Logo

Student Corner

सम्पदा

Written by: Eshanee Manandhar - 2027007, Grade V

Posted on: 15 February, 2021

सम्पदा

सम्पदा भन्नाले कुनै धार्मिक स्थल, देवालय, हिमालय, जङ्गल, पहाड, नदीनाला, झरना, चाडपर्व, गीत, सङ्गीत, नाँचगान, जात्रा, भेषभूषा, इतिहास बोकेको ठाँउ र वस्तु आदि बुझिन्छ। हरेक राष्ट्रका आ–आफ्ना सम्पदा हुन्छन् जसलाई राष्ट्रिय सम्पदा भनिन्छ । नेपालभित्र पाइने सम्पदा नेपालका राष्ट्रिय सम्पदा हुन् । सम्पदाहरू सरल भाषामा दुई प्रकारका छन् । 

क .  प्राकृतिक सम्पदा 

ख .  सांस्कृतिक सम्पदा 

प्राकृतिक सम्पदा 

कुनै मानिसबाट नभई प्रकृतिबाट सिर्जना भएका सम्पदालाई प्राकृतिक सम्पदा भनिन्छ । हिमाल, पहाड, नदी, झरना, वनजङ्गल, ढुङ्गा, ताल आदि प्राकृतिक सम्पदा हुन् । जुन मानिसले नभई प्रकृतिले निर्माण गरेका हुन् । हामीले नदी नालाबाट पानी, वनजङ्गलबाट काठ दाउरा, जडीबुटी आदि उपयोग गरिरहेका छाैँ । प्रकृतिबाट हामीले धेरै अमूल्य उपहार पाएका छाैँ । त्यसैले हामीले यस प्राकृतिक सम्पदाको सदुपयोग र संरक्षण गर्नुपर्छ । प्राकृतिक सम्पदाको हामीले दुरुपयोग गरेमा समय समयमा प्राकृतिक विपत्ति पनि भोग्नु पर्ने हुन्छ । वनजङ्गल मासेमा बाढी पहिरो जान्छ । खेतयोग्य जमिनमा कलकारखाना खाेल्दा खाद्यको अभाव हुन्छ । त्यसैले यसको हामीले संरक्षण गर्नुपर्छ ।

सांस्कृतिक सम्पदा

प्रकृतिबाट नभई मानिसबाट निर्माण भएका सम्पदालाई सांस्कृतिक सम्पदा भनिन्छ । देवालय, दरबार, मन्दिर, मस्जिद, इतिहास बोकेको ठाँउ, लोकगीत, नृत्य, चाडपर्व आदि सांस्कृतिक सम्पदा हुन् । हरेक राष्ट्रका आ–आफ्ना सांस्कृतिक सम्पदा हुन्छन् । दसैँ तिहार, पशुपतिनाथ मन्दिर, स्वयम्भू, लुम्बिनी धरहरा, घण्टाघर , होली आदि नेपालका सांस्कृतिक सम्पदा हुन् । यसले हाम्रो राष्ट्रको परिचय दिने भएकोले यस्तो सम्पदाको हामीले संरक्षण गर्नुपर्छ । यस्ता सम्पदाहरूले हाम्रा पुर्खाहरूको रहनसहन, भेषभूषा, बाेलीचाली, योगदान पनि झल्काँउछन् ।

राष्ट्रिय सम्पदाले हाम्रो राष्ट्रलाई अरू राष्ट्रमा छुट्टै पहिचान गराउँछ । राष्ट्रिय सम्पदाको सदुपयोग र संरक्षण गर्नाले राष्ट्रको विकासमा पनि सहयोग पुर्‍याउँछ । तसर्थ हामी सबैले सम्पदाकाे संरक्षणमा जुट्नुपर्छ ।