Logo

Student Corner

लकडाउनपछिको विद्यालय अनुभव

Written by: Sunabi Pokharel - 2024024, Grade VIII

Posted on: 02 February, 2021

आफ्नै कोठामा बसेर कक्षा लिएको पनि ९ महिना हुन लागेको थियो । इन्टरनेटमार्फत कक्षा लिँदालिँदा मलाई त त्यस्तै कक्षा पढ्न रमाइलो लागिसकेको थियो । दिनमा जम्मा ३ ओटा कक्षा लिन रमाइलो नै थियो । त्यसमाथि पनि कक्षा सकिएपछि जहाँ गए पनि हुने, जे गरे नि हुने । गृहकार्य पनि धेरै कम । त्योभन्दा बढी एउटा विद्यार्थीलाई के नै चाहन्छ र ? हामी सबै इन्टरनेट र कम्प्युटर त पहिलादेखि नै चलाउँथ्यौँ तर हामी यी सबै प्रविधि र वेबसाइटहरूसँग परिचित भने थिएनौँ । यस लकडाउन र अनलाइन कक्षाले हामीलाई धेरै कुरा सिकाएको छ र यो अनुभव एउटा जीवन जस्तै हुन पुगेको छ ।  यति धेरै लेख रचना लेखियो र त्यो राष्ट्रिय पत्रिकाहरूमा छापिए । त्यसले भविष्यमा हामीलाई धेरै फाइदा गर्नेछ । लकडाउनमा विभिन्न नयाँ कुराहरू जानियो र अब त सधैँ यसरी नै चलिरहोस् भन्ने लाग्न थाल्यो  तर पौषमा चैत्र ६ गतेदेखि नदेखेको विद्यालय खुल्ने भयो भन्ने खबर सुन्दा म एक्छिन् त अकमक्क नै परेँ । मेरो मनमा विभिन्न खाल्का भावनाहरू आउन थाले । एकापट्टिको मनले भन्छ, 'ओहो! अब त विद्यालय जान पाइने भयो । साथीहरूसँग भेटघाट हुने भयो । शिक्षकहरूलाई यति महिनाैपछि देख्न पाइने भइयो । विद्यालय पनि कस्तो भैसकेको छ होला । केके परिवर्तन आयो । अब बल्ल हेर्न पाइने भयो । कति रमाइलो हगि ?' । फेरि अर्कोपट्टिको मनले भन्छ, 'छ्या! के खोलेको होला विद्यालय ? अनलाइन कक्षा नै कति रमाइलो थियो । ७-८ बजेसम्म सुत्न नि पाइन्थ्यो । अब त ६ बजे उठेर ठिहिर्‍याउने चिसोमा विद्यालय जानु पर्‍याे । पढाइ भै त रहेको थियो नि किन खोल्नुपरेको होला ?' । यी दुई थरिका भावनाले मेरो मन केही समयको लागि अलमल्लमा पार्‍याे । त्यसपछि जे हुन्छ हेर्दै जाउँला भन्ने भयो । भन्दाभन्दै औँलाले चुट्की बजाएजस्तै गरी विद्यालय जाने दिन पनि आयो । हामी पहिलो पटक लकडाउनपछि विद्यालय हामी परीक्षा दिन गयौँ । त्यतिखेर त विद्यालय गइन्थ्यो, परीक्षा दिइन्थ्यो अनि घर फर्किन्थ्यो । त्यस्तो केही पनि भएन । 

