Logo

Student Corner

अविस्मरणीय यात्रा

Written by: Sunabi Pokharel - 2024024, Grade VIII

Posted on: 10 December, 2020

म मेरो बाबा र आमाका साथमा २०७६ साल बैशाख ३ गते पोखरा, पाल्पा, लुम्बिनी र चितवनको यात्रामा निस्किएँ । हाम्राे साथमा अन्य १० जना परिवारका सदस्यहरू पनि हुनुहुन्थ्यो । बिहान ७ः०० बजे हामी आफ्नो निजी निवास भक्तपुरबाट पोखरातर्फ लाग्यौँ । मैलै आफूसँग एउटा कलम, कापी र केही अध्ययन गर्ने पुस्तकहरू बोकेकी थिएँ । कापीमा मैले नौला र आफू गएका स्थानहरूको नाम टिप्न थालेँ । हामीले ग्वार्कोमा पुगेपछि एउटा पसलमा विभिन्न खानेकुराहरू किन्यौँ र बिहानको ८ः३० बजे कलङ्कीबाट थानकोट हुँदै ओरालो लाग्याैँ । घुमाउरो बाटो, चिल्लो सडक र हरियाली वातावरणसँग रमाउँदै हामी करिब ११ः०० बजे मलेखु पुगी त्यहाँ माछालगायतका मिठा परिकार सहित खाजा खाई करिब ११ः४५ मा पुनः ‍‍आफ्नो निरन्तर यात्रातर्फ अघि बढिरह्यौ ।

 मैले बाटोमा हिँड्दा सुन्ने गीतहरू एउटा पेन ड्राइभमा सुरक्षित गरेकी थिएँ । यात्राको दौरानमा तिनै गीतहरू सुन्दै र विभिन्न समयमा गीतको अन्ताक्षरी खेल्दै हामी १ः०० बजे मुङ्लिङ पुगी आफूलाई मनपर्ने खानाहरू खायाैँ । त्यहाँबाट हामी बिस्तारै पोखरातर्फ लाग्याैँ । हामी खैरेनीटार, मर्स्याङ्दीकाे जलविद्युत परियाेजना र तनहुस्थित घाँसीकुवा हुँदै करिब ४ः३० बजे पोखरा पुग्यौँ । पोखरामा पुग्दा ठूलो पानी परिरहेकाले फेवाताल र लेक साइड गएर रातको रमाइलो हेर्ने हाम्रो चाहना पूरा भएन  तर भोलिपल्ट बिहान ६ः३० बजे हामी पोखराको फेवाताल पुग्याैँ । फेवातालमा जलविहार गरी बिचमा रहेको ताल बाराही मन्दिर जान हामीले ३ वटा डुङ्गा भाडामा लिई फेवातालभन्दा पारीको हरियाली जङ्गलछेऊ पुग्याैँ र  ताल बाराही मन्दिरको दर्शन गर्‍याैँ । त्यहाँबाट हामी करिब ९ः०० बजे पाताले छाँगो र हामी फेवाताल माथि रहेको शान्ति स्तुपातर्फ अघि बढ्याैँ । 

 

शान्ति स्तुपा पुग्न गाडीबाट ओर्लिएपछि झण्डै आधा घण्टाको उकालै उकालोको पैदल यात्रा गर्नुपर्दो रहेछ । पसिनै पसिना भई हामी रमणीय शान्ति स्तुपा पुग्यौँ । त्यहाँ पुगेपछि बिस्तारै बोल्नुपर्ने रहेछ । हाम्रो ठुलो समूह भएकोले कुनै बेला अलि धेरै बोल्दा त्यहाँका सुरक्षाकर्मीले हामीलाई बिस्तारै बोल्न सुझाएका थिए । त्यहाँबाट हामीले पोखरालाई राम्ररी अवलोकन गर्‍याैँ र  छोरेपाटन स्थित अन्तराष्ट्रिय हिमालयन सङ्ग्रहालयकाे अवलोकन गर्‍याैँ । हामी पूनः होटलमा आई आराम गर्‍याैँ । रातको समयमा हामीले लेकसाइडको रमाइलो समेत हेर्न भुलेनौँ । भोलिपल्ट बिहानै हामी डा.के.आई.सिङ पुल गई सेती नदिको गहिराई र अनौठोपनालाई अवलोकन गर्‍याैँ । त्यहाँ नजिकै रहेको महेन्द्र गुफा र चमेरे गुफाको समेत यात्रा सकेर हामी पोखरा विमानस्थलको बाटो हुँदै पाल्पातर्फ यात्राका लागि  अघि बढ्याैँ । पाल्पा, लुम्बिनी र चितवनमा थप ३ दिन व्यतित गरी यात्रा गरिएका रमणीय स्थान र अनुभवहरूको आदान प्रदान गर्दै २०७६ वैशाख ८ गते हामी आफ्नो घर आइपुग्याैँ । ती रमणीय दिनहरू अझै पनि मेरो मानस्पटलमा ताजै छन् ।