Logo

Student Corner

विद्यार्थी जीवनमा अनुशासनको महत्त्व

Written by: Prasanna Shrestha - 2024014, Grade VIII

Posted on: 22 December, 2020

नियमित रूपमा विद्या आर्जन गर्ने व्यक्तिलाई विद्यार्थी भनिन्छ भने खास नियम मर्यादा बस्नु नै अनुशासन हो । विद्यार्थी जीवनमा अनुशासनको महत्त्व विशेष रूपमा हुने गर्दछ । अनुशासन आमाको काखदेखि नै सिकिन्छ । प्रकृतिका हरेक वस्तु नियमानुसार नै चलेका हुन्छन् । बिहान हुन्छ, घाम लाग्छ साँझ पर्छ, फूलहरू फुल्छन्, ऋतुहरू आउँछन् र त्यसैगरी जान्छन् पनि । सबैका आफ्नै इच्छा हुन्छन् । 

विद्यार्थीले पनि उठ्ने, बस्ने , काम गर्ने, आराम गर्ने, गृहकार्य गर्ने आदि सबै कुरा नियमअनुसार गर्नुपर्छ। विद्यार्थी अनुशासन प्रेमी हुनुपर्छ। अनुशासनले विद्यार्थीलाई असल व्यक्ति बनाउँछ। अनुशासित विद्यार्थीले आफ्ना बुबा, आमा, गुरु र समाजकाे इज्जत राख्दछ  । ठूलाको आदर गर्नु , सानालाई माया गर्नु , असहायलाई सहयोग गर्नुजस्ता कुरा विद्यार्थी जीवनकै अनुशासनभित्र पर्न आउँछन् । अनुशासनको पालना गर्नाले हरेक विद्यार्थीको जीवन सफल हुन्छ त्यसैले अनुशासनको क्षेत्र धेरै फराकिलो छ। अनुशासित विद्यार्थी शिक्षकको आँखाको नानी मात्र होइन हरेकका लागि मायाको खानी बनेको हुन्छ । अनुशासनले विद्यार्थीलाई सफलताकाे सिँढी चढ्न सहयोग गर्छ । आजको विद्यार्थी अनुशासनको पालनाबाट नै  भोलि देशको कर्णधार हुन्छ । विद्यार्थीको जीवनमा अनुशासन नभए विद्यार्थी छाडा हुन्छन् । 

अनुशासित विद्यार्थीले देशको, समाजको, परिवारको हित र कल्याणबारे सोच्दछ । अनुशासन विद्यार्थी जीवनका निम्ति महत्वपूर्ण कुरा हो । असल बिहानीले असल दिनको सङ्केत दिन्छ त्यसैले अनुशासित विद्यार्थीले नै जीवनमा पनि अनुशासित हुन सिक्छन् । अनुशासित विद्यार्थी जीवनमा कहिल्यै असफल हुँदैन त्यसैले विद्यार्थी जीवनमा अनुशासनको धेरै महत्वपूर्ण स्थान छ।