केही हप्तापछि नियमित कक्षा लिन नै विद्यालय आउनुपर्ने भयो । विद्यालय जाने पहिलो दिन मलाई राम्ररी याद छ । अघिल्लो दिन नै सबै कुरा चटक्क पारेर म तयार थिएँ । किताबकापी सबै थोक तयार बनाएर म सुत्न गएँ । राति पनि मेरो मनमा प्रश्नहरू उठिरहेका थिए । पुराना शिक्षकहरूलाई त अघिल्लो वर्ष देखेका नै थियाैँ  तर नयाँ शिक्षक जस्को अनुहारमात्र देखिन्थ्यो ती शिक्षकहरू कस्ता देखिनुहुन्छ होला । वहाँहरू मैले सोचेकैजस्तो हुनुहुन्छ कि फरक हुनुहुन्छ होला जस्ता भवनाहरू आइरहेकाले सुत्न पनि ढिलो भयो । ७-८ बजे उठ्ने बानी परेको थियो भोलि बिहान त उठ्नै गारो भयो । एक त ढिलो सुतेको  ६ बजे नै उठ्नुपर्‍याे । अझ बिहानै चिसो पानीले हातमुख धुनुपर्‍याे। जाडो भएर सिरिङ्ग नै भयो । हत्तार हत्तार गर्दै गाडि चढियो र विद्यालय पुगियो । मेरो घरबाट विद्यालय जान एक घण्टाभन्दा अलिक बढी लाग्दो रहेछ । अरू पनि धेरै विद्यार्थी आए गाडीमा । सबै जना सामाजिक दूरी कायम गरेरै बस्यौँ । मेरै मिल्ने साथी मसँगै एउटै गाडीमा भएर चाहिँ असाध्यै रमाइलो भयो । आउँदा नि गफ गरियो जाँदा नि गफ गरियो । विद्यालय पुगेपछि कक्षाहरू हुँदै गए । कक्षाहरू राम्ररी नै चले । पढाइ नै भैराख्यो । पहिलो दिनमा त अलिक फरक हुन्छ कि भनेर सोचेको थिएँ तर सोचाइभन्दा भिन्न नै भयो । अनलाइन र भौतिक कक्षा त्यस्तो फरक भएन । मलाई त उस्तै उस्तै नै लाग्यो । विद्यालय र घरको वातावरण त अवश्य फरक भै नै हाल्छ तर पढ्ने तरिकामा केही फरक थिएन । गुगल मिटको साटो हामी विद्यालयमा थियौँ र हाम्रो अगाडि नै शिक्षक हुनुहुन्थ्यो न कि कम्प्युटर भित्र । एक दिनमा ३ ओटाको सट्टा ८ ओटा विषय भएका कारण गृहकार्य चाहिँ अलिक धेरै नै भयो । कापीमा धेरै लेख्दा पनि लेखिदैनथ्यो । प्राय टाइप नै गरेर पठाइन्थ्यो गृहकार्यहरू । नेपाली पनि कापीमा लेख्नुभन्दा टाइप गर्नै सजिलो लागिसकेको थियो  । अहिले आएर सबै कुरा लेख्नैपर्ने भएकाले सुरुमा त बानी बसाउनै गाह्राे भयो । अहिले पनि सजिलो त भएको छैन तर पहिलाभन्दा केही सजिलो भएको छ । राती सुत्दा पहिला दस बज्थ्यो भने अहिले १२ बज्छ । दोस्रो दिन पनि कक्षा सञ्चालन भयो र हुँदाहुँदै  विद्यालय गएको पनि एक हप्ता बित्यो । भौतिक रूपमा पढ्न जान सोचेको जस्तो भएन । राम्रै नै भयो । 

अनलाइन कक्षाले धेरै कुरा सिकाएको छ र हामीले अनलाइन कक्षामा प्रयोग गरेका कुरालाई पनि भौतिक कक्षासँगै जोड्दै लग्न सक्यौँ भने हाम्रो पढाइ एकदमै राम्रो हुन्छ । भौतिक कक्षा आयौँ भन्दैमा अनलाइन कक्षामा सिकेका कुराहरूलाई प्रयोग गर्न छाड्नुहुँदैन । हामीले जेजस्तो कुरा अनलाइन कक्षा हुँदा गर्‍याैँ त्यो कुराहरू भविष्यमा धेरै काम लाग्नेछन् । हामीले आफ्नो स्तरभन्दा माथिको कुरा सिकेका छौँ र त्यसलाई पछिसम्म सम्झिएर उपयोग गरिराख्न हाम्रो जिम्मेवारी हो ।