गर्नुभयो । मैले " धन्यवाद दाजु " भन्दै गाडी भित्र पसेँ ।
मनमा कुरा खेल्दा खेल्दै गाडी विद्यालयको मुख्य ढोका पुगेर रोकिँदा पो थाहा भयो , विद्यालय पुगिएछ । विद्यालयको ढोका पस्दै गर्दा महामारीको समय भएकोले मापदण्ड पूरा गर्न पाले दाइले स्यानिटाइजर र तापक्रम नाप्न लाउनुभयो। त्यसपछि केहीबेरको अलमलपछि म पढ्ने कक्षा कोठा मुगु भवनमा रहेछ । नयाँ विद्यालयमा एउटा छुट्टै सोच राखेर भवनको नाम रखिएको रहेछ । पहिलेको विद्यालयभन्दा हरियाली पनि निकै भएको पाएँ ।
त्यसपछि म कक्षाकोठाभित्र प्रवेश गरेँ । मभन्दा पहिले नै सहपाठीहरू आइसकेका रहेछन् । त्यसमध्ये एक साथीले मसँग परिचय माग्नुभयो। मैले आफ्नो परिचय दिँदै उनको परिचय पनि मागेँ । एकैछिनपछि शिक्षक कक्षाकोठामा आउनुभयो। सुनबी भन्ने साथीले केही समयपछि विद्यालयका सम्पूर्ण कक्षाकाेठाहरूकाे परिचय गराइन् । जसले मलाई अत्यन्तै सहज र रमाइलो लाग्यो। त्यसपछि शिक्षकले बस्ने ठाउँको पनि व्यवस्था पनि गरिदिनुभयाे । कक्षाकोठामा विद्यार्थी बस्ने व्यवस्था पनि छुट्टै किसिमको रहेछ । आफ्नै व्यक्तिगत कुर्सीसँगै टेबुल रहेछ, जसले गर्दा एकार्कोलाई अफ्ठ्यारो नपर्ने कुरा मलाई मन पर्याे । त्यसपछि गुरुले दिनुभएकाे कक्षा रूटिङअनुसार सबै विषय पनि सम्पन्न भए । खाना खानको लागि विद्यायलले हामीलाई पौष्टिक खानाको व्यवस्था पनि गरेको थियो । म खाना खाने समयमासमेत आफ्ना साथीहरूसँगै एउटा कुर्सी र टेबुल छानेर आफ्नो भोजन सुरु गरेँ । खाना खाइसकेछि म एकछिन वरिपरि डुलेँ । त्ययपछि सम्पूर्ण विषयका कक्षा पढेँ र घर गएँ । आजको दिन निकै गाह्राे र अफ्ठ्यारो होला भन्ने सोचेको थिएँ तर मैले सोचेकोभन्दा धेरै सहज र रमाइलो भयो ।
विद्यालयप्रतिको जिज्ञासा र उत्सुकता म विद्यालय गएको पहिलो दिन नै स्पष्ट भयो । एउटा भिन्नै खालको विद्यालयमा पढ्न आइपुगेछु भन्ने लाग्यो र पहिलो दिनमै डियरवाकको विद्यार्थी भएको खुसी अनि नयाँ आशा जाग्यो ।